‘कलाकारले राष्ट्रियताको विषयमा जान्नैपर्छ’
काठमाडौँ । नेपाली कला जगतका लोकप्रिय हस्ती हुन् हाँस्य कलाकार किरण केसी । ‘जिरे खुर्सानी’ टेलिश्रृंखलामा मुख्य पात्रको भूमिकामा देखिएका उनको ‘ए राता मकै’ संवाद दर्शक माझ चर्चित छ । कलाकारितामा चालिसौं वर्ष बिताएका किरण केसीसँग मकालु खबरले गरेको कुराकानीको सम्पादित अंशः
लकडाउन कसरी बिताइरहनु भएकाे छ ?
लकडाउन सरकारले दिएको नियमलाई पालना गरि घरमै परिवारसँग बित्यो । खेतिपाति गरेँ । काँक्रो, फर्सी, मकै, फूलहरु रोपेँ । घर सरसफाई गरेँ । कोठाहरुमा रङ लगाउने काम पनि भयो । महालक्ष्मी नगरपालिकामा एक्काईस ग्रुप छ । त्यसमा म पनि छु । हामीले लकडाउनबाट पिडित परीवारलाई दश हजार पिस मास्क, सय बोरा चामल वितरण गर्यौं ।
म आफैंले ईमाडोल, सानेपा, सानोठिमी भक्तपुर, सुर्यविनायक लगायत ठाउँहरुमा बाह्र हजार मान्छेहरुलाई खाना खुवाएँ । मान्छेहरुलाई मात्र खुवाएर हुँदैन भनेर साथीहरुसँग मिलेर ७/८ सय बाँदर, ६०/ ७० वटा गाई, १५० कुकुरहरुलाई मासु, दुध र बिस्कुट खुवायौं । १२ सयजति परेवाका बथानहरुलाई मकै, गहुँ, चामलहरू खुवायौं । घरमा कमिला, कौवाहरुलाई पनि खुवाएँ ।
बिगतमा मैले खेलेका हिट चलचित्रहरुका संवादहरु जुन दर्शकहरुले अत्याधिक मन पराईदिनु भएको थियो । ति संवादहरु काटेर ५ मिनेटको बनाएँ र दर्शकहरुलाई मनोरञ्जन गराएँ । स्वर्गीय नारायण गोपाल दाईका कालजयी गीतहरुलाई र नरेन्द्र प्यासी भाईका नयाँ गीतहरुलाई भिडियो बनाएँ । यस्तै यस्तै गरेर लकडाउनको सदुपयोग गरिरहेकाे छु ।
किरण केसीलाई आजको स्थानसम्म ल्याई पुर्याउन कसको भुमिका छ ?
आज यो स्थानसम्म आउन मेरो आफ्नै हात छ । त्यसमाथि मलाई साथ, सल्लाह र हौसला दिने मेरो परिवार, श्रीमती सिता केसी हुन् । मेरो अति आदरणीय मह सञ्चार र पछिल्लो समयमा आएर मेरो जोडी शिवहरि पौडेलको हात छ ।
स्टेज कार्यक्रमबाट दर्शकले दिने प्रत्यक्ष माया र पर्दा अगाडि आएर पाउने मायामा के फरक रहेछ ?
माया एउटै हो । माया गर्दा मायाको रङ फरक हुँदैन । म स्टेजबाट आएको कलाकार हुँ, राम्रो गरेको छ भने स्टेजबाट तत्काल माया पाइन्छ । ताली, सिट्टि, हुटिङ्ग आउँछ । र नराम्रो भएमा तुरुन्तै गाली खानुपर्छ ।
पर्दामा आएर पाउने माया भनेको आज सुटिङ गर्याे हलहरुमा कहिले आउने टुंगो नहुने । दर्शकले हेरीसकेपछी मात्र फोन गर्ने, बाटोमा भेटेको बेला राम्रो रहेछ भन्ने गर्नुहुन्थ्यो । पहिला मोबाइल थिएन । अहिलेको जस्तो सुविधा पनि थिएन ।
संर्घषका दिनहरुलाई कसरी सम्झनु हुन्छ ?
फिल्म खेलेको पैसा दिँदैनथे, मासु चिउरा खुवाएर पठाउँथे । २०२८ सालमा जाउलाखेलमा दशैं तिहारको कार्यक्रममा नाच्दा ५ रुपैयाँ पाएको थिँए । त्यो अहिले पनि राखेको छु । ४० वर्ष अगाडी एफएम, टेलिभिजन, रेडियो, मोटरसाईकल, मोबाईल केही थिएन । स्टेज कार्यक्रमहरु हुँदैनथे । ठुला पर्दाका फिल्म वर्षको ४/५ वटा मात्र बन्थे ।
पैसा नभएर धेरै दुखः पाएँ । खाजा खाने पैसा नहुँदा नुन र चिउरा पनि खाएको छु । रिर्हसल गर्न इमाडोलबाट लाजिम्पाट आउँदा–जाँदा ३६ किलोमिटर दैनिक हिँड्थेँ । मलाई घरबाट मेरी श्रीमतीको र आमाको मात्र सहयोग थियो । बुवाले यो क्षेत्रमा लाग्यो, एउटा ‘फूल’ फुट्यो भनेर घृणा गर्नुहुन्थ्यो । ति दिनहरु सम्झेर खुशी लाग्छ ।
पहिलो पटक टेलिचलचित्र ‘१५ गते’ मा कल्लुको पात्रबाट क्यामरा फेस गर्दा कस्तो अनुभव भयो ?
‘१५ गते’ मह सञ्चारले बनाएको कालजयी टेलीचलचित्र हो । मेरो जोडी राजाराम पौडेल र मैले धेरै स्यावासी पाएका थियाैँ । पहिलो पटक क्यामरा फेस गर्दा अलिअलि अप्ठेराे भएको थियो । तर, डर लागेको थिएन किनकी मैले त्यो भन्दा अगाडी हरिबंश आचार्यसँग धेरै पटक स्टेजमा कार्यक्रमहरु गरिसकेको थिँए । मदन दाईसँग मात्र गरेको थिइनँ ।
मह सञ्चार नभइदिएको भए किरण केसी कलाकार हुन्थ्यो कि हुँदैनथ्याे ?
म २०२८ सालदेखि कलाकारिता क्षेत्रमा थिएँ । मह सञ्चार भन्दा पहिले नै कलाकार भएको हुँ । २०३२ सालमा म, हरिबंश आचार्य, सुशिला रायमाझी, उदितनारायण झाले राष्ट्रिय नाच घरमा ४ वर्ष जागिर खायाैँ । त्यसपछी म व्यापार गर्न लागेँ । यदि महसँग भेट नभएको भए यो लोकप्रियता हुँदैनथ्यो होला । तर, हिटसम्म भैहाल्थेँ कि !
अर्काको छोराछोरीलाई त मौका दिइन्छ भने, आफ्नै छोराछोरीलाई अवसर दिनु नराम्रो हैन ।
दर्शकहरुलाई हसाउँन सजिलो की रुवाउन ?
कुनै पनि काम गर्न गाह्राे छैन । जे गर्न पनि मेहनत गर्नुपर्छ । तर, हसाउँन जो कसैले सक्दैन । हसाउँन ‘गड गिफ्ट’ नै हुनुपर्छ ।
पहिलेको कलाकारिता र अहिलेकोमा के फरक छ ?
पहिला युट्युव, फेसबुक, ट्विटरको जमाना थिएन । समय र प्रविधिले परिमार्जीत गरेर ल्याएको छ । ट्यालेन्ट, खुबि, दक्षता, इमान्दारिता छ, कसैले आत्मादेखि कुनै काम गर्छ भने त्यो हिट हुन समय लाग्दैन । फरक त्यत्ति देखेको छु । हामीहरुलाई हिट हुन् चालिसौं वर्ष लाग्यो ।
कलाकारिता गरेर जीवन चलाउन कत्तिको सहज छ ?
पछिल्लो समयमा कलाकारिता गरेर खानलाई मात्र होइन घर, गाडी जोड्नलाई पनि पुगेको छ । अहिले कलाकारिता गरेर जीवन चलाउन सजिलो छ ।
नेपालमा पनि नातावाद र ग्रुपिजम छ भन्ने सुनिन्छ, तपाईंको नजरमा छ कि छैन ?
मैले मेरो छोरालाई पनि निर्देशक बनाएको छु । ट्यालेन्ट छ, त्यसमाथि मह सञ्चारले विश्वास गर्याे । भन्नुको मतलब ट्यालेन्ट भएपछि ल्याउने हो । अर्काको छोराछोरीलाई त मौका दिइन्छ भने, आफ्नै छोराछोरीलाई अवसर दिनु नराम्रो हैन । झरना थापाको छोरी, भुवन केसीको छोरा ट्यालेन्ट छन् र त आए । ट्यालेन्ट नभए फिल्म फ्लप हुनुपर्ने । ग्रुपिजमको कुरा गर्नुपर्दा मह जोडी, दिपक–दिपा ब्राण्ड जोडी हो । त्यसलाई ग्रुपिजम भन्न मिल्दैन ।
अहिले राजेश हमालको ‘महानायक’ प्रति पटक–पटक प्रश्न उठिरहेको छ, राजेशलाई ‘महानायक’ मान्ने की नमान्ने ?
म फिल्म क्षेत्रमा आउने बेला बुवाले ‘नौटंकी लाईनमा छोरो लाग्यो अब बिग्रीयो’ भन्नुभएको थियो । नेपाली फिल्म क्षेत्रमा राम्रोे शिक्षित मान्छे नआउने अवस्थामा भुवन केसी, शिव श्रेष्ठहरुले चलचित्र क्षेत्रलाई अगाडी बढाउँदै गएका थिए । स्टेजबाट सरोज खनाल आए । फेरि लामो कपाल पालेको/सिक्स प्याक भएको अमेरिकामा पढेर आएको राजदुतको छोरो सबै कुरामा पोख्त भएको राजेश हमाल आएर नेपाली फिल्म क्षेत्रलाई हाँके ।
राजेशले नेपाली फिल्म क्षेत्रलाई एउटा टर्निङ पोईन्टमा ल्याएको हो । हमालको टाउकोको फोटो मात्र राखेर पनि फिल्म बिक्थे । कसैको टाउको र अनुहार बिक्थ्यो भने त्यो राजेश हमाल नै हो । राजेशको बिषयमा विवाद गर्नु भनेको लज्जास्पद कुरा हो । राजेश हमाललाई दिइएको ‘महानायक’ को उपाधिमा आज दशौं वर्षसम्म कसैले बिरोध गरेको छैन । राजेश हमाल नेपालको ‘महानायक’ नै हो । उनले कहिल्यै कसैको चित्त दुखाउने काम गरेनन् । उनी देशको गौरव हुन् ।
आजकल कलाकारहरु यसरी किन विवादमा आइरहेका होलान् ?
म दिपाको बारेमा थोरै बोल्छु, उनको पक्षमा बोलेको होइन । उनले राजेश हमाल ‘महानायक’ होइनन् भन्न खोजेको होइन । उनले त अहिले विश्व नै संकटमा परेको बेला धुर्मुश सुन्तली, पल शाह, स्वयम दीपक–दीपा, धेरै कलाकारहरुले फिल्डमा सकेको सहयोग गर्यौं । ‘महानायक राजेश हमाल’ ले पनि केहि गर्दिए हुन्थ्यो भन्न खोजेको मात्र हो । अर्थको अनर्थ लाग्यो । कति पटक उनले राजेश हमाललाई सम्मान गरेको देखे/सुनेको छु ।
पुजा शर्माको कुरा गर्दा आफुले नजानेको कुरा भन्न पाईन्छ तर, नेपालको पहिलो फिल्म/पहिलो रङगीन फिल्म कुन हो भनेर सोध्दा भन्न सकेन भने त्यो त कलाकारकै लागि लज्जास्पद कुरा हो नि ! पुजा शर्मा बहिनीले भन्न सकीनन् । यो कुराले म पनि सचेत भएको छु ।
वर्षाले राज्य विभाजन गर्न खोजेकोे, भारतको पक्षमा बोलेर भारतको प्रिय बन्न खोजेको होइन । भन्न खोजेको एउटा हो भन्न नजान्दा जिब्रो चिप्लियो । त्यसलाई अबोध बालक सम्झेर क्षमा दिनुपर्छ । कलाकारहरुले पनि सोच, बिचार गरेर मात्र बोल्नुपर्छ । किनकी हामीसँग सबैले राम्रो कुराको मात्र आशा गरेका हुन्छन् ।
कलाकारहरुले राष्ट्रियताको विषयमा जान्नु पर्छ की पर्दैन ?
कलाकारहरुले मात्र होइन सम्पुर्ण नेपाली जनताले पनि राष्ट्रियताको विषयमा जान्नुपर्छ । अझ बढि कलाकारहरुले जान्नुपर्छ । देशमा कति अञ्चल, प्रदेश, जिल्ला छन् ? भौगोलीक विविधता के छ ? देशमा के भइरहेको छ ? के हुँदैछ भन्ने जानकारी राख्नुपर्छ ।