मौद्रिक नीतिबारे यस्तो छ हस्तकला महासंघको धारणा

काठमाडौं । नेपाल हस्तकला महासंघले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले हस्तकला उद्योग व्यवसायको प्रवर्द्धनमा सहयोगी भूमिका खेल्ने बताएको छ ।

विदेशी मुद्रा प्राप्त भएपछि नेपाली निर्यातकर्ताहरुको नाममा अग्रिम भुक्तानीको प्रमाणपत्र (Advance Payment Certificate) जारी गरी सक्नुपर्ने समय सीमा १ महिनाबाट बढाई ४ महिना कायम गर्ने व्यवस्थाले कोभिड १९ का कारण निर्यात गर्न नसकेका निर्यातकर्ताहरुको लागि सो व्यवस्थाले हस्तकला उद्योग व्यवसायको प्रवर्द्धनमा सहयोगी भूमिका खेल्ने महासंघको विश्वास छ ।

अहिलेको अवस्थामा आर्थिक वर्ष २०७७/७८ को नेपाल सरकारको बजेटमा गरिएका ब्यवस्थाहरुलाई कार्यान्वयन गर्न सहयोगी भूमिका खेल्ने गरी व्यवहारिक विषय वस्तुहरुलाई समेत सम्बोधन गरी मौद्रिक नीति जारी हुनु स्वागतयोग्य रहेको महासंघको भनाइ छ ।

कोभिड –१९ बाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न घरेलु तथा साना उद्योगलाई सहुलियतपूर्ण ब्याजमा कर्जा ब्यवस्था गरिनु, २०७७ असार महिनासम्म भुक्तानी अवधि भएका डिमाण्ड लोन, क्यास क्रेडिट लगायतका अल्पकालीन प्रकृतिका चालूपूँजी कर्जाहरुलाई ऋणीको अवस्था विश्लेषण गरी २०७७ पौष मसान्तसम्म भुक्तानी गर्न सकिने गरी नवीकरण गर्न सक्ने व्यवस्था व्यवहारिक रहेको महासंघले जनाएको छ ।

त्यस्तै नेपाली निर्यातकर्ताले सम्बन्धित निकायको स्वीकृति लिई विदेशमा विभिन्न प्रदर्शनी, व्यापारमेला आदिमा नेपाली वस्तु बिक्री गरेवापत प्राप्त नगद विदेशी मुद्रा नेपालस्थित बैंक तथा वित्तीय संस्थामा रहेको निर्यातकर्ताको विदेशी मुद्रा खातामा समेत जम्मा गर्न सकिने गरी गरिएको व्यवस्था पनि महासंघले स्वागतयोग्य भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *