मेरो जीवन निजी क्षेत्रको आत्मसम्मान र स्वाभिमानका लागिः चन्द्रप्रसाद ढकाल
चन्द्रप्रसाद ढकाल नेपालको निजी क्षेत्रका एक प्रतिष्ठित व्यवसायी हुन् । उनले नेपाल उद्योग वाणिज्य महासंघको यही साउन २६ र २७ गते ५४ औं निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा उमेरद्धारी घोषणा गरेका छन् ।
विसौं वर्ष देखि विभिन्न व्यवसायीक क्षेत्रमा हात हालेर सफलता हात पारेका ढकालले महासंघलाई सबै उद्योगी व्यवसायीको साझा संगठन बनाउनका लागि आफ्नो उमेरद्धारी भएको बताएका छन् । महासंघको निर्वाचनमा केन्द्रीत रही मकालु खबरका लागि राजाराम न्यौपानेले गरेको कुराकानीको संक्षेप ।
नेपाल उद्योग वाणिज्य महासंघको चुनावी अभियान कसरी अगाडि बढिरहेको छ ?
हामीले महासंघको निर्वाचनको मिति तोक्दा यस्तो अवस्थामा पनि कसरी निर्वाचन हुन्छ र ? भनेर प्रश्न गर्ने धेरै थिए । साउन २६ र २७ मा निर्वाचन हुनै सक्दैन, फेरि सर्छ भन्नेखालका टिप्पणी पनि सुनिएकै हो । यद्यपि, सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै अब महासंघको निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल हटेको छ ।
लकडाउन अन्त्य भएसँगै हामीले अब सुरक्षित भएर र सामाजिक दूरी कायम गरेर निर्वाचन गर्न बाटो खुलेको छ । निर्वाचनका लागि सचिवालयले पनि आफ्नो काम गरिरहेको छ । हामी पनि आफ्नो तयारीमा लागिरहेका छौं । उपाध्यक्षहरुको टिम घोषणा गरिसकेका छौं र अब सदस्यहरुको टिम बनाउने तथा हाम्रो टिमलाई आम व्यवसायीको साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्ने तयारीमा जुटेका छौं ।
महासंघको विगतको निर्वाचन र अहिलेको निर्वाचनमा के फरक छ ?
यस वर्षको निर्वाचन नियमित समयमा हुन सकेन । महासंघमा वैधानिक संकट नै आउँछ कि भन्ने चिन्ताका बीच हामीले लकडाउनकै अवधिमा पनि निर्वाचनको घोषणा गर्यौँ । कार्यसमितिबाट निर्णय गराएर मैले नै यसको जिम्मेवारी बोक्नेगरी निर्वाचनको मिति तय गरेका थियौं । हामीले केही जोखिम मोलेरै भए पनि महासंघलाई वैधानिकताको संकट हुन नदिन र मुलुकका अन्य क्षेत्रका लागि उदाहरणीय रुपमा प्रस्तुत हुनका लागि निर्वाचनको निर्णय गरेका थियौं र यसमा सफल पनि भएका छौं ।
विगतभन्दा एक त परिस्थिति अलि फरक छ भने अर्कोतर्फ हामी दोस्रोपटक वरिष्ठ उपाध्यक्षको प्रत्यक्ष निर्वाचन गरिरहेका छौं । कोरोना संकटले मुलुकमा अकल्पनीय संकट उत्पन्न गरिरहेको परिस्थितिमा निजी क्षेत्रमाथि चुनौती थपेको छ र यस्तो चुनौतीलाई सामना गर्नसक्ने नेतृत्व निजी क्षेत्रले खोजेको छ । हामी यही परिस्थितिलाई बुझेर नै निर्वाचनमा सहभागी भएका छौं । निश्चय पनि अहिलेको अवस्था विगतका निर्वाचनको जस्तो सामान्य होइन र आउँदा दिन पनि सामान्य हुने छैनन् ।
तपाईँका एजेन्डाहरु के के हुन् । ती एजेन्डामा कसरी काम गर्नुहुन्छ ?
हाम्रो समूहको उम्मेदवारीको नारा नै ‘समृद्धिको आधारः राज्य–निजी क्षेत्र साझेदार’ राखेका छौं । नाराले नै धेरै कुराको संकेत गरेको छ । निजी क्षेत्रको दरिलो उपस्थिति बिना राज्यमात्रको पहलमा देश समृद्ध बनेको संसारमा अहिलेसम्म कुनै उदाहरण छैन । राज्यले निजी क्षेत्रसँग जति सहकार्य गर्छ त्यति नै द्रुत गतिमा राज्यको आर्थिक उन्नति हुन्छ । यसैले राज्य निजी क्षेत्रको बिनालगानीको एउटा पाटर्नर पनि हो भन्ने गरिन्छ ।
हामीले मूलतः नीतिगत तहमा एक प्रकारको हस्तक्षेप नै गर्नुपर्ने अवस्था छ । निजी क्षेत्रप्रतिको मनोविज्ञान फेर्नु छ । साना मझौला, लघु घरेलुदेखि ठूला उत्पादनमूलक र सेवामूलक उद्योग व्यवसायमा मात्र नभई प्रत्यक्ष वैदेशिक लगानीसम्मको अभिभावकत्व निजी क्षेत्रको छाता संगठन भएकाले नेपाल उद्योग वाणिज्य महासंघले नै लिनुपर्छ । हामीले लगानीका लागि सहजीकरण गर्ने, व्यवसायीका हक अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने तथा राज्यका लागि थिंक ट्यांकको भूमिका निर्वाह गर्ने काम गर्नेछौं । यसका लागि महासंघले विषय विज्ञहरुको सहयोग पनि लिनेछ ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष खुलेरै एकातर्फ ढल्किनुभएको छ । यसले महासंघलाई कस्तो असर गर्छ ?
मैले दुःखका साथ भन्नुपर्छ कि यो एक प्रकारको दुर्भाग्यपूर्ण अवस्था नै हो । विगतमा अध्यक्षको सिधै निर्वाचन गर्ने कि साविकको व्यवस्थालाई निरन्तरता दिने भन्ने विषयमा लामो बहसपछि हामी पुरानै व्यवस्थाअनुसार निर्वाचनमा छौं । अध्यक्षको प्रत्यक्ष निर्वाचनले महासंघमा दुई समूह सिर्जना गर्यो भनेर तटस्थ अध्यक्षको परिकल्पनासहित हामीले यस्तो व्यवस्था गरे पनि विधानको भावना लागू हुन सकेन । यसमा भने मलाई दुःख लागेको छ ।
विधानको त्यो भावना प्रतिकुल परिस्थिति सिर्जना हुँदा र पुरानो व्यवस्थामा फर्कने प्रयाश भइरहँदा हामीले नै निकै मेहनत गरेर उहाँमाथि अन्याय हुन दिएनौं । तर, अध्यक्ष सुनिश्चत भइसकेको व्यक्ति यसरी प्रस्तुत हुनुले उहाँको व्यक्तित्वमाथि मात्र क्षति पुर्याएको नभई महासंघकै गरिमामा असर परेको छ र यसले सिंगो निजी क्षेत्रमाथि पनि प्रश्नहरु उठेका छन् ।
महासंघको विधानको विषयमा बेला बेला विवाद आइरहेको छ । यसलाई कसरी मिलाउनुहुन्छ ?
महासंघ ठूलो र वृहत् सञ्जाल भएको संस्था भएकाले कुनै एजेण्डामा बहस र छलफल हुनु स्वाभाविक हो । यो प्रजातान्त्रिक संस्कार पनि हो र यसले संस्थाप्रतिको अपनत्व पनि बढाउँछ । तर हामी जुनसुकै विवादको जडमा पुग्नु आवश्यक हुन्छ ।
महासंघ कुनै व्यवसाय नभई व्यावसायीको सेवा गर्ने स्वयमसेवीहरुको संस्था हो । महासंघलाई दिने समय आफ्नै व्यवसायमा लगाउने हो भने भौतिक रुपमा केही आम्दानी होला तर महासंघमा गएर आर्थिक रुपमा आम्दानी त परको कुरा खर्च नै बढी हुन्छ । तर, जीवनमा आफूमात्र सफल भएर हुँदैन, व्यवसायी साथीभाइका समस्यालाई सम्बोधन गरेर सबैलाई सफल बनाउन महासंघजस्ता संस्था चाहिन्छ ।
मुलुकलाई समृद्ध बनाउनु छ भने निजी क्षेत्र र निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था महासंघलाई पनि सफल बनाउनुपर्छ । यसैले यस्तो पवित्र संस्थामा विवाद हुनु हुँदैन । जब महासंघमा व्यक्तिगत स्वार्थ त्यागेर गइन्छ भने विवाद हुँदैन । यसैले विवादलाई स्वाभाविक रुपमा लिएर यसको जडसम्म पुगेर निक्र्योल गर्न सकिन्छ र विगतमा पनि म त्यसमा सफल भएकाले भोलिका दिनमा पनि यस्ता चुनौतीलाई पार गर्न सकिन्छ भन्ने नै लाग्दछ ।
साना उद्योगीले महासंघको संरक्षण पाएनौं भन्छन्, तपाईँले कसरी समेटनुहुन्छ ?
महासंघको क्षेत्र विशाल छ । कतिपय समस्या जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुबाटै समाधान हुन सक्छन् भने कतिपयको समाधानका लागि महासंघ नै लाग्नुपर्ने अवस्था आउँछ । साना मझौला उद्योग भनेको दिगो विकासको आधार भएकाले संसारभर यस्ता क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड पनि भन्ने गरिन्छ ।
नेपालमै पनि लकडाउनको अवस्थामा अर्थतन्त्र धान्ने आधार यस्तै उद्यम व्यवसाय भएको तथ्य हामीले भुल्नु हुँदैन । यसैले साना मझौला उद्योग व्यवसायको संरक्षणका लागि हामी कुनै सम्झौता गर्दैनौं । आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र निर्माण तथा रोजगारी सिर्जनाका आधार मानिएका एवं स्वदेशी कच्चा पदार्थमा आधारित यस्ता उद्योगले निकासीमा पनि ठूलो सम्भावना देखाएकाले यीनको मूलभूत समस्याका रुपमा रहेको ब्याजदर, कच्चा पदार्थ, जनशक्ति व्यवस्थापन तथा बजारीकरणमा महासंघले सँगै रहेर काम गर्नेछ ।
महासंघमा गुटबन्दी बढ्दै गएको छ । यसलाई कसरी मिलाउनुहुन्छ ?
गुटबन्दी नभई यसलाई मन मिल्ने व्यवसायी साथीहरुको समूह भन्नु उपयुक्त होला । जुनसुकै समूहमा रहे पनि निजी क्षेत्रका न्यूनतम एजेण्डाका विषयमा त्यति बिमती नभएकाले यसलाई ठूलो समस्याका रुपमा लिनु उपयुक्त हुँदैन ।
महासंघले आफूभित्रका बिमति थाँती राखेर नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल संघ नेपाललगायतका महासंघको प्रत्यक्ष सदस्य नरहेका तर निजी क्षेत्रका पक्षमा काम गरिरहेका सबै संस्थाको अभिभावकका रुपमा नेतृत्व गर्नुपर्नेछ र यसका लागि फराकिलो सोच र वृहत हितको पक्षमा काम गर्न सक्नुपर्छ । मैले एउटा साँघुरो घेरामा आफूलाई राख्नु हुन्न र भोलि सबैलाई समेटेर अगाडि बढ्दा तपाइँले भन्नुभएको जस्तो यस्ता गुटहरु स्वतः बिलाएर जानेछन् भन्नेमा म विश्वास गर्दछु ।
तपाईले लामो समयदेखि महासघंमा रहेर काम गरिसक्नु भएको छ । त्यहाँको लिकेज के के छ ? त्यसलाई कसरी काम गर्नुहुन्छ ?
महासंघको कार्यकारिणी समितिमा म दुई कार्यकाल निर्वाचित सदस्य र एक कार्यकाल उपाध्यक्ष रहेर काम गरिसकेको छु भने यसबाहेक एउटा वस्तुगत संगठन र द्विराष्ट्रिय उद्योग वाणिज्य संघको पनि नेतृत्व गरिसकेकाले मलाई महासंघभित्रका सम्भावना र सीमितता दुवैको ज्ञान छ । महासंघ ठूलो संस्था भएकाले त्यहाँ विचारमा विविधता छन् ।
महासंघमा प्रवेश गर्नेवित्तिकै हामीले आफ्नो व्यावसायिक स्वार्थ विर्सेर निजी क्षेत्रकै स्वार्थमा काम गर्छौं र कहिलेकाहिँ निजी क्षेत्रको स्वार्थभन्दा पनि माथि उठेर राष्ट्रिय स्वार्थका लागि निर्णय लिएका छौं । यसक्रममा केही कमजोरी भएका हुन सक्छन् र ति कमजोरी अज्ञानतावश भएका पनि हुन सक्छन् । यसैले विगतका कमजोरी सच्याउँदै अगाडि बढ्न सकेमा अहिलेका सबैखाले लिकेजहरु टाल्दै महासंघलाई समृद्ध नेपालको साझेदार बनाउन सकिन्छ भन्ने नै मेरो विश्वास छ ।
तपाईँका भावी योजना के के छन् ?
महासंघमा अहिलेसम्म मैले गर्न चाहेको र गर्न बाँकी धेरै काम छन् । खासगरी निजी क्षेत्रलाई सम्मानजनक स्थानमा पुर्याउने र नीति निर्माताहरुले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्ने अवस्थामा पुर्याउनै पर्छ । निजी क्षेत्र भनेको नाफामुखी हो भन्ने आम बुझाई बदल्नु पर्नेछ । यसका लागि महासंघले नै नेतृत्व लिनसक्छ र म महासंघमा आएको पनि यसैका लागि हो ।
मेरो व्यक्तिगत व्यवसायलाई त म महासंघमा नआउँदै एउटा उचाइमा पुर्याइसकेको थिएँ र यो स्वाभाविक गतिमा अगाडि बढ्छ नै । यसमा मैले त्यति समय दिइरहनु पर्ने अवस्था पनि छैन । तर, मेरो जीवन मजस्तै सम्पूर्ण निजी क्षेत्रको स्वाभिमान र आत्मसम्मानका लागि व्यतित गर्न चाहान्छु ।