जयकिसन बस्नेतको तर्क ‘राजेश हमालको टाउको राखेर फिल्म विक्थ्यो’

काठमाडौं । दीपाश्री निरौलाले राजेश हमालले प्राप्त गरेको ‘महानायक’ पदावलीप्रति प्रश्न उठाएको प्रति निर्माता तथा कलाकार जयकिसन बस्नेतले दीपाश्रीलाई कडा जवाफ दिएका छन् ।

२५ वर्षसम्म नेपाली चलचित्र क्षेत्रलाई हाँक्न सक्ने हमाललाई दीपाश्रीले होच्याएको प्रति आक्रोश व्यक्त गर्दै जयकिसनले राजेश हमालको टाउको राखेर चलचित्र चल्ने गरेको बताएका छन् । ‘मेरो मुटुमा, मेरो छातीभित्र राजेश दाई हुनुहुन्छ । हामी निर्माताहरुले उहाँको फोटो राखेको भरमा कमाउँथ्यौं, हलवालाहरुले कमाउँथे, वितरकहरुले कमाउँथे । हलमा ब्ल्याकमा टिकट बेच्नेहरुले समेत कमाउँथे ।’ जयकिसनले भनेका छन् ।

राजेश हमाल

उनले राजेश हमालले म ‘महानायक’ हुँ, भनेर घमण्ड गरेर फिल्म नखेलेको भए नेपाली फिल्म उद्योग अहिलेको अवस्थामा आउन नसक्ने समेत दावि गरेका छन् । ‘उहाँले ‘महानायक’ हुँ, खेल्दिन यस्तो फिल्म भनेको भए नेपाली फिल्म अहिलेको अवस्थामा आउन पाउँथ्यो ?’

जयकिसनले अहिलेका कलाकारहरुले दुई चारवटा फिल्म खेल्दैमा राजेश हमालको नेपाली चलचित्र क्षेत्रमा दिएको योगदानलाई विर्सन नहुने समेत बताएका छन् । चलचित्र क्षेत्रमा दुई चारवटा फिल्म फ्लप हुँदा ‘म सन्यास लिन्छु’ भन्दै गसिप बनाउने कलाकारहरु अझै रहेको जिकिर गर्दै राजेश हमालले जस्तो एक्लै संघर्ष गर्न कसैले नसकेको बताएका छन् ।

जयकिसन बस्नेत

नेपाली फिल्ममा हिरो भनेको यस्तो हुन्छ भन्ने क्रेज ल्याउने नै राजेश हमाल भएको जयकिसनको दावी छ । उनले नेपाली चलचित्रमा राजेश हमालले नयाँ कलाकारलाई समेत प्रोत्साहन गर्ने गरेको जिकिर गरेका छन् । ‘राजेश दाई एकदमै कमेडी गर्न रुचाउनु हुन्छ, उहाँको जस्तो सेन्स अफ ह्युमर कुनै कलाकारको छैन । जसले राजेश दाईसँग संगत गर्छ उसैले मात्र थाहा पाउँछ ।’ जयकिसनको भनाई छ ।

उनले कतिपय चलचित्रको कथा समेत राजेश हमाललाई नै हेरेर लेखिने गरेको समेत तर्क गरेका छन् । राजेश हमालको सबैभन्दा राम्रो पक्ष भनेकै उनको पिक टाइममा पनि आफ्नो रेट नबढाएर सबै निर्माता निर्देशकले लिन सक्ने हुनु रहेको जयकिसनको तर्क छ ।

हमालले कहिल्लै निर्मातालाई घाटा हुने तवरले काम नगरेको उनको भनाई छ । ‘निर्माता बच्यो भने नेपाली फिल्म उद्योग बच्छ भन्ने उहाँको मान्यता थियो । त्यहि भएर नेपाली चलचित्रहरु धमाधम बन्न थालेका हुन् ।’ उनले नेपाली चलचित्रलाई भारतीय चलचित्रसँग तुलना गर्न नहुने समेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *