बाढी प्रभावित परिवारलाई रेडक्रसको सहयोग

काठमडौं । मनसुनी वर्षाको कारण बाढी पहिरोले जनधनको क्षति भइरहेको र कोभिड १९ले समेत आक्रान्त पारिरहेको अवस्थामा रेडक्रस सञ्जालले देशभरि प्रतिकार्य तीव बनाएको छ ।

सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोट लगायत १८ वटा पहिरो अति प्रभावित जिल्लाहरूका दुईसय पच्चीस परिवारलाई नेपाल रेडक्रसले राहत सामग्रीको पूर्ण सेट उपलब्ध गराएको छ । वितरित सामग्री सेटमा तार्पोलिन –१, कम्बल–२, महिलाको सारी– १, सिलाउने कपडा–१४.५ मिटर, भाँडाकुँडा सेट–१, बाल्टी–१ र नाइनलको डोरी १० मिटर लगायतका सामग्री छन् । त्यसरी वितरित सामग्री सेटको प्रतिसेटको मूल्य रु. १० हजार रहेको छ ।

“अहिलेसम्म २५ लाख मूल्य बढीको सामग्री प्रत्यक्ष प्रभावित परिवारलाई उपलब्ध गराइएको छ र ५ हजार परिवारसम्मलाई सहयोग गर्ने तयारीमा छौँ । नेपाल रेडक्रसका विपद् व्यवस्थापनका निर्देशक मोना अर्यालले बताए।” उनले भने ‘ नेपाल सरकारसमेतको समन्वयमा बनाइएको मनसुन पूर्व तयारी योजना मुताबिक हामीले उद्धार, राहत सेवा पुर्‍याइरहेका छौँ ।’

smart

यसका अतिरिक्त तत्कालको आवश्यकता अनुसार ५८२ वटा तार्पोलिन, ३९२ वटा कम्मल, १५ सेट भाँडाकुँडा र २ वटा टेन्ट प्रभावितलाई उपलब्ध गराइएको छ ।

बाढी पहिरोले आजसम्म कम्तीमा दुइहजार चार सय अठतीस परिवार विस्थापित भएको र ३ हजार ३ सय ५७ परिवारलाई गम्भीर असर परेको रेडक्रसको प्रारम्भिक अनुमान छ । त्यस्तै प्रारम्भिक प्रतिवेदन अनुसार चार सय पन्ध्र घर पूर्णक्षती भएका र पाँच सय पैँसट्ठी घरमा आंशिक क्षति पुगेको नेरेसोका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

बाढी प्रतिकार्यको लागि ३४ वटा टोली देशभरि परिचालित भएका छन् ।

यसैबिच हिजो सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले विस्थापित भएका २० परिवारलाई तत्कालै राहत सामग्री उपलब्ध गराइएको छ । त्यस्तै जाजरकोटको बारेकोटमा पनि पहिलो चरणको राहत सामग्री पुर्‍याइएको छ ।

निर्देशक पौडेलले भने,‘रेडक्रसका निकायहरूले स्थानीय स्रोत परिचालन र स्थानीय तहसँग गरेको समन्वयमार्फत पुर्‍याएको सेवा अतुलनीय छ । म्याग्दीको पश्चिमी भेगमा गएको पहिरोमा सडक अवरुद्ध हुँदा स्थानीय पहलमा हेलिकप्टरको प्रयोग गरी प्रभावित क्षेत्रमा सामग्री पुगेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *