कांग्रेस महामन्त्री कोइराला भन्छन्– राष्ट्रपतिका कारण राजतन्त्र नै ठीक भन्ने जमात बढ्यो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र नै ठीक भन्ने जमात बढेको बताएका छन् ।
बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औं बिपी स्मृति दिवसका अवसरमा आयोजना गरेको अर्चुअल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । राष्ट्रपति भण्डारीको क्रियाकलापले उनी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको उनको भनाइ छ ।
त्यस्तै महामन्त्री काेइरालाले नेपाली कांग्रेस र मुलुक अब बीपी कोइरालाले देखाएको राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनको बाटोमा हिँड्न आवश्यक रहेको पनि बताए । कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि म होइन हामी भनेर लाग्नुपर्ने उनले स्पष्ट पारे ।
‘कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने म होइन हामी भनेर लाग्नुपर्छ । राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुन्छ । अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले सभापति देउवा इतरको पक्ष एक ठाँउमा उभिनुपर्छ।’