लम्बिदै नेकपा विवादः न मन्त्रीले ‘कित्ता’ स्पष्ट गरे नत ओली-प्रचण्डबीच कुरा मिल्यो

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले गएको शनिबार साँझ बालुवाटारमा अनौपचारिक छलफलका निम्ति सबै मन्त्रीहरु बोलाइए । अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा नदिने अडान दोहोर्‍याउदै ओलीले मन्त्रीहरूमाझ भने ‘भोलि जस्तोसुकै कदम चाल्नुपर्ने अवस्था आउन सक्छ, तपाईहरु आफ्नो कित्ता प्रष्ट पार्नुहोला ।’

उनले एकता गम्भीर मोडमा पुगेको कुरा राखेको र आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको बताए र सोधे , ‘तपाईंमध्ये को-को मेरो नेतृत्वमा विश्वास गर्नुहुन्छ ? को-को गर्नुहुन्न ? अहिल्यै जवाफ दिइरहनु पर्दैन । मैले सोधेको बेला भने हुन्छ । तर, मेरो नेतृत्वमा विश्वास नगर्नेले जहाँ मन लाग्छ, जानुहोला ।’

प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरुसँग यसो भनेको चार दिन पुग्नै लाग्दा पनि न मन्त्रीले ‘कित्ता’ स्पष्ट गरे नत ओली-प्रचण्डबीच कुरा मिल्यो । उनले भनेबमोजिम कुनै पनि मन्त्रीले ‘कित्ता’ स्पष्ट गरेनन् बरु, भित्रभित्रै अनेकन साउती चलिरहेको छ । त्यसपछि प्रायः दैनिक जसो भइरहेको प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल बिना निष्कर्ष टुंगिदै आएको छ ।

दुई दिनयता एक्लाएक्लै छलफलमा बसिरहेका ओली र दाहाल मंगलबारसम्म कुनै निष्कर्षमा पुग्न सकेका छैनन् । सहयोगी नेताहरू समेत राखेर छलफल थालेका उनीहरूले सोमबार आफूहरूले नै विवाद मिलाउने ढंगले छलफल अघि बढाएका थिए । तर मंगलबारको छलफलमा पनि उनीहरू एकअर्काका मुख्य मागप्रति लचक नभएको नेताहरूले बताएका छन् ।

बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अझै पनि दाहालसँग राजीनामाबाहेकका एजेन्डामा मात्र छलफल गर्न भनिरहेका छन् । तर अध्यक्ष दाहालले ओलीले राजीनामा दिनुपर्ने अडान छाडेका छैनन् ।

यद्यपी राजीनामाकै विषय पनि त्यहाँ उठेकाले कमिटीमै बसेर सहमति खोज्न सकिने प्रस्ताव दाहालले ओलीलाई राखेका छन् । त्यसैले ओली आजका लागि तय भएको स्थायी कमिटी बैठक सुचारु गर्न भने तयार भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *