उपत्यकाका यी ७१ ठाउँमा भेटिए कोरोना संक्रमित, तपाई बस्ने क्षेत्र कति सुरक्षित ?

काठमाडौं । काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । केही समययता जिल्लाबाट आउने तथा विदेशबाट आउनेको संख्यासँगै संक्रमितको संख्या पनि बढेपछि उपत्यका उच्च जोखिममा परेको हो ।

मुलुकका अन्य स्थानमा तुलनात्मक रुपमा नयाँ कोरोना संक्रमितको संख्या घटेपनि काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या अकासिँदै गएको छ । सुरुका पाँच महिनासम्म यहाँ फाट्टफुट्ट मात्रै संक्रमण पुष्टि भए पनि पछिल्लो एक सातामै  संक्रमितको संख्या ९२ बाट तीन गुणा बढेर ३ सय ३८ पुगेको छ ।

शुक्रबारमात्रै उपत्यकाका तीन जिल्ला काठमाडौंमा २८ जना, ललितपुरमा १३ र भक्तपुरका १ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंमा अहिलेसम्म २ सय २४ जनामा संक्रमण देखिएको छ भने ललितपुरमा ७० र भक्तपुरमा ४४ जनामा कोरोना पुष्टि भएको छ ।

उपत्यकाका ७१ ठाउँमा संक्रमण
उपत्यकाका ७१ ठाउँका स्थानीयलाई कोरोना पोजिटिभ देखिएको छ । टेकुस्थित इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार काठमाडौंमा ४०, ललितपुरमा २३ र भक्तपुरमा ८ ठाउँमा कोरोना संक्रमण देखिएको हो । विदेशबाट फर्केर होटलको क्वारेन्टाइनमा बसेकाको तथ्यांक यसमा समावेश गरिएको छैन ।

पछिल्लो तीन दिनमा काठमाडौंको कपुराधारा, कपन, चन्द्रागिरि, मैतीदेवी, मरुहिटी, कीर्तिपुर, पुरानो बानेश्वर, शंखमूल, चाबहिल, बालुवाटार, धुम्बाराही, महाराजगन्ज, तारकेश्वर, सीतापाइला, मनमैजु, नैकाप, गल्फुटार, कलंकी, धापासी, गोकर्ण, बसुन्धारा, बाफल, रानीवन, हाँडीगाउँ, कोटेश्वर, ट्याङ्लाफाँट, तीनकुने, खुसिबु, कागेश्वरी, टोखा, मूलपानी, काँडाघारी, साँखु, बौद्ध, बागबजार, वनस्थली, ताहाचल, सामाखुसी, टेकु र कुलेश्वरमा संक्रमित भेटिएका छन् ।

त्यस्तै ललितपुरको महालक्ष्मी, लुभु, लगनखेल, महालक्ष्मी स्थान, बुङ्मती, सानेपा, ठैब, पाटन, गोदावरी, सुनाकोठी, धापाखेल, हरिसिद्धि, हात्तीवन, चापागाउँ, भैंसेपाटी, नख्खु, प्युटार, चौघरे, जाउलाखेल, गोटीखेल, कुपन्डोल, ग्वार्को र ठेचोमा संक्रमण पुष्टि भएको छ । भक्तपुरका सल्लाघारी, दुवाकोट, बागेश्वरी, दूधपाटी, बालकोट, गठ्ठाघर, बोडे र भोलाछेंमा संक्रमित भेटिएका छन् । एउटै ठाउँमा एकभन्दा बढी संक्रमित पनि छन् ।

भारतीय सीमा जोडिएको जिल्ला र भारतबाट आएका नेपाली बसोबास गरेको क्षेत्रमा बढी कोरोना सङ्क्रमित फेला पर्दै आएकोमा त्यो क्रम विस्तारै उपत्यकामा सरेको तथ्याङ्कले देखाएको छ । विगतमा उपत्यकाका तीन जिल्लामा विदेशबाट आएका नेपालीमा मात्रै सङ्क्रमण देखिँदै आएकोमा अहिले स्थानीय समुदायमा समेत देखिन थालेको हो । थप सतर्कता नअपनाए उपत्यकामा सङ्क्रमण जोखिम बढ्ने चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *