नबिल बैंकद्वारा ‘नबिल डिजि बैंक’ स्थापना

काठमाडौं । नबिल बैंकले नबिल बैंक भित्रको डिजिटल बैंकको अवधारणामा, “नबिल डिजि बैंक” स्थापनाको घोषणा गरेको छ । बैंकले ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा मिडिया सँगको अनलाइन अन्तरक्रिया कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो । बैंकले नबिल डिजि बैंक ग्राहकवर्गले आफुले चाहेको समय, ठाउँ र सुविधा अनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने गरि बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको जनाएको छ ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल शाहले नबिल डिजि बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताए । शाहका अनुसार बैंकको नयाँ योजनाले अबका दिनहरुमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवाहरु मार्फत अनुपम ग्राहक अनुभवहरु सिर्जना गर्दै जाने लक्ष्य राखेको छ ।

बैंकले बैकिङ क्षेत्रमा भारतको आइ.सि.आइ.सि.आइ बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीसँग रणनैतिक साझेदारी आरम्भ गरिसकेको प्रमुख कार्यकारी अधिकृत शाहले जनाए ।

बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजि बैंक नबिल बैंकको स्थाई संरचना इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रकृयाको अपरिहार्य प्रस्थान विन्दु हो । यसले नेपालको आर्थिक सेवा क्षेत्रमा  विधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरीएको छ ।

मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता सेवाहरुले लाखौं ग्राहकलाई केही सुविधा दिइरहेको परिप्रेक्ष्यमा नबिल डिजि बैंकले ग्राहकहरुलाई उत्कृष्ठ सेवा अनुभव प्रदान गर्न अब उपरान्त डिजिटल रणनीति तथा कार्यक्रमहरु मार्फत पारस्परिक बैंकिङ पद्दत्तिलाई चुनौति दिँदै ग्राहकवर्ग, फिन्टेक लगायत अन्य पक्षसँगको सहकार्यमा आर्थिक इकोसिस्टममा आधारित बैंकिङ तथा आर्थिक सेवाको प्रयोग गर्ने छ ।

कार्यक्रममा बोल्दै हुवावे टेक्नलजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ शुगेनले नबिल बैंकलाई ३६ वर्षको गौरवमय इतिहास रच्न सफल भएकोमा बधाई तथा शुभकामना दिए । उनले हुवावैले सूचना प्रविधिमा हासिल गरेको उपलब्धिलाई बैंकको रुपान्तरणको प्रकृयामा प्रयोग गरि सहयोगी भूमिका निवार्ह गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नबिल डिजि बैंकका प्रमुख विनय कुमार रेग्मीले टीम नबिलको उत्पादकत्व तथा दक्षता अभिवृद्धि गर्दै ग्राहकवर्गको जीवन यात्रालाई आथिर्क सेवाहरु मार्फत सशक्त तथा सुविधायुक्त बनाउन गरिने प्रयासहरुबारे प्रकाश परेका थिए ।

मिस नेपाल तथा सामाजिक अभियन्ता, श्रृंखला खतिवडाले २१ औं शताब्दीका ग्राहकवर्गको इच्छाहरुलाई पहिल्याउँदै त्यसलाई आफ्ना सेवाहरु मार्फत ठोस कदम चाल्न सुरुवात गरेकोमा नबिल बैंकलाई शुभकामना दिइन् । युवा कलाकार अनमोल केसीले बैंकिङ सेवाहरुलाई प्रविधि मैत्री युवालाई लक्षित गर्दै अन्यलाई पनि डिजिटल सेवा उपयोग गर्न सिकाउँदै लैजानु आजको आवश्यकता भएको बताए । 

नबिल डिजि बैंक अन्तरगतका, डिजिटल बैंकिङ प्रमुख निरज शर्माले कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै, नबिल बैंकको रुपान्तरणको यात्रालाई ग्राहकमुखी बनाउन समुदायको हरेक पक्षको सहभागिता तथा रचनात्मक आलोचना अपरिहार्य रहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *