सेनाले निकुञ्‍जमा पिटेका युवकको मृत्यु, प्रहरीले लिएन जाहेरी !

चितवन । चितवन राष्ट्रिय निकुञ्जले माडीको कुसुमखोलाको चेपाङ बस्तीमा घर भत्काएको विषयमा आलोचना भइरहँदा निकुञ्जकै सेनाको कुटाइबाट एक चेपाङको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।

साउन सक्रान्तिका दिन घोँगी खोज्न भन्दै निकुञ्ज भित्रको ज्यूडी खोलामा पुगेका ७ जनालाई सेनाले मरणासन्न हुनेगरी कुटेको र ती मध्ये एक जनाको मंगलबार मृत्यु भएको जाहेरी मृतकको परिवारले चितवन प्रहरीमा दिएको छ । जिल्ला प्रहरी कार्यालयमा राप्ती-२ का विष्णुलाल चेपाङले आफ्ना छोरा २४ वर्षीय राजकुमार चेपाङ सहितका ७ जनालाई सेनाले मरणासन्न हुनेगरी कुटेको र उपचारका क्रममा मृत्यु भएको भन्दै जाहेरी दिएका छन् ।

यद्यपी जाहेरी दर्ता भइसकेको छैन । चितवन प्रहरीका प्रबक्ता डीएसपी सूर्य थापाले सेनाको कुटाईकै कारण मृत्यु भएको भनेर उजुरी आएपनि दर्ता भइनसकेको बताए । सेनाको कुटाई खाएका राप्ती-२ गड्यौलीका सन्तलाल प्रजाले सबैलाई पानीमा डुबाएर बुट र लाठीले पिटेको बताए ।

सन्तलालले पाँच जना पुरुष र तीन जना महिला घोंगी र माछा मार्नका लागि निकुञ्ज पुगेको बताए । उनले दुखाईका कारण अझै पनि औषधी सेवन गरिरहेका छन् । मृतक राजकुमारले पनि स्थानीय मेडिकलमा जचाएर औषधी खाएका थिए । परिवारकाअनुसार औषधीले नभएपछि मंगलबार साँझ भरतपुर अस्पताल ल्याइएको थियो ।

अस्पतलमा भर्ना गरेको एक घण्टामा मृत्यु भयो । बाबु विष्णुलालकाअनुसार छोराले छातीमा दुखेको बताएका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटनाको सम्बन्धमा ढिलो जानकारी भएको भन्दै थप जानकारी लिने काम भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *