टिकटक हङ्‌कङबाट हट्ने, प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

काठमाडौं । चर्चित भिडियो एप टिकटक हङ्‌कङबाट हट्ने भएको छ । नयाँ सुरक्षा कानुनका कारण आफू हङ्‌कङबाट हट्ने टिकटकले बताएको हो ।

‘हालैका घटनाहरूलाई विचार गर्दै हामीले हङ्‌कङमा टिकटक एप सञ्चालन नगर्ने निर्णय गरेका छौँ,’ एक प्रवक्ताले भने । रोएटर्सका अनुसार टिकटक त्यहाँबाट केही दिनमै हट्नेछ । फेसबुक र ट्विटरले यसै साता हङ्‌कङ प्रहरीसँग प्रयोगकर्ताको जानकारी सम्बन्धी सहकार्य हाललाई रोक्ने बताएका छन् ।

चीनबाहिर मात्र टिकटक
चिनियाँ कम्पनी बाईटडान्सले टिकटकलाई चीनबाहिरका प्रयोगकर्ताका लागि निर्माण गरेको हो । सो कम्पनीले चीनभित्र भने त्यस्तै खाले डोयिन नामक एप सञ्चालन गर्छ ।

वाल्ट डिज्ने कम्पनीका पूर्वप्रशासक केभिन मायरले नेतृत्व लिएको टिकटकले प्रयोगकर्ताको जानकारी चीनमा भण्डार नगरिने बताएको छ । कम्पनीले यसअघि नै चीन सरकारले कुनै सामग्री हटाउन वा कुनै प्रयोगकर्ताको जानकारी मागेमा नदिने बताएको थियो । उसले अहिलेसम्म चीन सरकारले त्यस्तो अनुरोध नगरेको बताएको छ ।

तर हङ्‌कङको नयाँ सुरक्षा कानुनले चिनियाँ अधिकारीहरूलाई पहिले नभएको अधिकारहरू दिएको छ जसले गर्दा तथ्याङ्क गोपनीयतामाथि गम्भीर प्रश्न उठेको छ । नयाँ कानुनले चीनले विद्रोह, देशद्रोह, आतङ्कवाद र विदेशी शक्तिसँगको सहकार्यलाई आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था गरेको छ ।

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध
मंगलबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले फक्स न्यूजलाई अन्तर्वार्ता दिँदै अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्न सक्ने बताएका छन् । उनले अमेरिका टिकटकसहित चिनियाँ सामाजिक सञ्जालका विभिन्न एपलाई प्रतिबन्धित गर्ने विषयमा अमेरिकाले विचार गरिरहेको बताए ।

पोम्पेओको भनाइपछि टिकटकका एक प्रवक्ताले भने, ‘टिकटकको नेतृत्वमा एक अमेरिकी छन् र अमेरिकामा यसको सुरक्षा, उत्पादन र नीतिमा काम गर्ने सयौँ कर्मचारी छन् ।’ प्रयोगकर्ताका लागि एउटा सुरक्षित अनुभव दिनुभन्दा माथि हाम्रो कुनै प्राथमिकता छैन । हामीले कहिल्यै पनि चिनियाँ सरकारलाई तथ्याङ्क दिएको छैन र मागेको अवस्थामा पनि दिने छैनौँ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *