सार्वजनिक यातायात सञ्चालन गर्ने/नगर्ने शुक्रवार निर्णय हुन्छ : यातायात व्यवसायी

काठमाडौं । सार्वजनिक यातायात सञ्चालनबारे शुक्रबार बैठकपछि मात्रै आधिकारिक जानकारी दिइने यातायात व्यवसायी महासंघले बताएकाे छ । बिहीबार सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि महासंघले यसबारे थप जानकारी छलफलपछि मात्रै दिइने बताएको हो ।

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार माध्यमबाट मात्रै थाहा पाएको यातायात व्यवसायीको भनाइ छ ।

सरकारले गरेको निर्णयमा अझै स्पष्टता नभएका कारण शुक्रबार आयोजना गरिएको महासंघको आकस्मिक बैठकपछि मात्रै आधिकारिक धारणा दिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए ।

बिहीबार सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताएका थिए। निर्णयमा अहिलेका लागि अन्तरजिल्ला सवारी साधन चलाउन नपाइने, तर काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा भने सवारी एक अर्का जिल्लामा चलाउन पाइनेछ।

सार्वजनिक यातायात सञ्चालकले सिट क्षमताभन्दा आधा मात्रै यात्रु बोक्न पाइने भएकाले ५० प्रतिशत थप भाडा लिन पाउने छन् । सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनु पर्ने भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *