कोरोना संक्रमितले भरिए काठमाडौंका कोभिड अस्पताल

काठमाडौं । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा मात्रै दैनिक सातदेखि १० जना भर्ना गर्नुपर्ने अवस्था छ । संक्रमित आउने, तर भर्ना गर्ने बेड नहुँदा समस्या आउने देखिएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्ने देखिएको छ । कसरी आइसोलेसनको व्यवस्थापन गर्ने भन्नेमा कसैको पनि ध्यानभएको देखिएन ।

करिब दुई महिना खाली भएका काठमाडौं उपत्यकाका कोभिड अस्पताल फेरि भरिएका छन् । उपत्यकामा दैनिक कोरोना संक्रमित बढ्न थालेको एक हप्तामै कोभिड संक्रमितको उपचार गर्न तोकिएका तीन अस्पताल भरिएका हुन् ।

कोभिड उपचारका लागि सरकारले उपत्यकामा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लेभल टु अस्पतालका रूपमा तोकेको छ । केही दिनयता उपत्यकामा कोभिड संक्रमित बढ्न थालेपछि तीन अस्पताल भरिएको जनाएको छ । टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार कोभिडका लागि तय भएका बेडहरू भरिएका छन् ।

सरकारले शंकास्पद व्यक्तिका लागि कीर्तिपुरको आयुर्वेद तालिम केन्द्र र भक्तपुरको खरिपाटी विद्युत् प्राधिकरणको तालिम केन्द्रमा एक हजार बेड क्षमताको आइसोलेसन कक्ष बनाउने तयारी गरेको थियो । तर, काम अघि नबढ्दा अब शंकास्पद व्यक्तिलाई राख्न कोभिड अस्पताललाई समस्या भएको छ । कोभिड चिकित्सक डा. अनुप बाँस्तोलाका अनुसार सरकारले शंकास्पद व्यक्तिको उचित व्यवस्थापनमा ध्यान नदिए गम्भीर समस्या आउनेछ ।

चिकित्सकहरूले उपत्यकामा हिँड्डुलमा लापरबाही भइरहेकाले जोखिमको चेतावनी दिँदै आएका छन् । झन् तीनवटै अस्पताल भरिएपछि चिकित्सक पनि तनावमा छन् । ‘टेकुमा मात्रै दैनिक सातदेखि १० जना भर्ना गर्नुपर्ने अवस्था छ । संक्रमित आउने, तर भर्ना गर्ने बेड नहुँदा समस्या आउने देखिएको छ,’ डा. बाँस्तोलाले भने । अझ विदेशबाट ल्याएका मानिसलाई होटेलमा राखिएको बताए पनि कुन होटेलमा कसरी बसिरहेका छन् भन्ने कसैले ध्यान नदिएकाले जोखिम बढेको उनको भनाइ छ ।

टेकु अस्पतालमा आइसोलेसनका लागि एक सय बेड तय गरिएको भए पनि दूरी कायम गर्दा ३५ बेड मात्रै तयार भएका छन् । निर्देशक डा.राजभण्डारीका अनुसार आइसियू २० बेड, भेन्टिलेटर नौ, तालिमप्राप्त स्वास्थ्यकर्मी १० जना, एम्बुलेन्स एक, एक्सरे दुई र अत्याधुनिक सिटिस्क्यान एउटा छ । अहिले ३५ जना संक्रमितको उपचार भइरहेको छ भने सातजना आइसियूमा भर्ना भएका छन् ।

त्यस्तै, पाटन अस्पताललाई सरकारले सुरुवाती दिनबाट कोभिड अस्पताल अर्थात् लेभल टु अस्पतालका रूपमा सूचीकृत गरेको थियो । ६ सय बेड रहेको पाटनमा संक्रमितका लागि ४५ बेड आइसोलेसन, शंकास्पदका लागि १५ बेड आइसोलेसन र आइसियू २१ बेड गरी ८१ बेड छुट्याएको छ । त्यस्तै, भेन्टिलेटर १५ छन् । अस्पतालका डा. आशिष श्रेष्ठले ८१ मध्ये संक्रमितका लागि राखिएको ४५ बेडको आइसोलेसनमा ४९ जना भर्ना छन् ।

त्यस्तै, शंकास्पद व्यक्ति राख्न बनाइएको १५ बेडको आइसोलेसनमा दोब्बर संक्रमित राखिएको छ । एउटा रुममा दुईजना संक्रमित राखिएको डा. श्रेष्ठले बताए । सोमबार मात्रै ४९ जना संक्रमित भर्ना भएका छन् । संक्रमितमध्ये चारजनालाई आइसियूमा भर्ना गरिएको छ । बेड अभाव हुँदा केहीलाई इमर्जेन्सीमा राखिएको छ । क्षमताभन्दा बढी संक्रमित आएपछि अस्पतालले एक सय वार्ड कोभिडका लागि खोल्ने तयारी गरेको जनाएको छ ।

सोमबार मात्रै पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ । ‘अब उनीहरूलाई कहाँ र कसरी राख्ने भन्नेमा हामी अन्योलमा छौँ,’ डा. श्रेष्ठले भने । पाटनमा ४० स्वास्थ्यकर्मी तालिमप्राप्त छन् भने कोभिडका लागि एक एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । अस्पतालमा चारवटा एक्सरे मेसिन, दुई सिटिस्क्यान र एक एमआरआई मेसिन रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सशस्त्र प्रहरी अस्पतालले एक सय २० बेड कोभिड बिरामीका लागि छुट्याएको छ । सोमबार साँझसम्म ६३ जना संक्रमित उपचाररत छन् । त्यस्तै, २० जना शंकास्पद व्यक्ति आइसोलेसनमा छन् । अस्पतालका अनुसार कोभिडका लागि २० बेड आइसियू र १० वटा भेन्टिलेटर तयारी अवस्थामा छन् । आठ स्वास्थ्यकर्मी तालिमप्राप्त रहेका छन् । सशस्त्र प्रहरी अस्पतालले तीन एम्बुलेन्स तयारी राखेको छ । त्यस्तै, दुइटा एक्सरे मेसिन र एउटा एमआरआई मेसिन सञ्चालनमा छ । यसैगरी, काठमाडौं मेडिकल कलेजको भक्तपुरस्थित दुवाकोट अस्पताल १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

लकडाउन खुकुलो भएसँगै टेकु अस्पतालमा मात्रै दैनिक एक हजार मानिस कोरोना परीक्षणका लागि आउने गरेका छन् । ‘उनीहरूको कसरी व्यवस्थापन गर्ने भन्नेमा राज्यले नै सोचेको छैन,’ डा. बाँस्तोला भन्छन् । होटेल र घरमा क्वारेन्टाइनमा बसेका व्यक्तिको कसैले थाहा नपाउने गरी तरकारी किन्नेदेखि विभिन्न नाममा खुला रूपमा बाहिर निस्किने गरेको र कतिपय जबर्जस्ती घर जाँदा त्यहाँ पोजेटिभ देखिएको उनले बताए ।

‘उपत्यकामा केस बढ्ने देखिएको छ । कसरी आइसोलेसनको व्यवस्थापन गर्ने भन्नेमा कसैको पनि ध्यान भएको देखिएन,’ डा.बाँस्तोलाले भने, ‘व्यवस्थित आइसोलेसनदेखि अटोमेटिक कार्डको व्यवस्था नभए लक्षणविहीन संक्रमितले अन्य कैयौँलाई सार्नेछन् ।’ –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *