डब्लूएचओबाट अमेरिकालाई किन अलग गराउन चाहन्छन् ट्रम्प ? थाले औपचारिक प्रक्रिया

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट अमेरिकालाई अलग गराउने औपचारिक प्रक्रिया सुरु गरेका छन् । हुन त उनले यसको घोषणा मे को अन्तिममा नै गरेका थिए जब उनले कोरोना महामारीको समयमा संगठनले चीनको पक्षमा बोलेको आरोप लगाएका थिए ।

यूरोपियन संगठन र अन्य मानिसहरुले उनीसँग उक्त फैसलामाथि विचार गर्न भनेका थिए । तर ट्रम्पले यसलाई ठाडै अस्वीकार गर्दै डब्लूएचओलाई दिने सहयाेग अन्तै लगानी गर्ने बताए ।

ट्रम्पले संयुक्त राष्ट्र र अमेरिकी संसदको यसबारेमा औपचारिक रुपमा सूचित गराइसकेका छन् । यद्यपी विश्व स्वास्थ्य संगठनबाट अलग हुने प्रक्रिया पुरा गर्न अमेरिकालाई एक वर्ष लाग्नेछ ।

संयुक्त राष्ट्र महासचिवका प्रवक्ता स्टीफन डुजारिकले यस कुराको पुष्टि गर्दै अमेरिकाले संगठनबाट हट्ने सूचना दिएको बताए । जुन ६ जुलाई २०२१ बाट उक्त प्रक्रिया प्रभावी हुने उनकाे भनाइ छ ।

अमेरिकी संसद र विदेश सम्बन्ध समितिका वरिष्ठ सदस्य डेमोक्रेट सेनेटर रोबर्ट मेनेन्डीजले पनि यसबारे पुष्टि गर्दै ट्वीट गरेका छन्– ‘अमेरिकी राष्ट्रपति कार्यालयले महामारीको बिचमा आधिकारिक रुपमा डब्लूएचओबाट अमेरिकालाई अलग गराएको छ । यसपश्चात अमेरिकी नागरिक बिरामी रहनेछन् र अमेरिका एक्लो हुनेछ ।’

अमेरिका डब्लुएचओमा सबैभन्दा ठूलो आर्थिक सहयोग गर्ने देश हो । सन् २०१९ मा अमेरिकाले डब्लुएचओलार्य ४०० मिलियन डलर भन्दा बढी प्रदान गरेको थियो, जुन डब्लुएचओको कुल बजेटको झण्डै १५ प्रतिशत हो ।

नियम अनुसार अमेरिका डब्लुएचओबाट बाहिरिन पाउँछ तर त्यसका लागि कम्तिमा एक वर्षअघि नै सूचित गर्नु पर्छ । अमेरिका बाहिरिँदा स्वास्थ्य क्षेत्रमा डब्लुएचओको काम प्रभावित हुने भन्दै चिन्ता व्यक्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *