राजदूत पाण्डे र चेम्बरका पदाधिकारीबीच भेटवार्ता, भन्सार महशुल घटाउन पहल गरिने

काठमाडौं । चीनका लागि नवनियुक्त नेपालका महामहिम राजदूत महेन्द्र बहादुर पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीहरुबीच भेटवार्ता भएको छ ।

भेटमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले तातोपानी र रसुवा गढी नाकाका प्रक्रियात्मक जटिलता सरलीकरण तथा सहजीकरण गर्ने, आयात तथा निर्यातका लागि निर्वाध रुपले दुवै नाका संचालन गरिनुपर्ने बारे बताए ।

चीनले ८ हजार भन्दा बढि नेपाली उत्पादनहरुका मालवस्तुको आयातमा शुन्य भन्सार महशुल दरमा प्रवेश सुविधा प्रदान गरेको र यस सुविधा प्राप्त गर्न ४० प्रतिशत मूल्य अभिवृद्धि पूरा भएको हुनुपर्ने प्रावधान रहेको छ । सो प्रावधान पूरा गर्न कतिपय मालवस्तुहरुमा कठिन भएकोले सो घटाउन पनि पहल गरिनु पर्ने उनले बताए ।

अध्यक्ष श्रेष्ठले चीनको बजारमा कृषि तथा लाइभस्टकका वस्तुहरु निर्यातको प्रचुर सम्भावना भएकोले ति वस्तुहरु चिनियाँ बजारमा सहज तथा सरल तवरले प्रवेशको लागि पहल गरिदिन अनुरोध गरे । यसका लागि क्वारान्टाइनको प्रक्रियालाई सहजीकरण गर्न प्रयास गरिनु पर्ने बताए ।

नेपालको पर्यटन विस्तारमा चीनिया पर्यटकको ठूलो योगदान रहेको हुँदा कोभिड पश्चात चीनका पर्यटकहरुलाई नेपाल आगमनको लागि प्रवद्र्धन गरिनु पर्ने तथा हवाइ भाडा प्रतिस्पर्धी बनाउनु पर्ने बताए ।

यस्तै नेपाल चिन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनबाट धार्मिक तथा संस्कृतिक पर्यटक प्रवर्धन गर्न आग्रह गरे ।

नवनियुक्त राजदूत महेन्द्र बहादुर पाण्डेले चेम्बरबाट प्राप्त सुझावहरु गम्भिरता पूर्वक मनन गरी आफ्नो तर्फबाट सहजीकरण गर्न सक्दो प्रयास गर्ने बताए ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल तथा नेपाल चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधर लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *