प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार तयारी

काठमाडौं । मुलुकमा कोभिड-१९ का जटिल बिरामीहरूमा छिट्टै प्लाज्मा थेरापीको माध्यमले उपचार गर्ने प्रक्रिया सुरु हुने भएको छ । कोरोनाले जटिल स्वास्थ्य स्थिति भएका बिरामीमा प्लाज्मा थेरापी उपयोग गरिनेछ ।

यसका लागि प्रयोगात्मक रूपमा कन्वलेसेन्ट प्लाज्मा थेरापी अर्थात् ‘स्वास्थ्यकारी प्लाज्मा उपचार’ पद्धति थाल्ने अवधारणा अघि सारिएको हो । ‘राजधानीलगायत मुलुकभरका १६ वटा अस्पतालको माध्यमले प्लाज्मा थेरापी प्रक्रिया सुरु गर्ने सोच छ,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवाली भन्छन्, ‘हामी तयारी अवस्थामा छौं, छिट्टै प्लाज्मा थेरापी प्रक्रिया सुरु गर्नेछौं ।’

परिषद्ले एक साताअघि नै कोरोनाबाट निको भएकाहरूलाई प्लाज्मा दान गर्न आग्रह गरेको थियो । निको भएका केही बिरामीले स्वेच्छाले प्लाज्मा दान गर्न मनसायसमेत प्रकट गरेका थिए । ‘अब हामीले कोरोना संक्रमण भई निको भएका बिरामीहरूको सूचीअनुसार उहाँहरूसँग सम्पर्क गरेर प्लाज्मा दान गर्न आग्रहसमेत गर्नेछौं,’ डा. ज्ञवालीले भने, ‘निको भएको तीन सातासम्म प्लाज्मा दान लिन मिल्छ ।’

मुलुकमा हालसम्म ११ हजार ८ सय ६८ जना कोरोना संक्रमणपछि निको भइसकेका छन् । प्लाज्मा दान सामान्य रक्तदानजस्तै रहेको औंल्याउँदै डा. ज्ञवाली भन्छन्, ‘यो प्रक्रियामा हामी तपार्इंले रक्तदान गरेर फर्किने जस्तै हो, यसमा कुनै जटिलता हुँदैन ।’ यो प्रक्रियामा कोरोनाबाट निको भइसकेकाहरूको प्लाज्मा लिएर गम्भीर बिरामीलाई रगत चढाएजस्तै स्थानान्तरण गरिनेसमेत उनी बताउँछन् । थेरापीको उपयोग कोरोनाले सिकिस्त अवस्था भएकाहरूलाई भाइरसबाट प्रतिरोधी क्षमता विकसित गर्नका लागि गर्न सकिन्छ ।

‘स्वास्थ्य मन्त्रालयले प्लाज्मा थेरापीबारे निर्देशिका धेरै अघि नै बनाइसकेको हो,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘प्लाज्मा थेरापीका लागि सबै तयारी भइसकेको छ ।

प्लाज्मा रगतको तरल (पहेंलो) खण्ड हो । यो रगतको कुल मात्राको करिब ५५ प्रतिशत हुन्छ । यसमा भाइरस, ब्याक्टेरिया आदिले गर्दा हुने संक्रमणलाई मार्ने एन्टिबडीको उच्च सघनता हुन्छ । प्लाज्मा दान प्रक्रिया नियमित रक्तदानजस्तै हो । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ का आधारमा शरीरमा कुनै भाइरसविरुद्घ प्रतिरोध क्षमतालाई विकसित गर्ने प्रक्रिया हो ।

कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफैं त्योसँग लड्न थाल्छ र त्यो भाइरसलाई समाप्त पार्न ‘एन्टिबडी’ बनाउँछ । जसरी एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल हुन्छ, बिरामी पूर्णरूपले निको हुन्छ । कोरोनाको उपचारका लागि प्लाज्मा थेरापी सबैभन्दा पहिले चीनमा प्रयोग गरिएको थियो । डा. अधिकारीका अनुसार छिमेकी मुलुक भारतसहित केही राष्ट्रहरूमा यो थेरापीको परिणाम उत्साहजनक देखिएको छ । निको भएका बिरामीले प्लाज्मा दान धेरै पटक गर्न सक्छन् । सातामा दुई पटकसम्म प्लाज्मा दान गर्न सकिन्छ । एक जना दाताले ४ सय मिलिलिटर प्लाज्मा दान गर्न सक्छन् ।

कोरोना निको भएका एक व्यक्तिको प्लाज्मा दुई जना बिरामीलाई निको हुन उपयोगी हुन्छ । एक व्यक्तिको उपचारका लागि २०० मिलिलिटर प्लाज्मा पर्याप्त हुने डा. अधिकारी बताउँछन् । प्लाज्मा थेरापीको प्रभाव संक्रमित व्यक्तिमा भएका एन्टिबडी उसको रगतको प्रवाहमा हुन्छ । यसैले खोपको दाँजोमा प्लाज्मा थेरापीद्वारा दिइएको सुरक्षा अस्थायी हुने पनि उनले बताए ।

विशेषज्ञहरूका अनुसार कोभिड–१९ विरुद्घ प्रभावकारी खोप नबनेसम्म प्लाज्मा थेरापी कोरोना भाइरस संक्रमित बिरामीका लागि प्रभावकारी उपचार साबित हुन सक्छ । चिकित्सा क्षेत्रमा पहिले पनि सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स), स्वाइन फ्लुलगायतका थुप्रै रोगको उपचारका लागि प्लाज्मा थेरापीको उपयोग भइसकेको छ । कान्तिपुरबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *