यी साना नदीमा आकस्मिक बाढी आउन सक्छ, सकर्त रहौं

काठमाडौं । गएरातिदेखि देशका अधिकांश भागमा वर्षा भइरहेको छ । मध्यम तथा भारी वर्षाका कारण साना नदी तथा खोलमा पनि आकस्मिक बाढी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले दिएको जानकारी अनुसार पछिल्लो ६ घन्टामा ताप्लेजुङ, पाँचथर, धनकुटा, झापा, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यकामा वर्षा भइरहेको छ । त्यस्तै धादिङ, मकवानपुर, नवलपरासी, तनहूँ, लमजुङ, गोरखा, कास्की, दाङ, कैलाली, कञ्चनपुर, डोटीका केही स्थानमा पनि पानी परिरहेको छ ।

खासगरी मध्यभागमा भारी वर्षा भइरहेको छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, नुवाकोट, नवलपरासी, तनहूँ, लमजुङ, गोरखा, कास्की, कपिलवस्तु, दाङ, कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरामा भारी वर्षा भइरहेको छ । अन्य ठाउँमा मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार हाल विष्णुमती, मनोहारा, हुनमन्ते, नख्खु लगायत बागमतीका अन्य साना सहायक नदीहरूमा बहाव बढ्दो छ, साना नदी र नालाको पानी किनारको सडक सम्म आउन सक्छ । त्यसैले सडक किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै सप्तरीको राजबिराजलगायत सुनसरी र सिराहको भारतीय सीमा आसपास अति भारी बर्षा मापन गरिएकाले सीमा आसपासको डुबान भईरहने होचा स्थान र नदीतटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि भनिएको छ । उता कैलाली र कञ्चनपुरमा पनि भारी बर्षा मापन गरिएकाले मोहना, खुट्टिया, स्यउली,चौधर लगायत नदीमा सतर्कता तह आसपासको बाढी आउन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *