तनहुँ पहिरो अपडेटः सातको मृत्यु, पाँच बेपत्ता, तीन घाइते

दमौली । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर आज तनहुँमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चार, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलेमा दुई र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिराले पुरिएर व्यास–९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको निधन भएको छ । ऋषिङ–८ पल्ट्याङमा पहिराले घर पुरिएर बेपत्ता भएका ३० वर्षीय भेषबहादुर थापा र १९ वर्षीया मनिसरा थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

पहिराले पुरिएर गम्भीर घाइते म्याग्दे–६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको भने दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पहिराले पुरिएर व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा, ऋषिङ–८ पल्ट्याङका २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा, व्यास–११ ओडारेका ४५ वर्षीय पद्मबहादुर भुजेल बेपत्ता छन् । उनीहरुको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित छन् ।

त्यस्तै पहिराले पुरिएर घाइते भएका ऋषिङ–८ पल्टयाङकी ६० वर्षीया ज्योतिमाया थापा, व्यास–९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ भने सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवरको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *