कथाः चुवाको फुल

हो, यो चुवाको फुलको बोट पनि मलाई नै जिस्क्याउन आएजस्तो लाग्छ, काउकुति लगाउन आएजस्तो लाग्छ अनि मलाई सपनाको, कल्पनाको दुनियामा नचाउन आएजस्तो लाग्छ ।

तिन तलामाथि म काममा खटेको छु, झ्यालबाट हरपल पलपल यहि चुवाको फुलले सुटुक्क चियाइरहन्छ, बासना छपक्कै छरिदिन्छ अनि म खुट्टाहरु फतक्क गल्दापनि रोमान्चित भैरहेको हुन्छु, दिमाखको बोझ आफैं बिलाइदिन्छ। अरुले टाउको समातेर सबै समस्याहरुको बाेटमा गनगन अनि छलफल गरिरहँदा, स्याना ठुला कुराहरुमा दिमाख खियाइरहेको बखतमा नि म चैं रोमान्चित हुदै आफैभित्र पुलन्कित हुदै आँखामा नशा लिएर हराइरहेको हुन्छु।

न मलाई सानातिना करकरले छुन्छ न मलाई सानातिना बचन घोचाइले छुन्छ। ठुलो त के नै हुन सक्छ र मेरो मनको मायालु दुनिया, मेरो मनको खुसि अनि मेरो मनको मायाको महल भन्दा ? मैले यो महलको यो कोठा अनि यो परिबेशमा काम गरेको पाँच बर्ष भयो। न कैलै मलाई यो चुवाको बोट याद रह्यो न यसको बासना न यसले चिहाएर यसरी साउती मार्न खोजेको कैलै चाल पाँए।

झ्यालहरु बन्दै हुन्थे। गर्मिमा चिसो हावा फाल्ने बटन खोलिदेउ, जाडोमा तातो हावा फाल्ने बटन खोलिदेउ, यहाँ आउ, जे काम फत्ते गर्नु छ गर, हड्डि खियाउ फर्केर जाउ, एबमक्रम चलिरहन्छ। यसको कुरा सुन, त्यसको कुरा सुन, यो छलफलमा जाउ, केहि सुन अनि केहि फलाक, तालिममा जाउ, कैलेकाहिँ चाप्लुसि गर, कैलेकाहिँ परिस्थितिदेखि रुष्ट बन अनि कैलेकाहिँ अलि पदोन्नति हुन्छ र खुसि मनाउ, त्यो खुशिले पोल्छ जब तिमी सँगै काम गर्ने हिजोसम्म मित्र हुनेहरुले आज डाह गरेर खुट्टा तान्न खोज्छन्। जीवन कस्तो भएको रहेछ त ?

श्वास लिइरहेको थिए नी त्यसैले मुटु पनि चलिरहेको थियो, नशा-नशामा रगत पनि बगिरहेको थियो, हो म जिउँदै थिए। तर के जिउनु भनेको त्यति मात्र हो त? जिबन बाच्नु, यो एकमुठि श्वास राख्नु , दुइचार डलर कमाएर बिल तिर्नु मात्र हो त? कदापि हुन सक्दैन। जिबन थाहै नपाइ एउटा यन्त्र बनेछ।

तिम्रो कसम मेरो हजुर, यो तिम्रो जादु हो। म मेरो जीवन जुन नमिठो उराठलाग्दो र अत्याशलाग्दो सपनी जस्तो भएको थियो, ब्युझिएको छु। तिम्रो मायाले मलाई झक्झक्याएर ब्युझाइदिएको छ, जिउनुको अर्थ दिएको छ, श्वास लिनुको मतलब सिकाएको छ।

तिम्रो कसम मेरो हजुर, यो तिम्रो जादु हो। म मेरो जीवन जुन नमिठो उराठलाग्दो र अत्याशलाग्दो सपनी जस्तो भएको थियो, ब्युझिएको छु। तिम्रो मायाले मलाई झक्झक्याएर ब्युझाइदिएको छ, जिउनुको अर्थ दिएको छ, श्वास लिनुको मतलब सिकाएको छ।

ब्युझिएपछि मैले लरक्क परेर हुर्किएको चुवाको बोट देखे, हाङ्गा-हाङ्गाबाट फुटेर निस्किएका कोपिला अनि फक्रिएका बैशालु फुलहरु देखे। ओहो! के भनौ हजुर मेरो मन चोर्छ यस्को पात पातले, डाँठ-डाँठले, कलकलाउँदा कलिला चोखा पलाएका पालुवा अनि मगमगाउने यो बासनाले।

मेरो कल्पानामाः तिमिले कैयौं पटक मेरो शिरमा यो फुल सिउरिएको छौ । सिउरिँदा सिउँरिदै मलाई लट्ठ्याएको छौ, आफुतिर तानेको छौं अनि अङ्गालोमा बाधेको छौं । मेरो पेटमा, मेरो छातीमा, केले मिठोगरी चिमोटेजस्तो हलचल भएर म तिमीमा हराएको छु। अनन्त उचाइमा पुगेको मेरो छातीलाई तिम्रो मजबुत छातीमा कस्सेर टाँसेको छु अनि फुत्किएर भाग्लाजस्तो ढुकढुक गरेर उफ्रिएको मुटुलाई शान्त पार्दै अझ जोडले थिचेको छौ तिमीले।

कसेको छौ मलाई हो एकदमै सार्हो कसेको छौ आफ्नो सारा अङ्गहरुको स्पर्शले मेरा अङ्ग अङ्गमा मात चढ्नेगरी। तिम्रा बैशालु मातले भरिएका गुलावी ओठहरुले मेरो नशा-नशामा उमङ्ग र उन्मात भरेको छ । शरिरभरिको एक-एक नशाको रगत सबै सोहोरिएर मेरो ओठबाट तपक्क चुहिन लागेकोबेला चुमेर आफुभित्र लिएको छौ ।

तिम्रा ओठहरुले मलाई अर्कै संसारमा खिचेको छ अनि म बिलाएको छु तिमीभित्र। म जब कल्पनाबाट ब्युझिन्छु नि जिस्क्याउँछ मलाई यो आफु नग्न बनि एकअर्कासँग टासिएर छिल्लिएर फुलेको फुलले पनि, यसकै वरीपरी मन्द मन्द हावाले हल्लिइरहेका अरु सबै बृछ्यहरुले अनि बासना लिदै हुर्किरहेको गुलाबि घन्टि फुलले।

तिमीलाइ थाहा छ, मेरो हजुर ? यो फुलले मेरो चोखो पबित्र मायाको कल्पनाहरु, सपनाहरु अनी बैशालु उमङ्गहरु मात्र बोकेको छैन । मेरो बालापन पनि बोकेको छ। म त चुवाको फुलहरु खेलाउँदै यसको पत्रपत्र मिलाउँदै माला गाँस्दै मेरो सपनाको राजकुमारलाई लगाइदिँदै ढुङ्गामाटो सँग खेल्दै हुर्किएको हुँ।

गाउँको उकालो बाटो, अनि बाटोमा मध्यम शितल छहारी बनाउँदै ढकमक्क फुलेका चुवा र करबिरका जोडी । म निश्चल सफेत रङको अङ्गालो फैलाएजस्तो लाग्ने चुवालाई फरिया गुतेकि झैं देखिने जिउडाल सुलुक्क मिलेकि पहेली करबिरसँग जोड्दै घन्टौ खेलिरहन्थे।

निश्फीक्रिसँग उफ्रिदै डाँडाकाँडामा झरना खोलासँग गित गाउदै हुर्किएको मेरो गाउँमा तिमीले एकपटक के जान्छु भनिदिएको थियौ, मेरो कल्पनाले तिमीलाई वहि पुर्यायो। हामि हात समात्दै उकाली चढ्यौं, गुटुटु दगुरेर त्यो ओराली झर्यौं। हो त्यहि झ्याम्म परेको अध्यारे बरको भुइभन्दा १० फिट माथि रहेको हाङ्गा भुईंसम्म नुहायौं अनि दुइजानै त्यसमा चढ्यौं ।

म निश्चल सफेत रङको अङ्गालो फैलाएजस्तो लाग्ने चुवालाई फरिया गुतेकि झैं देखिने जिउडाल सुलुक्क मिलेकि पहेली करबिरसँग जोड्दै घन्टौ खेलिरहन्थे।

हाङ्गा भुईंबाट छुट्यो हामी माथि पुग्यौं, वाउ !….सरररर बतास चल्यो, ढुकुरको जोडी गुँडमा एक भएर मिठो निन्द्रामा झुलेका थिए, डाँडामा रहेको त्यो बरबाट हाम्रो पुरानो घरको धुरीमा परेवा पन्छिहरु चुचो जोड्दै घाम तापेका देखिए। अलि पर अरु हाँगाहरुमा बर खाँदै पिरती गाँसिरहेका चरीहरु देखिए, छेउमै रहेको कमेरोको गन्धले प्रकृतिले आफ्नो पौरखले बनाएको अत्तरको आभास दियो । लट्ठ पर्यौं हामी प्रकृतिको फेदमा, हाँगामा, काखमा ।

हो म तिमीसँग डाँडाकाँडा डुलिरहे, तल-तल बेशीँमा झरेर हामीले त्यहि कल्लेरी खोलामा आँत भिज्नेगरी पानी पियौं, झुक्याएर पानी छ्याप्यौ छ्याप्-छ्याप् । जब भिजेर अङ्ग-अङ्गमा काउकुति लाग्न थाल्यो, कपडा निचोर्दै एकअर्कालाई पुलुक्क हेर्यौ। हाम्रो आँखा जुध्यो। निथ्रुक्क लुगाहरुमा चियाइरहेका बैंशबाट मायाको न्यानो बाफ निस्क्यो अनि एकैछिनमा हामी मायामा निथ्रुक्क भयौं।

हरेक चौतारीमा पहाडबाट गुटमुटिदै बहेको यसैयसै मात लगाउने हावामा हामीले एकअर्कालाई अङ्गालोमा बाँध्दै सुस्तायौ। होचा-अग्ला कान्ला-कान्लामा मायाले मलाई तिमीले खिचिरह्यौ, खुल्ला यो आकाशमुनि कुनै बन्धन बिना।

हामि एकदिन त्यहि गाउँको उकालोमा त्यहि चुवा र करबिरको फेदमा भुइभरी छरिएका फुलहरुलाई सुम्सुम्याउँदै बसिदियौं । सन्सारभरको हिरामोति जुहार मैले काखमा पाएको आभास भयो जब तिमीले मलाई आफ्नो काखमा राख्यौ अनि भन्यौ, तिम्रो राजकुमार यहि आएको छ। भन सपनाको देश यहि हैन त ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *