फ्लोरिडामा अवस्था खराब, एकैदिन १५ हजार बढी संक्रमित थपिए

काठमाडौं । अमेरिकी राज्य फ्लोरिडामा कोरोनाभाइरस सङ्क्रमितहरूको गन्ती एकैदिनमा अहिलेसम्मकै उच्च १५,२९९ पाइएको छ । त्यो सङ्ख्या अमेरिकाभर पछिल्लो चौबीस घण्टामा बढेको सङ्क्रमितको झण्डै एक चौथाइ हो ।

७ प्रतिशत अमेरिकी जनसङ्ख्या भएको उक्त राज्यले यसअघि क्यालिफोर्नियामा रहेको दैनिक उच्च वृद्धिको विन्दु तोडेको हो । फ्लोरिडालाई यदि एउटा देश मान्ने हो भने नयाँ सङ्क्रमितको सङ्ख्याका आधारमा यो यतिखेर विश्वमै चौथो नम्बरमा पर्ने रोयटर्स समाचार संस्थाको एक विश्लेषणले जनाएको छ ।

यस्तो वृद्धिसँगै उक्त राज्यको स्वास्थ्य प्रणालीमा निकै चाप परेको देखिएको छ । चार दर्जनभन्दा बढी अस्पतालहरूले आफ्नो सघन उपचार क्षमता पूर्ण अवस्थामा चलिरहेको बताएका छन् । यो विवरणले एप्रिल महिनामा न्यूयोर्कमा देखिएका निकै खराब दैनिक वृद्धिका दरलाई छायाँमा पारिदिएको छ ।

पछिल्लो एकदिनमा थप ४५ जनाले उक्त राज्यमा भाइरसका कारण ज्यान गुमाएका छन् । महामारी सुरु भएयता अमेरिकामा १,३४,००० भन्दा बढी मानिसहरूको कोभिड-१९ का कारण मृत्यु भएको छ । फ्लोरिडाले मे महिनाबाट कोरोनाभाइरसका कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्न थालेको थियो ।

जुन त्यहाँको पर्यटन र वृद्धवृद्धाको जनसङ्ख्याका कारण असुरक्षित पाइएको छ । रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्ने राज्यका गभर्नर रोन देशान्तिसले मानिसहरूलाई मास्क लगाउन निर्देशन नदिनाले यस्तो अवस्था आएको भन्दै आलोचना भइरहेको छ । गभर्नरले त्यस्तो निर्णय लिने काम स्थानीय निकायहरूलाई छोडेका थिए ।

उनले लकडाउन लगाउन रूचि देखाएका थिएनन् र प्रतिबन्धहरू समेत छिट्टै खुकुलो पारेका थिए । पछिल्लो महिनाबाट उनले पुन: केही बारहरूमा प्रतिबन्ध लगाउन थाले पनि त्यसले वृद्धिको क्रम रोकेको थिएन ।

ह्वाइटहाउसको कोरोनाभाइरस सम्बन्धी कार्यदलका प्रमुख सल्लाहकार डा एन्थोनी फाउचीले सङ्क्रमित वृद्धिको क्रमले लकडाउन खुलाउन नसुझाएको भन्दै फ्लोरिडाको त्यस्तो कदमको आलोचना गरेका थिए । अमेरिकामा मास्क लगाउने विषयको निकै राजनीतिकरण भएको देखिन्छ ।

मास्क विरोधी मतले त्यसले व्यक्तिगत स्वतन्त्रतामा हानी गर्ने बताउने गरेका छन् । थुप्रै राज्यमा मास्क र अन्य कोरोनाभाइरससँग जुझ्ने उपायका विरूद्धमा प्रदर्शनहरू भएका थिए । अमेरिकाभर पछिल्ला दिनमा दैनिक ६० हजार जति नयाँ सङ्क्रमितहरू थपिएका छन् । सङ्क्रमितहरू निरन्तर बढिरहेका अन्य राज्यहरूमा एरिजोना, क्यालिफोर्निया र टेक्सस रहेका छन् । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *