आत्महत्या दर बढेकोमा पूर्वयुवराज्ञी हिमानी शाहको चिन्ता

 

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले कोरोना महामारी विच आत्महत्या दर बढेकोमा पनि चिन्ता जनाएकी छिन । मानसिक स्वास्थ्य सन्तुलन राख्न आवश्यक परेमा परामर्शदाता एवं स्वास्थ्यकर्मीसंँग परामर्श लिन पनि उनले आब्हान गरिन ।

हिमानी कोषले कोरोना भाइरसविरुद्धको अभियानका लागि विभिन्न संस्थालाई पीपीईसहितका सुरक्षात्मक सामग्री तथा बाढी–पहिरोसहितका विपदका प्रभावितहरुलाई राहत सामग्री वितरण गर्दै उनले नेपालमा लकडाउन पालना गर्दा गर्दै संक्रमित र मृतकको संख्या बढदै गएकोमा चिन्ता समेत प्रकट गरिन ।

दिन प्रतिदिनको खस्कदो अर्थतन्त्रवाट आम नेपाली नागरिकहरु रोग भोक र शोकले त्रसित हुनुका साथसाथै रोजिरोटीको समस्यावाट समेत आक्रान्त हुनु दुःखद भएको उनको भनाइ छ ।

कोरोनासँगै देशले कतै सलह कतै बाढीको सन्त्रास ब्यहोर्नु परेकोमा पनि शाहले चिन्ता जनाएकी छिन । कोरोना संक्रमणलाई मानिसको इच्छाशक्ति र प्रतिरोधात्मक क्षमताले पराजित गर्न सक्ने देखिएको भन्दै उनले विज्ञको भनाइला मनन गर्दै अनुशासित ब्यवहार र सकारात्मक सोचले सुरक्षित रहन पनि आब्हान गरिन । हिमानी शाहले कोरोना संक्रमण नियन्त्रणका लागि कोषले विपन्न र समस्यामा परेकाहरुलाई सहयोग दिने क्रम निरन्तर जारी राख्ने बताइन ।

कोषले पन्चकन्या स्कुल छाउनीका ५० विद्यार्थी, चितवनका ६० चेपाङ र केयर चाइण्ड काठमाडौंका १५ विद्यार्थीलाई लाई खाद्यान्न उपलब्ध गराएको छ । त्यस्तै रौतहटका आइसोलेसनका लागि १५ सय झुल, गोरखा नगरपालिकालाई ५ सय झुल र वाटर फिल्टर, कञ्चनपुर आइसोलेसनलाई पानी, लामखुट्टे धुप, सेनिटरी प्याड, जिवनजल लगायत सामाग्री उपलब्ध गराएको छ ।

केही स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएको छ । यसअघि पनि कोषले चिकित्सक, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई विभिन्न चरणमा सहयोग उपलब्ध गराएको थियो । कोषले प्रधानमन्त्री कोषमा समेत २ करोड सहयोग गरेको छ । राहत वितरण कार्यक्रममा पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मीदेवी शाह, शीतास्मा राज्यलक्ष्मीदेवी शाह, कोषकी सदस्य सचिव रेशमा राना, बोर्ड सदस्य डा। अपर्ना शाहसहितको उपस्थिति थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *