खैरहनीका ११ विद्यालयमा बनाइएका क्वारेन्टाइन खाली गराईदै

चितवन । चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका सामुदायिक क्वारेनटाइन खाली गराउन सुरु गरेको छ । पठनपाठन सुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा बनाईएका क्वारेनटाइन हटाउन थालेको हो ।

विद्यालयको क्वारेनटाइन खाली गराएर सामाजिक संघसंस्थालाई प्रयोगमा ल्याईएको खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले बताए । खैरहनीमा कंकाली मावि, जनजीवन मावि, खैरहनी मावि, कठार मावि, कपिया मावि, गवै मावि, पिद्रहनी चर्च, गोठेश्वर आधारभूत विद्यालय, टुंगारा आधारभूत विद्यालय, जनएकता आधारभूत विद्यालय र सलौली आधारभूत विद्यालयमा क्वारेनटाईन बनाईएको छ ।

डिज्नी पार्क रिसोर्टमा भने शुल्क तिरेर बस्न चाहनेहरुको लागि व्यवस्थापनमा नगरपालिकाले सहजीकरण गर्दै आएको छ । क्वारेनटाइन बनाईएको आधारभूत विद्यालय खरखुट्टे खाली गरिएको छ । अब वाँकी क्वारेनटाईन पनि खाली गरिदै जाने मेयर चौधरीले बताए । विदेशबाट आउने र कोरोना संक्रमण देखिएको जिल्लाबाट आएकाहरुलाई अब राधास्वामी सत्सङ भवन,दुर्गा मन्दिर स्थित पर्सा खानेपानीको भवनमा वनाईएको क्वारेनटाईनमा राखिने छ ।खानेपानी

भवनको क्वारेनटाईनमा विदेशबाट आएकाहरु वस्न सुरु गरिसकेको मेयर चौधरीले जानकारी दिए । साउन महिना भित्र विद्यालय सरसफाई गरेर तयारी अवस्थामा राखिने उनले बताए । सरकारले भदौ १ गतेदेखी भर्ना सुरु गर्न निर्देशन दिईसक्यो मेयर चौधरीले भने – ‘पठनपाठन सुचारु गराउने गरि हामी तयारी गर्दैछौ ।’

राधा स्वामी सत्सङ भवनले निशुल्क रुपमा क्वारेनटाईनलाई ठाउँ उपलव्ध गराएको छ । ठाउँसंगै खाना खाजा समेत सोही संस्था उपलव्ध गराउन तयार भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वताए । सो संस्थामा मानिस वस्न सुरु गरेपछि खानेपानीको क्वारेनटाईनमा समेत उनीहरुलेनै खानाको व्यवस्था गराउन इच्छुक भएको शर्माले जानकारी दिए ।

राधा स्वामी भवनमा ३० जना र खानेपानीको भवनमा १८ जना अट्ने क्षमताको क्वारेनटाईन वनाईएको हो । डिज्नी पार्क रिसोर्ट वाहेक अन्य क्वारेनटाईनमा हाल खैरहनी नगरपालिकालेनै खाना खाजाको व्यवस्था गर्दै आएको छ ।

यहाँ रहेका क्वारेनटाईनमा हाल ५४ जना रहेका छन् । खैरहनीका क्वारेनटाईनमा कोरोना भाईरसको पिसिआर रिपोर्ट नेगेटिभ आएका दुई सय ६१ जना भने घर फिर्ता भईसकेको स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *