‘अहिलेका कम्युनिस्ट नेताहरुमा राष्ट्रियता देखिएन’

काठमाडौं । अहिलेका राजनीतिक नेतृत्वहरुमा राष्ट्रियता कमजोर हुँदै गएको तथा देश र जनताका लागि भन्दा पनि व्यक्तिगत स्वार्थका लागि राजनीति गर्ने प्रवृत्ति बढ्दै गएको कांग्रेस नेता रामहरि खतिवडाले बताएका छन् ।

भक्तपुर कांग्रेस जिल्ला कार्य समिति तथा नेपाल तरुण दलले ३८ औं वीपी स्मृति दिवसको अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नेता खतिवडाले कम्युनिस्ट राजनीतिक नेताहरुमा राष्ट्रियता नै नभएको समेत बताए । ‘अहिलेका नेताहरु सत्तामा पुगेपछी पहिले विदेशीलाई भेट्न जान्छन् । खासगरी कम्युनिस्ट शासकहरुले देश र जनताका लागि राजनीति गरेको पाइएन ।’ नेता खतिवडाले भने ।

स्वर्गिय विपी कोइरालाको राजनीतिक योगदानको चर्चा गर्दै उनले वीपीको जस्तो राष्ट्रियताको भावना भएका नेताहरु विरलै जन्मने जिकिर गर्दै वीपीकै सिद्धान्तले कांग्रेस चल्नुपर्ने पनि बताए । ‘कांग्रेसभित्र स्वर्गिय वीपी कोइरालाको विचार र सिद्धान्त मान्नेहरु भन्दा व्यक्तिगत स्वार्थ पुर्तिको लागि राजनीति गर्नेहरु हावी हुँदा कांग्रेसको राजनीति कमजोर भयो, जनता र राष्ट्रीय हितका लागि कुरा गर्दा वीपीले अंगालेको सिद्धान्त अझैपनि मुलुक र जनताको लागि अपरिहार्य छ ।’ खतिवडाले भने ।

उनले जसरी एउटा रुखले पशुपन्छी, मानव सबैलाई समान व्यवहार गरी छहारी प्रदान गर्दछ, नेपाली कांग्रेसले पनि कुनै जाति वर्ग समुदायलाई मात्र नहेरी समग्र मानव समुदाय र नेपाली जनतालाई समेट्ने बताए । ‘जसरी एउटा रुखले पृथ्वीका सबै प्राणी, मानव समुदायलाई छहारी प्रदान गरी अक्सिजन दिन्छ, त्यसरी नै नेपाली कांग्रेसले कसैलाई भेदभाव गर्दैन ।’ उनले भने ।

नेता खतिवडाले देश र जनताका लागि स्वर्गिय वीपी कोइरालाले आफुमा लागेको विभिन्न आरोपलाई चिर्दै राष्ट्रियताको रक्षार्थ राजनीति गरेको स्मरण गरे । वीपीले तत्कालिन अवस्थामा राजा, पञ्च, कम्युनिस्ट सबैलाई साझा ठानेर भारतबाट राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किए जस्तो बर्तमान अवस्थामा मुलुकको राष्ट्रियता संकटमा पर्दा कम्युनिस्टहरुले वीपीको जस्तो समान धारणा बनाउन नसकेको आरोप लगाए ।

उनले अहिलेका कम्युनिस्टहरुलाई जनताले दिएको जनमत नपचेको समेत दावि गरे । ‘कम्युनिस्टहरुलाई घिउ नपचे जस्तो भयो, देश र जनता संकटमा परेको बेला सत्तामा रहेर पनि कुनी के रुवाई जस्तो गरे ।’ उनले भने । नेता खतिवडाले देश र जनताका लागि कम्युनिस्टहरुले राजनीति गरेको हो भने एकचोटी मातृभूमीको माटो समातेर सोच्नु पर्ने बेला आएको तर्क गरे ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाले जसरी पञ्चायतका पालामा स्वर्गिय वीपी कोइरालाले देश र जनताका लागि इमान्दार भएर राजनीति गरेका थिए, अहिलेका नेताहरुले पनि सोहि अनुसार काम गर्नुपर्ने सुझाउँदै वीपीको सिद्धान्तबाटै कांग्रेसले लक्ष्य पुरा गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *