खैरहनी नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व संकलन

चितवन । चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०६६/७७ मा १४ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । गत वर्ष ३ करोड ३६ लाख ८ हजार रुपैयाँ लागत सहभागीता सहित १४ करोड २९ लाख २० हजार रुपैयाँ आम्दानी गरेको खैरहनी नगरपालिकाले जनाएको छ ।

लागत सहभागीता बाहेक भने १० करोड ९२ लाख ३२ हजार रुपैयाँ अर्थात् एक सय १ प्रतिशत राजस्व संकलन गर्न सफल भएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले जानकारी दिए । गत आर्थिक वर्षमा खैरहनीले ९ करोड २५ लाख रुपैया आन्तरिक श्रोतबाट संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा झण्डै १८ प्रतिशत बढी रकम संकलन गरेको मेयर चौधरीले बताए । लागत सहभागीता बाहेक एक सय १८ प्रतिशत राजस्व संकलन गरेको हो ।

जनप्रतिनिधि निर्वाचित भएको पहिलो वर्ष ३ करोड रुपैया आन्तरीक श्रोतबाट संकलन गर्ने लक्ष्य लिईएको थियो । यो तीन वर्षको अवधिमा झण्डै ७ करोड रुपैयाँ राजस्व वृद्धी भएको मेयर चौधरीले बताए । आर्थिक वर्ष २०७७/७८ मा खैरहनी नगरपालिकाले १० करोड ११ लाख रुपैयाँ आन्तरिक श्रोतबाट संकलन गर्ने अनुमान गरेको छ । ‘नगर समृद्धी बनाउने आधार मध्ये आन्तरिक श्रोतबाट संकलन हुने राजस्व पनि एक हो । प्रदेश, संघबाट बजेट घट्ने अवस्थामा आन्तरिक श्रोतले धान्न सक्ने बनाउनुपर्छ’, मेयर चौधरीले भने ।

आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढी घरजग्गा रजिष्ट्रेशनबाट ६ करोड १५ लाख ३२ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै एकिकृत सम्पत्ति करबाट १ करोड ६८ लाख ४३ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुर मार्फत ६८ लाख ५० हजार, घरबहाल कर मार्फत ४८ लाख, अन्य दस्तुरबाट ४० लाख ५८ हजार, सिफारीस दस्तुरबाट ३६ लाख २७ हजार रुपैयाँ संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शर्माले बताए ।

यसैगरी नक्सा पास दस्तुरबाट ३२ लाख, भुमिकर/मालपोत मार्फत् १५ लाख ९१ हजार, प्राकृतिक श्रोतको बाँडफाँडबाट १० लाख २९ हजार रुपैयाँ, नाता प्रमाणित दस्तुर मार्फत् ७ लाख ३० हजार, बहाल विटौरी कर मार्फत ७ लाख १८ हजार रुपैयाँ संकलन भएको शर्माले जानकारी दिए । खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाले आन्तरीक श्रोतमा अब्बल बन्दै जानु नगर समृद्धीकोे आधार रहेको बताइन् ।

व्यवसायी, नगरवासीको सहयोगकै कारण नगरपालिका आन्तरिक श्रोतमा मजबुद भएको भन्दै उपमेयर थपलियाले अझै कतिपय व्यवसायिक फर्महरु नगरपालिकामा दर्ता हुन बाँकी रहेको र उनीहरुलाई अभिप्रेरित गरिरहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *