काठमाडौं । टेलिभिजनको प्रत्यक्ष समाचार वाचनमा कहिलेकाहीँ निकै अप्ठेरा तथा अनौठा घटनाहरु आउँछन् ।
भर्खरै मात्र युक्रेनमा एक महिला समाचार बाचिकाले यस्तै अकल्पनीय स्थितिको सामना गर्नुपरेको छ । टेलिभिजनमा प्रत्यक्ष प्रशारणका क्रममा समाचार वाचन गरिरहेको बेला उनको एउटा दाँत फुस्कियो र त्यो दात उनले आफ्नो हातमा लिइन् र नडगमगाई समाचार बाचन गरेको दृश्यले दर्शकहरु अचम्मित बनेका छन् ।
समाचार पढिरहँदा उनको अगाडि पट्टीको माथिल्लो एउटा दाँत खुस्कियो । दाँत उखेलिएपछि उनले मुखसम्म हात पुर्याएर उक्त दाँत हातमा लिइन् ।
एक्कासी दाँत फुस्किँदा समेत उनी अडिग भएर समाचार पढिरहँदा उनको अनुहारमा कुनै बदलाव देखिएन । ती समाचार बाचिका पत्रकार मारिच्का पाडाल्को हुन् ।
उनले उक्त घटनाको भिडियो आफ्नै इन्स्टाग्राममा पोष्टाएकी छिन् । उनले लेखेकी छिन्, ‘यो मेरो समाचार वाचिकाको रुपमा २० वर्ष काम गर्दाको सबैभन्दा अनौठो अनुभव हो ।’
आफू दाँत झर्दासमेत कुनै आश्चर्य नमानिकन स्वभाविक रुपमा समाचार पढिरहेको देख्दा उल्टै आफ्ना साथीहरु छक्क परेको र कतिपय साथीहरुले ‘तिमी त दिनहुँ आफ्नो दाँत झर्छजस्तो पो गर्यौ,’ भनेर भनेको समेत उनले लेखेकी छिन् । १० वर्षअघि आफ्नी छोरीले खेलाइरहेको घडी आफ्नो दाँतमा ठोक्किँदा कमजोर बनेको दाँत अहिले आएर समाचार पढिरहेको बेला खुस्किएको हो ।’
उनको समाचार वाचन गर्दै गर्दाको भिडियो अहिले सोसल मिडियाहरुमा भाइरल बनेको छ । र धेरैको उनको प्रशंसा पनि गरेका छन् ।