झन् पेचिलो बन्दै नेकपा विवाद, आजको स्थायी कमिटि बैठकले के गर्ला ?
काठमाडौं । पटक-पटक स्थगित हुँदै आएको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । पछिल्लो पटक एक साताका लागि स्थगित गरिएको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
आन्तरिक विवाद समाधानका लागि हिजो वरिष्ठ नेता माधव नेपालसहित दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक बिना निश्कर्ष टुंगिए पछि आजको बैठक अन्योलताकाबीच सञ्चालन हुने भएको हो । छलफलमा कुनै सहमति नभए पनि आजको बैठक नरोकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
बैठकमा नेताहरुले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाइरहेका छन् । बैठकमा पार्टी भित्रको विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउने प्रस्ताव पेश हुने सम्भावना रहेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड–माधव नेपाल खेमाको माग छ । तर ओलीले उक्त माग लत्याएका छन् ।
झन् पेचिलो बन्दै विवाद
सत्तारुढ नेकपामा पछिल्लो समय विवाद झन् झन् पेचिलो बन्दै गइरहेको छ । बिहीबार बालुवाटारमा भएको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच पनि कुनै सहमती निस्किन नसकेपछि यो विवाद अब केन्द्रीय कमिटीसम्म पुग्ने अनुमान गर्न थालिएको छ ।
किनकि खुमलटारमा प्रचण्डसँग छलफलमा जुटेका नेकपाका नेताहरुले अब केन्द्रीय कमिटी बैठक बोलाउनुभन्दा अरु विकल्प नभएको बताउन थालेका छन् । ‘यो पार्टीको विवाद भएकाले सकेसम्म धेरै साथीहरुबीच यो प्रसंग लगेर त्यहाँबाट नै समस्या समाधान गर्नु पर्ने हुन्छ,’ खुमलटारमा बिहीबार साँझ बैठकमा उपस्थित नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘अब अहिलेको विवाद नेकपा केन्द्रीय कमिटीमा पुग्ने भएको छ, त्यहाँबाट नै समाधानको अपेक्षा पनि गरिएको छ ।’
बिहीबार बालुवाटारमा भएको बैठक र त्यसपछि खुमलटार र बालुवाटारमा भएको भेटघाटहरुका कारण नेकपामा जारी विवाद अब नयाँ मोडमा पुगेको छ । यो विवादले अब कुन रुप लिने छ भन्ने कुरा आजका लागि बोलाइएको स्थायी कमिटी बैठक सकिएपछि अनुमान गर्न सकिनेछ ।