आज साउने सोमबारः व्रतमा यी चीज नखाएकै राम्रो, यस्तो छ पूजा विधि

काठमाडौं । भगवान शिवको प्रिय महिना मानिने साउन हिन्दु महिलाहरुले विशेष रुपमा मनाउने गर्छन् । साउन लागेदेखि नै हरियो, पहेंलो पहिरनमा सजिने महिलाहरु यो महिनाको हरेक सोमबार व्रत बस्ने गर्दछन् ।

विवाहिता महिला पतिको आयु वृद्धिका लागि र अविवाहिता किशोरी राम्रो आचरणको अर्थात् सुयोग्य पति पाउँ भनि व्रत बस्ने गर्दछन् । त्यसैले पनि अन्य सोमबार भन्दा साउन महिनाको सोमबार देशभरका शिवालयहरुमा व्रतालुहरुको भीड लाग्ने गर्दछ ।

तर यो वर्ष भने मन्दिरहरुमा भीड हुने अवस्था छैन । कोरोना भाइरस (कोभिड १९)संक्रमणको जोखिम न्युनिकरणका लागि चैत्र ११ गतेदेखि नै बन्द भएका धार्मिक स्थलहरु खुलिनसकेका कारण घरैमा पूजापाठ गर्नुपर्ने बाध्यता छ ।

साउन महिनाको यस्तो छ महत्व
भगवान शिवजीको प्रिय महिना साउन महिना हो । त्यसमाथि वर्षको जुनसुकै सोमबारलाई शिवजीको बार मानिन्छ । त्यसकारण साउन महिनाको सोमबारको अझै महत्व रहेको ज्यो. पण्डित नारायण प्रसाद दुलाल बताउँछन् ।

भगवान शिवजीलाई मात्र नभएर अन्य भगवानको पनि प्रिय अर्थात् दिन विशेषमा व्रत बस्दा सकारात्मक ऊर्जा प्राप्त हुने उनको भनाइ छ । ‘साउन महिना शिवजीको प्रिय भएका कारण यो महिनाको सोमबार पूजापाठ, आराधना, दर्शन, स्तुति, जलदान, जप, ध्यान गर्दा सकारात्मक ऊर्जा प्राप्त हुन्छ’, ज्यो. दुलालले भने ।

साउनमा किन लगाउने हरियो, पहेँलो चुरा र पहिरन ?
साउन महिनामा अहिले देखासिकीको चलन पनि चलिआएको देख्न सकिन्छ । शास्त्रमा साउन महिनामा हरियो र पहेँलो लगाउनुपर्छ भनेर कहीँकतै पनि उल्लेख नभएको पनि ज्यो. दुलालले बताउँछन् ।

उनी भन्छन्– ‘साउन महिना हरियो, प्रकृतिमय हुन्छ । प्रकृतिलाई साथ दिएर भगवान शिवको आराधना गरिएको मात्रै हो । शास्त्रीय कुरा यो होइन । पहेँलो चाहीँ शिवजीको प्रिय रंग हो ।’

व्रत बसेर श्रीमानको आयु लामो हुन्छ ? सुयोग्य वर पाइन्छ ?
व्रत गरिसकेपछि केही न केही फलको अपेक्षा अवश्य पनि राखिन्छ । कुन व्रत गर्दा कस्तो खालको फल पाइन्छ भन्ने हुन्छ । साउन महिनाको सोमबारको व्रत गरियो भने अविवाहितालाई राम्रो, सुयोग्य पति प्राप्त हुन्छ । विवाहिताहरुले आफ्नो श्रीमान या श्रीमतीको आयु, आरोग्य, ऐश्वर्य वृद्धि होस्, शुभ होस् भन्नको लागि गरिने व्रत हो साउने सोमबार । अपेक्षा पनि यही राखिने र व्रत गरिन्छ ।

यसका साथै यो व्रत गर्दा यो लोकमा रहुन्जेलसम्म सुख, शान्ति, ऐश्वर्य, कृति, लाभ, विजय, मनोवान्छित फल प्राप्त हुने र पछि कालान्तरमा परलोक गइसकेपछि शिवधाममा पुगिने, कैलाशमा वास हुने भएका कारण पनि शिव भगवानको उपासना साउन महिनामा विशेष रहेको ज्यो. पण्डित नारायण प्रसाद दुलालले बताए ।

व्रतमा यी चीज नखाएकै राम्रो
व्रत बसिसकेपछि सकभर पेट खाली हुनुपर्छ । पेट खाली भयो भने हामीले गरेको कार्यबाट भगवान चाँडै प्रशन्न हुने र हामीलाई शुभफल चाँडै नै प्राप्त हुने ज्या दुलाल बताउँछन् । यद्यपी रोगी अथवा औषधि खानुपर्ने, या खाना नखाइ केही गर्नै नसक्ने अवस्था छ भने खान सकिने उनको भनाइ छ ।

‘पेट भारी बनाएर, धेरै खाएर अथवा फलाहार भन्दैमा अत्यधिक खाएर आरधाना गरियो भने त्यो राम्रो मानिदैन । शरीरले साथ दिँदादिँदै पनि टन्न खाएर व्रत बस्यौँ भने दोष लाग्छ । सामान्य रुपमा फलाहार भने गर्न सकिन्छ’, उनले भने ।

उनका अनुसार व्रत बसिसकेपछि व्रतको पारायण पनि गर्नुपर्छ । एक टाइम खाना खाने, अथवा घाम अस्ताएपछि खाने भन्ने हुँदैन । शास्त्रीय विधान हेर्ने हो भने व्रत बसेको दिन बिहान, बेलुकी, दिउँसो कुनैबेला पनि खाना खानु राम्रो मानिदैन ।
व्रतको भोलिपल्ट बिहान असहाय, दरिद्र, दिनदुखी, तीनीहरुलाई केहि अन्नदान गरी बल्ल आफूले खानुपर्छ । त्यसपछि मात्रै फल प्राप्ति हुने उनले बताए । वैज्ञानिक हिसाबमा पनि व्रत बस्नु स्वास्थ्यको लागि राम्रो हुने उनको भनाइ छ ।

यस्तो छ पूजा विधि
शिवजीलाई धेरै तामझाम गर्नुपर्दैन । शरीर शुद्ध बनाएर दही, घ्यू, चीनी, महले अभिषेक स्नान गराउँदैमा पनि भगवान प्रशन्न हुनुहुन्छ । यसका साथै बेलपत्र, भाङ, धतुरो, धतुरोको फुल, पारिजातको फुल, यी शिव भगवानका प्रिय फल र फुल हुन् । यी फल र फुल प्रयोग गरेर पूजा–आराधना गर्दा शिवजी प्रशन्न हुने ज्यो. दुलालको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *