साम्राज्ञीविरुद्ध भुवनले हाले मुद्दा, १० करोड क्षतिपूर्ति माग

काठमाडौं । नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । १० करोड क्षतिपूर्ति मागदाबीसहित नायक केसीले आज (शुक्रबार) अदालतमा मुद्दा दायर गरेकाे सुचना अधिकारी ज्ञान बहादुर कार्कीले मकालु खबरलाई जानकारी दिए ।

सूचना अधिकारी कार्कीका अनुसार भुवनले उजुरी गरिसकेपछि कानुनी प्रक्रिया अघि बढेकाे छ । अब अदालतले साम्राज्ञीको नाममा म्याद जारी गर्ने उनले बताए ।

साम्राज्ञी र भुवनबिचको विवाद केही समय अगाडि चलचित्र क्षेत्रमा छताछुल्ल भएको थियो । सामाजिक सञ्जालमा उनीहरुले एक अर्कालाई आरोप-प्रत्यारोप समेत लगाएका थिए । करिब ६ वर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत भई सुपरहिट भएको चलचित्र ड्रिम्सको शूटिङको क्रममा पानी खान पाइन, छाता ओढ्न पाइन, सुविधा प्राप्त भएन भन्ने जस्ता कुराहरु साम्राज्ञीले उठाएकी थिईन् । यही विषयमा भुवन र साम्राज्ञीबिच चर्काचर्की भएको हो ।

जापानमा आयोजित एक अवार्ड कार्यक्रममा सहभागी हुने क्रममा नायक केसीले आफूमाथि नराम्रो व्यवहार गरेको आरोप लगाउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भनेकी थिइन्– ‘उहाँले मलाई तँ त मेरो प्रोडक्ट हो बाबा, अब पुरानो कुरा कोट्याएर फाइदा हुँदैन । तँ एउटा ठाउँमा पुगिसकिस्, अब यस्तो गर्नुहुँदैन भन्नुभएको थियो । त्यतिबेला मलाई भित्रैदेखि घिन लागिरहेको थियो । तैपनि म हाँसेरै बालेँ । ती कुराहरू अलि टाढा बसेरै पनि भन्न सकिन्थ्याे नि ! के गाला जोडेर, टाँस्सिएरै भन्नुपर्छ र ?’

विवादकै बिच भुवनले साम्राज्ञीलाई अब पनि आफूमाथि विभिन्न आरोप लगाइ भिडियो बनाएर सामाजिक सञ्जालमा हाले मानहानी सम्बन्धी कानुनी कारवाहीको प्रक्रिया चाल्ने चेतावनी दिएका थिए । उनकाे चेतावनी लत्याउँदै साम्राज्ञीले भुवनकाे विरूद्ध बाेल्न छाेडिनन् र अन्ततः भुवनले कानुनी प्रक्रिया अघि बढाए ।

४० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेर विभिन्न सुपरहिट फिल्म निर्माण गरी कमाएकाे मान प्रतिष्ठामा साम्राज्ञीका कारण आघात पुगेको भुवनकाे आराेप छ । यसअघि नायक केसीले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार संघमा उजुरी समेत दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *