भारतीय न्युज च्यानलहरूको प्रसारण नेपालमा बन्द

काठमाडौँ । भारतीय न्युज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेको बताएका छन् ।

डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरूले सामूहिक रूपमा भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको छ । नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेका भारतीय टिभी च्यानलहरूले पछिल्लो समय नेपालकै प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनियाँ राजदूत यान्छीको नाम जोडेर आपत्तिजनक विषयहरू प्रसारण गरेका कारण उक्त भारतीय च्यानलहरू नेपालमा नदेखिने बनाइएको हो ।

नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि त्यस्ता आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द गरिएको शर्माले बताए। इन्टरनेटबाट आउने सामग्री रोक्न भने सरकारले नीति नल्याएसम्म चाहेर मात्र भारतीय च्यानलको प्रसारण रोक्न नसकिने उनको भनाइ छ ।

शर्माले अब सरकारले नेपालमा दर्ता नभएका र इन्टरनेटको माध्यमबाट आउने भिडियो कन्टेन्टहरुनै बन्द गर्नका लागि सञ्चार मन्त्रालयसँग छलफल हुने बताएका छन् ।

एमएसओहरुले सरकारले क्लिन फिड लागु गर्नुअघिनै इन्टरनेटबाट अनधिकृत रूपमा आउने भिडियो कन्टेन्टहरू रोक्न आग्रह गरिरहेका छन् । सरकारले केबल अपरेटरहरूलाई आग्रह गरेमा जुनसुकै बेला पनि विदेशी च्यानलको प्रसारण रोक्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *