असफल खानेपानी आयोजना जिम्मा लिन नेकपाको ब्ल्याकमेलिङ

धरान । नेपाली कांग्रेसका जिल्ला सचिव एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले धरानमा परीक्षणकालमा रहेको एशियाली विकास बैंक (एडिवी) खानेपानी आयोजना जिम्मा लिइहाल्न नेकपाका जनप्रतिनिधिहरुले ब्ल्याकमेलिङ गरेको बताएका छन् ।

ऋणमा ल्याइएको करिब ३ अरबको असफल उक्त खानेपानी आयोजना जस्तो छ त्यस्तै जिम्मा लिइहाल्न तथा खानेपानी व्यवस्थापन बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखालाई गाभिहाल्न नेकपाका जनप्रतिनिधिहरुले ब्ल्याकमेलिङ गरिरहेको संयोजक गोलेले बताएका हुन् ।

उनले उपनिर्वाचनबाट नगर प्रमुख निर्वाचित भएका नेपाली कांग्रेसका धरान नगर सभापति तिलक राईलाई नगरको परिषद् र कार्यापालिकामा दुई तिहाई भएको आडमा र पछिल्लो समय नगर प्रमुख राईको नाममा बेरुजु भएको भन्दै आयोजना जिम्मा लिन र संस्थानलाई बोर्डमा गाभ्न कार्यपालिका र नगर परिषद् बहिष्कार गरेर ब्ल्याकमेलिङ गरेको आरोप लगाए ।

दुई तिहाईको दम्भमा नेकपाका जनप्रतिनिधिहरुले आफैँले विज्ञको समिति बनाई आयोजनाको मूल्यांकन तथा प्राविधिक र आर्थिक परीक्षण गर्ने र विज्ञको प्रतिवेदनको आधारमा आवश्यक निर्णय लिइने भनि कार्यापालिका बैठकमा गरेको निर्णयको समेत पर्वाह नगरी यसरी दबाब र ब्लाकमेलिङ गर्नुले आयोजनामा ठुलै चलखेल भएको हुन सक्ने गालेले बताए ।

आयोजना अनुगमन समितिका संयोजक समेत रहेका गोलेले आयोजनाले डिपिआर र सम्झौता बमोजिम कुनैपनि लक्ष्य पूरा गर्न नसकेको बताए । आयोजनाले सन् २०३१ सम्ममा वृद्धि हुने जनसंख्यालाई ७ मिटरको प्रेसरमा दैनिक न्यूनतम् १६ घण्टा शुद्ध पानी उपलब्ध गराउने भनिएपनि वर्षायाममा समेत उक्त मापदण्ड र लक्ष्य हासिल भएको नपाइएकाले प्राविधिक र व्यवहारिक रुपमै आयोजना असफल भइसकेको उनले बताए ।

हाल दिन बिराएर पानी वितरण गर्ने गरेको, उपभोक्ताले पानीमोटर जडान गर्नु परेको, धमिलो र लेदो मिसिएको पानी खान बाध्य भएको तथा कतिपय वडाहरुमा परीक्षण अवधिमै ट्याङकरबाट पानी उपलब्ध गराउनु परेको, डिपिआर विपरित थप २ वटा वेल निर्वाचन आचारसंहिता उल्लंघन गरी निर्माण गरेको जस्ता ज्वलन्त उदाहरणले पनि आयोजना असफल भएको पुष्टि भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *