‘नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले सत्तारुढ नेकपाभित्रको विवादमा चिनियाँ राजदूतको अशोभनीय संलग्नता रहेको टिप्पणी गरेका छन् ।

आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् । साथै उनले भारतीय सञ्चार माध्यम नेपालमा नहेर्ने मात्रै हाेइन अबदेखि तिनका कार्यक्रममा पनि भाग नलिन उनले आग्रह गरेका छन् ।

‘नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ, प्रश्न गरौँ । तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा प्रधानमन्त्रीज्यूलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ । त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ’, सांसद थापाले लेखेका छन् ।

नेकपाभित्र अहिले भागबण्डाकाे किचलाे चलिरहेकाे छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विवाद साम्य पार्न छलफलमा जुटेका छन् । यद्यपी कुनै निष्कर्ष निस्कन सकेको छैन । प्रधानमन्त्रीकाे राजीनामाकाे विषय उठेपछि स्थगित भएकाे स्थायी समित बैठक अझै बस्न सकेकाे छैन ।

यही बिचमा नेपालका लागि चिनयाँ राजदूत हाेउ यान्छीले नेकपाका नेतासँगकाे भेटलाई तीव्रता दिइरहेकी छिन् । यान्छीले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटे लगतै झलनाथ खनालसँग पनि उनकाे भेटवार्ता भएकाे थियाे । पार्टीभित्रको आन्तरिक कलह र सरकार परीवर्तनसम्मको चलखेल बिच चिनियाँ राजदुतको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्ला समय भारतीय सञ्चार माध्यमले प्रम ओली र यान्छीलाई जाेडेर अनर्गल प्रचार गरेपछि नेपालमा विवाद उठिरहेका बेला भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय गरिएकाे छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *