जब बैठकमै सचिवहरूलाई सांसदले यसरी झपारे …

काठमाडौँ । आजको प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको बैठकमा सांसदहरूले राष्ट्रिय दलित आयोग र आदिवासी तथा जनजाति आयोगका सचिवलाई काम गर्न नसक्ने भन्दै झपारेका छन्। सांसदहरूले सचिवहरूलाई नभएका पदाधिकारीका लागि गाडी किन्न सक्ने तर वार्षिक प्रतिवेदन बनाउन किन नसक्ने भन्दै झपारेका हुन् ।

दलित आयोगले १४ वटा गाडी किनेको र आदिवासी जनजाति आयोगले ७ वटा गाडी किनेको बताइएको छ । तर गाडी भने सञ्चालनमा नरहेको पाइएको छ । पदाधिकारी नहुँदा गाडी सञ्चालनमा आएका छैनन् ।

दुवै आयोगमा हालसम्म पनि पदाधिकारी नियुक्त हुन सकेको छैन ।

कर्मचारीलाई काम नगरी झिँगा धपाएर बसेको भन्दै समितिकी सांसद गङ्गा चौधरीले टिप्पणी गरिन्। उनले सचिवहरूले काम गर्नुको सट्टामा गाडी किन्न लागेको भन्दै आलोचना गरिन् । यस्तै सांसद विमला नेपालीले पनि गाडी खरिद गर्ने तर दलितका विषयमा कुनै पनि कार्यक्रम नगरी बजेट सकाएको भन्दै आलोचना गरिन् ।

दलित आयोगका सचिव कृष्णप्रसाद धितालले खरिद गरिएका सामानको विवरण बैठकमा जानकारी गराएका थिए ।

त्यस्तै निमित्त सचिवको भरमा रहेको आदिवासी जनजाति आयोगका पवित्र प्रकाश शाहले आयोगमा पदाधिकारी नहुँदा कुनै पनि काम गर्न नसकिएको बताए । यस्तै संवैधानिक परिषद्लेनै आयोगमा पदाधिकारी नियुक्ति गर्न नसक्दा बजेट खेर गएको सांसद लक्ष्मी परियारको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *