नेपालमा कोरोना संक्रमण घट्नुको कारण के हो ? जोखिमलाई कसरी न्यूनीकरण गर्ने ?

नेपालमा बिगत १० दिन यता संक्रमितको संख्या घटिरहेको छ । के कोरोना संक्रमणबाट नेपाल मुक्त हुँदै गएको हो त ? के कारणले संक्रमितको संख्या घट्दै गएको हो ?

१. विश्वका अन्य मुलुकमा कोरोना संक्रमणले आक्रान्त गर्ने समयमा नेपालमा अत्यन्तै न्यून संख्यामा कोरोना संक्रमित थिए । लामो लकडाउनको कारण समुदायमा फाट्टफुट्ट भएको संक्रमण अन्य व्यक्तिमा सर्न पाएन । यो समयमा संक्रमण भएका सुरुका व्यक्तिमा कोभिड १९ को सामान्य लक्षण देखिएको थियो भने आम नागरिकमा त्रासको स्तर उच्च थियो ।

२. जब भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्दै गयो, भारतमा रहनुभएका लाखौँ नेपाली असुरक्षित तरिकाले नेपाल आउनुभयो । त्यो समयमा हरेक नाकाबाट दैनिक १०-१५ हजारभन्दा धेरै व्यक्ति नेपाल आउँदा उहाँहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने, PCR परीक्षण गर्ने, संक्रमितलाई गम्भीर भएर उपचार गर्ने तथा आफ्नो थातथलोमा सुरक्षित रुपमा पठाउन अप्ठ्यारो स्थिति उत्पन्न भयो ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विद्

जसको कारण क्वारेन्टाइनमा रहेका स्वस्थ व्यक्तिमा संक्रमण सर्ने, क्वारेन्टाइनमा मृत्यु हुने, आत्महत्या गर्ने तथा महिला हिंसाका केहि घटना बाहिर आए । त्यो समय नेपालीको लागि निकै पीडादायी समय रह्यो । यहि समयमा नै नेपालमा कोरोना संक्रमण निकै फैलियो । नेपालका ७७ जिल्लामै कोरोना संक्रमण पुग्यो ।

३. ७७ जिल्लामै कोरोना संक्रमण फैलिएको अवस्थामा समुदायमा कोभिड १९ को डढेलो लाग्छ कि भन्ने ठूलो चिन्ता, डर तथा अन्यौलता निकै बढ्यो । खास गरि सुदूरपश्चिम तथा सिमावर्ती जिल्लाहरुमा कोरोना संक्रमण ब्यापक रुपमा फैलिन्छ कि डर थियो, त्यो हुन पाएन । भारतबाट जुन समयमा नेपाल आउनेको चाँप बढी थियो, त्यो समयमा संक्रमित व्यक्ति अहिलेसम्म पुरै निको भएको अवस्था छ ।

४. भारतमा लकडाउन खुलेपछि त्यहाँ रहनुभएका नेपालीको नेपाल आउने क्रम अप्रत्याशित रुपमा निकै घट्यो । सीमाबाट भित्र पस्न कठिन भएको, असुरक्षित क्वारेन्टाइन भएको तथा भारतमा रोजगारीको अवसर प्राप्त भएको हुँदा नेपाल आउने संख्या घट्दै गयो ।

५. भारतबाट नेपाल आएका ९८% व्यक्ति जनघनत्व कम भएका गाउँका थिए । प्रत्येक गाउँमा कोरोना संक्रमणको अत्यासलाग्दो डर भएको अवस्थामा भारतबाट आएका व्यक्तिलाई स्थानीय क्वारेन्टाइनमा अनिबार्य रहनुपर्ने स्थानीय निकायको मापदण्डको कारण कोरोना संक्रमण समुदायमा फैलिन पाएन । गाउँमा घरहरुले समेत भौतिक दुरी कायम गरेका हुन्छन् । जसले गर्दा संक्रमण बिस्तार हुन पाएन ।

६. आफुले चिनेका संक्रमितहरू निको भएको देखेर तथा मृत्युदर निकै कम भएको सुनेर आम नागरिकमा कोरोना संक्रमणसंग डर कम हुँदै गयो ।

७. संक्रमण बिस्तारको समयमा एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने मात्र हैन एक वडाबाट अर्को वडा जान नपाउने, बाटो छेक्ने, पुल बन्द गराउने, संक्रमित भएको वा विदेशबाट आएको व्यक्तिको क्षेत्रमा नहिड्ने जस्ता गतिबिधि मानवताको हिसाबले विभेदपूर्ण भएपनि कोरोना संक्रमण नियन्त्रणमा सहयोगी बने ।

८. यातायात बन्द रहेको तथा सहरी क्षेत्रमा आउन झन्झटिलो प्रक्रिया भएको हुँदा सहरमा संक्रमण न्यून भयो । सहर आएका व्यक्तिहरु होम क्वारेन्टाइनमा बस्नुपर्ने, डेरामा वा कार्यालयमा जानको लागि PCR टेस्टको रिपोर्ट माग्ने तथा वडाको क्वारेन्टाइनमा समेत बस्नुपर्ने जस्ता नियमको कारण धेरै नागरिक अझै सहर आउन पाएका छैनन् । सहर आएका अधिकांशले परीक्षण गरेका छन् ।

९. बिदेशमा अलपत्र परेका नागरिकलाई PCR रिपोर्ट सहित आउनुपर्ने, क्वारेन्टाइनमा बस्नुपर्ने तथा परीक्षण हुने आदि प्रक्रियाको कारण संक्रमितहरु स्वस्थ व्यक्तिसंग घुलमिल हुन पाएनन् । यसले गर्दा समुदायमा रोग फैलिन पाएन ।

१०. बिगत १० दिन यता क्वारेन्टाइन केन्द्रहरु खाली हुँदैछन् । सक्रिय संक्रमितको संख्याभन्दा निको भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । यो सँगै परीक्षणको दायरा पनि घट्दै गएको छ ।

११. अहिलेको अवस्था हेर्दा नेपालका गाउँ धेरै सुरक्षित भएका छन् । सामान्यता अब गाउँमा संक्रमण फैलिने अवस्था आउँदैन भन्न सकिन्छ । तसर्थ गाउँघरमा आफ्नो काम गरेर तथा निश्चिन्त भएर बस्ने अवस्था उत्पन्न भएको छ ।

१२. अहिले सबैभन्दा जोखिममा सहरी क्षेत्र तथा बिशेषगरि काठमाडौं उपत्यकामा छ । जनजीवन सामान्य अवस्थामा आउँदै गरेको यो समयमा भीडभाड बढेको छ । आम नागरिकमा डर कम भएको छ । बिभिन्न उपायबाट संक्रमित क्षेत्रका व्यक्तिहरु राजधानी आइरहेको अवस्था छ । सार्वजनिक यातयात चल्दैछ । यसले गर्दा समुदायमा संक्रमणको जोखिम बढेको छ । जनघनत्व ठूलो भएको सहरी क्षेत्रमा यदि संक्रमण फैलियो भने त्यसलाई नियन्त्रण गर्न असम्भव प्रायः हुन्छ ।

१३. हालसम्म विदेशबाट आएका व्यक्ति तथा क्वारेन्टाइनमा रहेका व्यक्तिको मात्र परीक्षण गरिएको थियो । केहि दिन यता सरकारले समुदायमा परीक्षण सुरु गरेको छ । यदि सहरी क्षेत्रको २% जनसंख्यालाई मात्र परीक्षण गर्ने हो भने कोरोना संक्रमण बिस्तारको अवस्था थाहा हुन्छ । त्यो २% परीक्षण गर्दा यदि मापदण्ड सहि नभएमा त्यसले समुदायको प्रतिनिधित्व गर्दैन । अहिले काठमाडौं उपत्यकाका बैंक, मालपोत कार्यालय, अस्पताल, डिपार्टमेन्टल स्टोर आदिमा सानो संख्यामा परीक्षण सुरु भएको छ । यो मापदण्ड सुधार्नु जरुरी छ ।

अब समुदायमा परीक्षण गर्दा तरकारी तथा फलफूल बजार, मासु पसल, सुकुम्बासी क्षेत्र, भीडभाड धेरै हुने ठाउँ, व्यक्तिगत दूरी राख्न असम्भव साँघुरा गल्ली, भट्टीपसल, इँटाभट्टा, सफाइ तथा फोहोर व्यवस्थापनसँग सम्बद्ध पेशादेखि भरिया, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत जनचेतना कम भएका तथा असुरक्षित अभ्यास भएका बर्गमा परीक्षण गर्नु अत्यावश्यक छ । यसको साथै सहरका नाकामा होल्डिङ्ग सेन्टर बनाउने तथा भित्र प्रवेश गर्नेलाई परीक्षण गरेर मात्र भित्र्याउने ब्यबस्था गर्नुपर्दछ ।

१४. सार्वजनिक यातायातलाई यदि ब्यबस्थित र सुरक्षित बनाउन सकेनौं भने संक्रमण फैलिने जोखिम निकै बढ्नेछ । त्यस्तै सबैले अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, भौतिक दुरीको कायम गर्ने, हात धुने लगायतका अभ्यासलाई जीवनशैलीको रुपमा अपनाउन जरुरी छ ।

१५. भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ । त्यहाँ भएको अध्ययनले जनाए अनुसार अगस्तको तेस्रो हप्तामा भारत कोरोना संक्रमणको उच्चबिन्दुमा पुग्नेछ । त्यसपछि संक्रमितको संख्या घट्दै गएर सेप्टेम्बरको अन्त्यसम्म नियन्त्रणमा आउने बताइएको छ । भारतमा संक्रमण नियन्त्रणमा नआउने बेलासम्म हामीले सीमामा कडाइ गर्ने/शिल गर्ने तथा लामो दुरीका यातायात, स्कुल, कलेज, फ्लिम हल तथा अन्य भीडभाड हुने ठाउँ बन्द गर्नुपर्दछ ।

दैनिक १०–१५ हजार व्यक्तिको कोरोना परीक्षण गर्ने कामलाई अभियानको रुपमा सञ्चालन गर्ने, संक्रमितलाई आइसोलेसनमा राख्ने तथा स्वस्थ व्यक्तिलाई काम गर्न प्रोत्साहित गरेमा आगामी दिन सुरक्षित र आशालाग्दा हुनेछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *