कोरोना जोखिम न्युनिकरणमा राष्ट्रिय आविष्कार केन्द्रको भूमिकाः के–के हुँदैछ आविष्कार ? (भिडियाेसहित)

काठमाडौं । नेपाली नागरिकहरुको आशाका केन्द्र हुन् वैज्ञानिक तथा सामाजिक अभियान्ता महावीर पुन । विभिन्न आविष्कारहरु गरेर नेपालीहरुलाई नेपालमै केही गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दै आएका उनी अहिले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने चिन्तनमा छन् ।

कोरोना महामारीको यो समयमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुका लागि उनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न सुरक्षाका सामग्रीहरु उत्पादन गरिरहेको छ । यो केन्द्रले हालसम्म १० हजार थान पीपीई सेट बनाएर वितरण गरिसकेको संस्थापक पुनले जानकारी दिए । उत्पादन भएका सबै पीपीई वितरण भइसकेको उनले बताए ।

सबै तस्विरहरूः मकालु खबर/सागरबाबु भट्ट

विश्वमा नै कोभिड १९ नियन्त्रणका लागि आवश्यक उपकरण तथा सुरक्षा सामग्रीको अभाव हुने देखिएपछि काठमाडौंस्थित टिचिङ्ग अस्पताल र धरानस्थित वीपी कोइराला अस्पतालको प्रस्ताव पछि महावीर पुनले पीपीई निर्माणको काम सुरु गरेका थिए । पीपीई प्रयोगमा ल्याउनुअघि मेडिकल काउन्सिलका अध्यक्ष एवम् कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्य डाक्टर भगवान कोइरालाको टोलीले जाँच गरेको थियो । स्याम्पलले स्वीकृति पाएपछि पीपीई निर्माण अघि बढेको हो ।

कोरोना महामारीकै समय राष्ट्रिय आविष्कार केन्द्रले गरेको अर्को उत्कृष्ट काम रोबोट निर्माण पनि हो । कोरोना संक्रमित बिरामीको निकटमा रहेर काम गर्ने चिकित्सकहरुको सुरक्षाका लागि चिकित्सकहरुकै अनुरोध तथा सुझावमा यो रोबोट निर्माण गरिएको पुनले जानकारी दिए ।

उक्त रोबोटले कोरोना संक्रमित बिरामीलाई औषधी, पानी, खाना लगायत सामग्री उसको वार्डसम्म पुर्याउने उनको भनाइ छ । ‘अस्पतालको वार्डमा कोरोनाका बिरामीहरु राखिएको हुन्छ । बिरामीको निकट जाँदा चिकित्सकहरुमा पनि संक्रमणको जोखिम हुन्छ । सकभर टाढै बसेर बिरामीको सेवा गर्न सकियोस् भनेर रोबोट निर्माण गरिएको हो’, उनले भने ।

एउटा रोबोट निर्माणका लागि २० देखि २५ हजारसम्म लागत लाग्ने उनले जानकारी दिए । केन्द्रले उक्त रोबोट ११ दिन लगाएर बनाएको थियो । पुनका अनुसार सो किसिमका रोबोटहरु अहिले सैनिक अस्पतालमा प्रयोग भइरहेको छ । तराई क्षेत्रमा पनि पठाउने योजना तयारी छ ।

केन्द्रले अमेरिकाको स्ट्यानफर्ड विश्वविद्यालयको सहकार्यमा सस्तो लागतमा भेन्टिलेटर बनाउने योजना पनि अघि सारेको छ । अहिले साधारण भेन्टिलेटरको मूल्य २० लाख देखि ३०/४० लाखसम्म पर्ने पुनको भनाइ छ । केन्द्रले निर्माण गर्न लागेको भेन्टिलेटर भने निर्माण पुरा हुँदासम्म एक लाख जति मूल्य पर्न सक्ने उनले बताए ।

स्ट्यानफर्ड विश्वविद्यालयले भेन्टिलेटरको मोडेल पठाइसकेको छ । यसको काम सुरु भइसकेको पनि पुनले जानकारी दिए । निर्माण पुरा भइसकेपछि चिकित्सकको टोलीलाई देखाएर आवश्यक सुधार गरी स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएपछि मात्रै यो प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ ।

यी बाहेक केन्द्रले कोरोना महामारीको जोखिम न्युनिकरणमा सहायता पुर्याउनका लागि अन्य धेरै उपकरणहरु निर्माण गरिसकेको छ । थप योजनाहरु बन्दै पनि छन् । ती योजना अनुरुप सक्ने कामहरु केन्द्रले गरिरहेको उनको भनाइ छ ।

सामाजिक अभियान्ता पुनले यहाँसम्म आइपुग्दासम्म पनि सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक, प्राविधिक कुनैपनि किसिमको सहयोग नगरेको बताए । ‘सरकारले अहिलेसम्म केही सहयोग गरेको छैन यो केन्द्रको लागि । सरकारले केही गरिदेला भनेर आशा पनि राखेको छैन मैले’, पुनले भने, ‘मेरो भनाइ यति मात्रै हो कि सरकारले सिप भएका क्षमतावान युवाहरुलाई नेपालमै केही गर्न सक्ने अवस्था सिर्जना गरिदेओस् । रोजगारीको व्यवस्था गरिदेओस् । देशको विकास होस् ।’

महावीर पुनले आविष्कार केन्द्रकै लागि आफ्नो २८ रोपनी जग्गा समेत दान गरेका थिए । धेरै नागरिकले उनको लगनशीलता, राष्ट्रप्रेम, सेवाभाव, सिर्जनशिलताको प्रशंसा गरेपनि केहीले भने सहयोग मात्रै मागेको, काम नगरेको गुनासो पनि गर्ने गरेका छन् । यसमा के छ त महाविर पुनको धारणा ? के–के कामहरु भइरहेका छन् ? सरकारको सहयोग विना नै पुनले कसरी स्थापना गरे राष्ट्रिय आविष्कार केन्द्र ? कसरी सञ्चालन भइरहेको छ ? संस्थाको खर्च व्यवस्थापन कसरी हुन्छ ? यसको आम्दानीको स्रोत के हो ? अन्य योजना के–के बन्दैछन् ? पुरा जानकारीका लागि हेर्नुहोस् भिडियोः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *