नेपालमा कोरोना संक्रमण दर घट्यो भनेर भन्न मिल्दैन : डा. शेरबहादुर पुन

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अन्तर्गत क्लिनिकल रिसर्च यूनिटका संयोजक डा. शेरबहादुर पुनले नेपालमा अहिल्यै संक्रमण दर घट्यो भनेर भन्न नमिल्ने बताएका छन् ।

आइतबार (आज) मकालु खबरसँग कुराकानी गर्दै डा. पुनले ‘घट्यो’ भनेर भन्न नमिल्ने बताउँदै घट्ने र बढ्ने अबको तथ्यांकले निर्धारण गर्ने औंल्याए ।

“अहिल्यै घट्यो भनेर भन्न मिल्दैन । यसको निर्धारण अबका तथ्यांकले गर्छ । ग्राफलाई नै आधार मानेर हामीले विश्लेषण गर्न मिल्दैन ।” डा. पुनले भने, ‘मलाई लाग्छ, नेपालमा विनालक्षणको कोरोना भाइरस यत्रतत्र छ । हामीले पूर्ण रुपमा सावधानी अपनाउनैपर्छ ।’

यस्तै डा. पुनले नेपालमा कोरोना संक्रमणलाई ‘परीक्षण’ र ‘भारतबाट भित्रिनेको चाप’ गरी दुई फ्याक्टरले निर्धारण गर्ने बताए ।

उनले हामीसँग भने, ‘नेपालमा कोरोना संक्रमणलाई दुई फ्याक्टरले निर्धारण गर्छ । ती हुन् ‘परीक्षण’ र ‘भारतबाट भित्रिनेको चाप’ । यी दुई कुराहरुलाई सन्तुलनमा ल्याउन सकियो भने नेपालमा संक्रमणको दर साँच्चै घट्न सक्छ ।’

‘लोकल कम्युनिटी’मा कोरोना भाइरस फैलिएको हो ? भनेर सोधिएको प्रश्नमा डा. पुनले वाइड्ली रुपमा नभएको तर समुदायमा भाइरसको अंश भने रहेको बताए ।

‘लोकल कम्युनिटीका मान्छेहरु पनि अस्पताल आउने क्रम बढेको छ । यसो हुँदा केही अंश चाहिँ छ भनेर भन्न सकिन्छ ।’ उनले भने । ‘तर भाइरस पूर्ण रपमा समुदायमा पसिसक्यो भनेर भन्न मिल्दैन ।’

यसैगरी डा. पुनले ‘मास्क’, ‘स्यानीटाईजर’ र ‘सामाजिक दूरी’लाई आत्मसाथ गरेको खण्डमा कोरोनाबाट बाँच्न सकिने बताए । उनले यी तीन कुरालाई आत्मसाथ गरेको खण्डमा घटेको अनुपात पुनः नबढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *