बाढी-पहिरो पीडितको उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई डा. शेखर कोइरालाको निर्देशन

काठमाडौं । डा. शेखर कोइरालाले पार्टीका नेता तथा कार्यकर्तालाई बाढी पहिरोबाट पिडित जनताको उद्धारमा जुट्न निर्देशन दिएका छन् । कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिमा परी धनजन गुमाएका नागरिकको उद्धार गर्न, उनीहरुलाई रातह वितरण र पुर्नस्थापना गर्नका लागि आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

उनले कांग्रेसका जिल्ला, क्षेत्र नगर र गाउँपालिकाका कार्यकर्ता तथा नेताहरुलाई उद्धारमा खटिन आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको आउँदो फागुनमा हुने १४ औं महाधिवेशनमा सभापतिको मुख्य दाबेदारका रुपमा हेरिएका नेता कोइरालाले जनता विपतमा परेको बेला पार्टीले आवश्यक सहयोग गर्नुपर्ने भन्दै आफ्ना नेता कार्यकर्तालाई उद्दार तथा राहतमा लाग्न भनेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् -‘अविरल बर्षाले देशका बिभिन्न जिल्लाहरू डुवानमा छन् । जनधनको क्षति भइरहेको छ । मानिसहरूको मृत्यु भइरहेको छ,केही घाईते छन र कैयौं बेपत्ता छन् । विपदको समयमा कांग्रेस पार्टीका जिल्ला,क्षेत्र,नगर र गाउॅका साथीहरूलाई आफू सुरक्षित हुॅदै प्रभावित स्थानहरुमा उद्धार तथा राहतमा जुट्न आग्रह गर्दछु ।’

यसअघि मुलुकमा आएका विभिन्न विपत्तिहरुमा समेत आफ्नो तर्फबाट साथ सहयोग गर्दै आएका छन् । तीन महिना अघिदेखि मुलुकभर फैलिइरहेको कोरोना भाइरस संक्रमण रोकथाम, न्यूनिकरण र सचेतनामा समेत डा. कोइरालाले सहयोग जुटाउँदै आइरहेका छन् ।

तीन महिना यताको लकडाउनले गरिब तथा दैनिक ज्यालादारीका जनताहरु भोकभोकै रहने अवस्था आएपछि उनले विभिन्न क्षेत्रमा कोरोना स्वास्थ्य सामग्रीसँगै खाद्यान्न समेत वितरण गरेका थिए । केही दिन यता देशका विभिन्न क्षेत्रमा परेको बर्षाका कारण आएको बाढी पहिरोमा परी दर्जनौं नागरिकको जनधनको क्षति भइरहेको छ ।

देशका सातै वटा प्रदेशहरुमा परेको लगातारको बर्षाले साना तथा ठूला खोलाहरुमा बाढीको जोखिम बढेको छ । पहाडी क्षेत्रमा पहिरोबाट निक्कै ठूलो धनजनको क्षति भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *