यूएई : मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको सफल प्रक्षेपण

काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) को पहिलो ऐतिहासिक मिशन अन्तर्गतको एक यान मङ्गल ग्रहतर्फ अघि बढेको छ ।

जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ । यसअघि प्रक्षेपणका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित गरिएको थियो ।

सन् २०२१ को फेब्रुअरीमा होप मङ्गलग्रह पुग्नेछ। त्यो त्यही मिति हो जतिबेला युएई स्थापनाको ५० औ वार्षिकोत्सब हुन्छ । यही महिना मङ्गलग्रहमा जान लागेका तीनवटा मिशनमध्ये यूएईको होप मिशन एक हो । अमेरिका र चीन दुवै आफ्नो मिसन पठाउन अन्तिम चरणको तयारीमा छन् ।

यूएई किन मङ्गल जाँदैछ ?
अन्तरिक्षयानको नमुना र निर्माण दुवैमा यूएईको सीमित अनुभव छ । तर पनि अमेरिका, रुस, युरोप र भारतले मात्रै सफलता हासिल गरेको काममा उसले प्रयास गर्दैछ ।

यसले चुनौती लिने आँट गर्नुपर्छ भन्ने एमिरेट्सको महत्त्वाकाङ्क्षा देखाउँछ । अमेरिकी विज्ञको अनुभवी परामर्श पाएका यूएईका इन्जिनियरहरूले जम्मा छ वर्षमा एउटा परिष्कृत यान उत्पादन गरेका छन् ।

र यो भूउपग्रह मङ्गल ग्रहको कक्षमा पुगेपछि यसले ग्रहको वातावरणले कसरी काम गर्छ भन्ने ताजा विवरणहरूको खुलासा गर्नेछ । उक्त ग्रहको सतहभन्दा झण्डै २२ हजार देखि ४४ हजार किलोमिटर माथि रहेर यो भूउपग्रहले अध्ययनहरू गर्नेछ ।

खासगरी, वैज्ञानिकहरूले मङ्गलग्रहमा हावा र पानी के कारणले कम भयो भन्ने बुझाइमा थप जानकारी दिने बताएका छन् । एमिरेट्स र पूरै अरब क्षेत्रमा होपले युवाहरूलाई उच्च शिक्षा र विज्ञानमा आकर्षित गर्ने विश्वास गरिएको छ ।

तेल र ग्यासमा निर्भर रहेको देशलाई त्यसबाट माथि उठाएर ज्ञानमा आधारित अर्थतन्त्र बनाउने थुप्रै परियोजनामध्ये भूउपग्रह एउटा सङ्केतका रुपमा रहेको यूएई सरकारले बताएको छ । तर मङ्गलग्रह भएकोले खतरा पनि निकै धेरै छ ।

उक्त ग्रहमा पठाइएका सबै मिशनमध्ये आधाजसो विफल भएका छन् । होप प्रोजेक्टका निर्देशक ओमरान शराफले खतराहरूको ख्याल गर्दै आफ्नो देशको प्रयास सही रहेकोप्रति आश्वस्त पारे । “यो अनुसन्धान र विकासको मिशन हो र विफलता एउटा विकल्प हो,” उनले बीबीसी न्यूजलाई भने । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *