परिवारले नचाहँदा नचाहँदै ‘हिरो’ भएका पुष्प, जाे सानाेमा उट्पट्याङ्ग गर्न माहिर थिए
सुदुरपश्चिमको कैलाली लम्कीचुहा नगरपालिकामा वि.स २०४५ साउन ५ गते बुवा दान बहादुर खड्का र आमा बिमादेबी खड्काको कोखबाट दोस्रो सन्तानको रुपमा नायक पुष्प खड्काको जन्म भएको थियो ।
मध्यम बर्गिय परिवारमा हुर्किएका उनको बाल्यकाल भारतको महाराष्ट्रको पुनेमा वित्यो । तीन बर्षको हुँदा बुवाआमासँग भारत गएका थिए खड्का । त्यहाँ उनले कक्षा ५ सम्म अध्ययन गरे । नेपाली कल्चर भन्दा भारतीय कल्चरमा हुर्कीएका उनी मराठी भाषापनि राम्रोसँग बोल्न सक्थे । सानोमा क्रिकेट, र कराँते खेल्ने गर्थे खड्का ।
चकचके र चञ्चल स्वभावका उनले सानोमा धेरै बदमासी गर्थे । कराँते खेल्दा उनले अरु साथीहरुको लुगाहरु च्यातिदिने, मान्छेहरु कुटपिट समेत गर्थे । घरमा कम्प्लेन आउँदा धेरै पटक माफीसम्म माग्नु परेको थियो उनले ।
सानोमा ठुल्ठुलो पानी ट्यांकीको माथि गएर बस्थे । घरमा आमा बुवाको धेरै पटक पैसा चोरी खान मन लागेको खाने कुरा किनेर खाने गर्थे । केही समय भारत बसेपनि उनी नेपाल फर्किए । खड्काले कैलालीको लम्कीचुहाँ नगरपालिकाको सर्वोदय माध्यामिक बिद्यालयमा भर्ना भई कक्षा ८ बाट अध्ययन सुरु गरेपनि कक्षा ९ र १० चुहा माध्यामिक स्कुलमा पढे ।
भारतीय कल्चरमा हुर्किएका खड्का कस्को अगाडि के बोल्ने के नबोल्ने समेत थाहा हुँदैनथ्यो । गाउँ घरमा सबैले धेरै माया दिँदा पुष्पले धेरै उट्पट्याङ गरेका थिए । साथीहरुको लहलहैमा अरुको घरमा गएर चोर्दा केटीहरु जिस्काउँदा खड्कालाई रमाईलो लाग्थ्यो ।
पुष्पको उट्पट्याङले पढाईमा बाधा पुग्न थाल्यो । उनी स्कुलमा जहिलेपनि साथीहरुसँग अन्तिम बेन्चमा बसेर हल्ला गर्ने गर्थे । जब कक्षा १० पढ्ने बेला भयो, तब चैं पुष्प सिरियस भएर पढ्न थाले । एउटा राम्रो साथीको संगत पाए । एसएलसीमा ४५ प्रतिशत अंक ल्याएर पास भए । त्यो बेलामा एसएलसी परीक्षालाई ‘आईरन गेट’ भनिन्थ्यो ।
एसएलसी गरिसकेपछि अब के पढ्ने ? उनी दोधारमा परे । के विषय पढ्दा राम्रो हुन्छ ? स्कुलका टिचरहरुसँग सल्लाह मागे । टिचरहरुले पढ्न सके त साईन्स नै राम्रो भनेपछि ‘के मैले पढ्न नसक्ने हो र ?’ भनी साईन्स विषय लिएर पढ्न थाले । प्लस टुमा साइन्स लिएर कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक बिद्यालयमा होस्टेल बसेर पढन थाले पुष्प ।
कलेज पढ्ने भइसक्दा पनि पुष्पको चकचके स्वभाव बाँकी नै थियो । होस्टेल बस्दा पनि धेरै बदमासी गरे । कसैको बत्तिको स्विच निकालेर घरको छतमा गएर बसिदिन्थे । साथीभाइहरुलाई छतमा जम्मा गरेर अन्तारिक्ष खेल्थे । होस्टलमा चकचक गर्दै समय वित्यो, पढाईमा कुनै सुधार आएन ।
होस्टेलको माहोल बिग्रेपछि उनी एक जना साथीसँग परीक्षा आउन २ महिना बाहिर बसेर पढ्न थालपछि भने प्लस टुमा ६३ प्रतिशत अंक ल्याएर पास भए ।
००००
उनलाई सानै देखि डान्स गर्न खुब रहर लाग्थ्यो । तर, घरमा पुष्पले नाचेको कसैले मन पराउँदैनथे । नाचेको कसैले देखेभने गाली खानु पर्दथ्यो । ‘घरमा बुबाममीले म नाचेको पटक्कै मन पराउँनु हुँदैनथ्यो, त्यहि भएर म कोठाभित्र चुकुल लगाएर नाच्थें ।’ पुष्पले विगतको कुरा सम्झँदै भने ।
उनलाई सानैदेखि हिरो बन्ने इच्छा थियो । प्लस टु गरेपछि घरमा ‘म हिरो बन्छु’ भने तर, परिवारले स्वीकारेन । त्यसपछि उनी बुवासँग भारत गए । त्यहाँ उनले अभिनय भनेको के हो ? कसरी गर्ने भन्ने सोधखोज गरे । तर, बुबालाई चाहिँ ‘म हिरो बन्दीन, घरमै बसेर पढ्छु’ भनेर झुटो बोले । र, नेपाल फर्किए ।
त्यसपछि पुष्पले घरमा पनि ‘अब म राम्रो सँग पढ्छु’ भने । र, पढ्नकै लागि भनेर काठमाडौं आए । पुतलीसडकको कान्तिपुर सिटीमा भर्ना भए । फस्ट सेमेस्टरमा डिस्ट्रिक्सन ल्याएर पास भए । नयाँ बानेश्वरको थापा गाउँमा बस्थे उनी । कलेज पढेर कोठामा फर्कने बेला बाटोमा डान्स सेन्टरमा गीत बजिरहेको सुन्दथे, उनलाई पनि नाचूँनाचूँ लाग्थ्यो ।
एकदिन खड्काले आफ्नै पर्ने अंकललाई डान्स क्लासमा भर्ना गर्दिनु भनी बिन्ती बिसाए । त्यसपछि भने झरना डान्स कल्चरमा डान्स सिक्न थाले खड्काले । उनको नाच्ने इच्छा त पूरा भयो । तर, पढाई भने बिँग्रदै गयो ।
हिरो बन्न के–के सिक्नुपर्छ भन्ने समेत थाहा नभएका खड्कालाई जसरी हुन्छ हिरो बन्नु थियो । टेलिभिजन सेट र कार्यक्रममा बज्ने म्युजिक भिडियोमा डान्स गरेको देखेपछि पुष्पमा आफुले त्यो भन्दा राम्रो गर्न सक्छु अन्ने आत्म विस्वास पलायो । अनी मात्र उनले कलाकार बन्नकै लागि थिएटरका चर्चित कलाकार निर्देशक अनुप बरालसँग अभिनय सिक्न थाले । ‘शुरुमा मलाई हिरो कसरी बन्ने, केके सिक्नुपर्छ भन्ने थाहै थिएन, जब निर्देशक अनुप बरालसँग भेट गर्ने मौका मिल्यो त्यसपछि मात्र मलाई अभिनय, नृत्यका बारेमा धेरै जानकारी भयो र उहाँबाटै अभिनय सिक्ने मौका पाएँ ।’ पुष्प भन्छन् ।
पुष्पले करियरको सुरुवात म्युजिक भिडियोबाट गरे । पहिलो पटक गायक हेमन्त शर्माको स्वरमा रहेको ‘के माया गर्नु हुन्न र’ भन्ने म्युजिक भिडियोमा अभिनय गरे । गीतको चर्चा त भयो तर, उनी नोटिसमा भने परेनन् ।
यता घरमा ‘छोरो काठमाडौँमा पढ्न बसेको छ । राम्रै पढेको छ’ भन्ने घरपरिवारलाई थियो । किनकी खड्का त ‘अब म राम्रोसँग पढ्छु’ भनेर काठमाडौँ आएका थिए । ‘पढ्न भनि सहर पसेको छोराले जुन क्षेत्रमा लाग्दिन् भनेको थियो त्यहि क्षेत्रमा लागेको सुनेपछि बुवाआमा रिसाउनु भयो ।’
खड्काले डान्स सिक्दै गर्दा म्युजिक भिडियो निर्देशकहरुसँग भेटे । जतिलाई भेटे सबैले उनको नृत्यको तारिफ गर्थे र आश्वासन दिएर मात्रै पठाउँथे । जब उनले शिव परियारको ‘पिउदिन भन्दा भन्दै पिलायो साथीले’ भन्ने गीतको म्युजिक भिडियो गरे । त्यसपछि त उनलाई म्युजिक भिडियोको अफरै अफर आउन थाल्यो ।
कलाकारितामा पुष्पलाई शिव परियारको गीतले नै अगाडी बढाइदियो । महिनाको २/४ वटा गीतहरु आउँछ होला भन्ने सोच बनाएका खड्कालाई त्यसपछि महिनाको १४ वटासम्म म्युजिक भिडियो गरे । उनले पहिलो म्युजिक भिडियोमा काम गर्दा तिन हजार रुपैंयाँ पाएका थिए । अहिले उनको एउटा म्युजिक भिडियोको लाखौंसम्म लिन्छन् ।
पुष्पले ‘पिलायो साथीले, दुनिया बेग्लै छ, मनमा कुरा’ जस्ता दर्जनौ सुपरहिट म्युजिक भिडियोहरु गरिसकेका छन् । हालसम्म ५०० भन्दा बढि म्युजिक भिडियो गरिसकेका खड्कालाई म्युजिक भिडियोमा डेब्यु भने निर्देशक आलोक शर्माले गराएका थिए ।
पुष्पले आलोकसँग धेरै काम गरे । आलोक फिल्म निर्देशक पनि हुन् । उनैले पुष्पलाई ‘अझै पनि’मा सर्पोटिङ रोल दिए । पुष्पले ठुलो पर्दामा डेब्यु गरे । ‘अझै पनि’मा सर्पोटिङ क्यारेक्टर गरेपछि उनलाई सर्पोटिङ रोलको मात्र अफर आउन थाल्यो । तर, उनले गरेनन् किनकि उनलाई हिरो नै बन्नु थियो ।
केही समयपछि पुष्पलाई निर्देशक तुलसी घिमिरेले निर्माण गर्न लागेको फिल्म ‘दर्पण छाँया–२’ का लागि अफर आयो । ‘दर्पण छाँया–२’ मा तीन जनाको रोल छ भन्ने सुनेका पुष्पले सर्पोटिङ क्यारेक्टरकै लागि गएनन् ।
एक जना दाईले ‘तिमीलाई तुलसी दाईले बोलाउनु भएको थियो किन नगएको’ भनि सोध्दा पुष्पले ‘सर्पोटिङ रोलको लागि होला त्यसैले गइन ।’ भनी जवाफ फर्काए । तर, त्यहाँ त उनलाई मुख्य क्यारेक्टरको लागि अफर रहेछ । जुन कुरा उनले पछि मात्रै थाहा पाए । ‘तुलसी घिमिरेले ‘दर्पण छायाँ–२’ का लागि सर्पोटिङ रोल होला भनेर गइन, तर पछि मात्र थाहा पाएँ, उहाँले त मलाई लिड रोल नै अफर गर्नु भएको रहेछ ।’ पुष्पले भने ।
अनि केहि फोटोहरु लिएर उनि हतारहतार निर्देशक तुलसी घिमिरे कहाँ पुगे । घिमिरेबाट राम्रो छ भन्ने मात्र प्रतिक्रिया पाए । एकदिन फिल्म खेल्न एग्रीमेन्ट पेपर समेत पाए । ‘तुलसी घिमिरेको अफिसबाट घर फकँँदै गर्दा बाटोमा २ पटक साईन गरेको एग्रीमेन्ट पेपर निकालेर हेरे किनकि मलाई लिड रोल गर्छु भनेर साइन गरेको विस्वास लागिरहेकै थिएन ।’ विगतको कुरा सम्झँदै उनी भन्छन् ।
पुष्पले दर्पण छायाँ–२ बाट मुख्य क्यारेक्टरमा डेब्यु त गरे तर, विडम्वना फिल्म सोचेको जस्तो चल्न सकेन । तथापि, दर्पण छायाँ–२ मा उनले गरेको अभिनयको तारिफ भयो ।उनलाई अब फिल्मको अफरहरु आउन थाल्यो । तर, पुष्पले जथाभावी फिल्म खेल्ने आँट गरेनन्, छानेर, कथा हेरेर राम्रो ब्यानरमा मात्र खेल्न थाले । निर्देशक छबिराज ओझाको ‘मङलम’ले उनलाई नयाँ उचाईमा पुर्याईदियो । उनले ‘मङलम’बाट पुष्पले नेशनल अवार्ड समेत पाए ।
हालसम्म उनले ‘छ’ वटा फिल्म ‘अझै पनि, दर्पण छाँया–२, मङलम्, दाल भात तरकारी, र मारुनी’ गरिसकेका छन् । चालबाज फिल्म फ्लोरमा गएपनि कोरोनाको कारण रोकिएको छ ।
पुष्पको कामलाई सम्मान गर्दै देश विदेशमा रहेका अनेकौं संघ संस्थाले सम्मान गरेका छन् । नेशनल फिल्म अवार्ड, स्टार इन्टरनेशनल फिल्म अवार्ड, एलजी सिने अवार्ड, सुन्दरादेवि सन्देश म्युजिक अवार्ड, सुर्य इन्टरनेशनल अवार्ड, युवा इन्टरटेन्मेट अवार्ड लगायतका दर्जनौं अवार्डहरुबाट उनी सम्मानित भइसकेका छन् ।