रञ्जन कोइराला प्रकरणको प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने
काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको इजलासको फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ ।
आइतबार (आज) न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अघि बढाउन अनुमति दिने आदेश सुनाएको हो ।
विसं २०६८ सालमा पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
तर प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो ।
सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले कोइराला छुटेकै दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।