सत्याग्रहीसँगको सहमति लागू नगर्नु अपराध होः साझा पार्टी

काठमाडौं । साझा पार्टीले कोभिड १९ महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै अनशनमा बसेका इनफ इज इनफ अभियान सम्बद्ध युवाहरूसँगको सहमति लागू नगर्नु अपराध भएको बताएको छ ।

पार्टीका सहप्रवक्ता शरदराज पाठकले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै संक्रमणको जोखिम कायमै रहेको अवस्थामा अनशनरत युवाहरूसँग भएको सहमति लागू नगर्नु अपराध भएको बताएका हुन् ।

इनफ इज इनफ अभियान सम्बद्ध युवाहरू दोस्रो पटक अनशन बसेको आज ६ दिन भइसकेको छ । उनीहरु केही हप्ताअघि पीसीआर टेस्ट बढाउनु पर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, अग्र पङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका मागहरू राख्दै १२ दिनसम्म अनशन बसेका थिए ।

सरकारले ती मागहरू पुरा गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूले अनशन तोडेका थिए । तर सरकारको प्रतिबद्धतामा कुनै प्रगति नभएको भन्दै सरकारमाथि दबाब सृजना गर्न अभियान्ता ईः, करण गुरूङ र समाइरा श्रेष्ठले पुनः सत्याग्रह सुरू गरेका छन् ।

सरकारले आम सर्वसाधारणको मागविना आफै गर्न पर्ने कामहरू गराउनका लागि युवाहरूले आफ्नो ज्यान जोखिममा राखेको अवस्थामा पनि सत्तारूढ दलका जिम्मेवार नेताहरू शक्ति संघर्षको घिनलाग्दो राजनीतिक खेलमा अहोरात्र व्यस्त रहेको साझाको आरोप छ ।

सरकारी बेवास्ताले अनशनकारी युवाको स्वास्थ्यमा दीर्घकालीन असर परे वा उनीहरूको जीवन तलमाथि भए, त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण दोष प्रधानमन्त्री ओली स्वयमले लिनुपर्ने साझाको भनाइ छ । अनशनरत युवाहरूप्रति पूर्ण ऐक्यवद्धता जनाउँदै साझाले सम्पूर्ण नेपालीलाई पनि ऐक्यबद्धता जनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *