मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

रहेनन् साहित्यकार ‘लाटो साथी’

काठमाडौं । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार डा. विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ ।

विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको शनिबार आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो ।

उनी क्यान्सर रोगबाट पीडित थिए । संस्कृत, नेपाली र अवधि भाषामा सशक्त कलम चलाउने डा. आत्रेयका ‘हनुमदयन’ र ‘वैदेही’ महाकाव्य, ‘ढाक्रे’, ‘कपिलवस्तु’ लगायत खण्डकाव्य, ‘हामीभित्रका म’, ‘सोमतीर्थ’, ‘सुपा देउराली’, ‘कपिलधाम’, ‘शान्ताकुञ्ज’, ‘पाणिनी’, उपन्यासलगायत तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

संस्कृत भाषामा लेखिएको ‘हनुमदयन’ महाकाव्यका लागि उनले विसं २०७५ को जयतु संस्कृतम् पुरस्कार प्राप्त गरेको जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेलले जानकारी दिए ।

‘कपिलधाम’ उपन्यासमा बुद्ध जन्मस्थल लुम्बिनी एवं कपिलवस्तुको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका साथै ऋषि कपिलका विषयमा पनि प्रकाश पारेको भूमिका लेखक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीलले बताए ।

सरल भाषामा उनले कपिलवस्तुको महत्व उपन्यासमार्फत पाठकसमक्ष पस्किएका छन् । भाषा, साहित्यका साथै धर्म, अध्यात्म, इतिहास, शिक्षालगायत क्षेत्रमा उनको रुचि थियो ।

घरपरिवारमा संस्कृतमै वार्तालाप गर्ने साहित्यकार आत्रेयले लामो समय नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गरेका थिए । उनले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्यसमेत रहेर काम गरेका थिए ।

आजै उनको पशुपति आर्यघाटमा वैदिक हिन्दू विधिअनुसार अन्त्येष्टि गरिएको छ । रासस

प्रतिकृयाहरु
Loading...