एसिड आक्रमणकी घाइते पवित्रालाई भेट्न पुगे स्वास्थ्यमन्त्री र महिला तथा बालबालिका समितिकी सभापति पाल
काठमाडौं । बिहिबार सिता पाइलामा दही–च्युरा किनेर कोठा फर्कने क्रममा एसिड आक्रमणमा परी घाइते भएकी पवित्रा ढकाललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल तथा संसदको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले भेट गरेर उनको स्वास्थ्यवस्थाका बारेमा जानकारी लिएका छन् । स्वास्थ्यमन्त्री ढकाल र समितिकी सभापति पालले घाइते युवतीलाई कीर्तिपुर अस्पतालमा पुगेर भेटेका हुन् ।
सो क्रममा स्वास्थ्यमन्त्री ढकालले पिडित युवतीको सम्पूर्ण स्वास्थ्योपचारको जिम्मा राज्यले लिने बताएका छन् । उनले सामाजिक सञ्जालमा समेत ‘एसिड प्रहारबाट घाइते हुनुभएकी पवित्रा कार्कीको आज कीर्तिपुर अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेँ, उनको स्वास्थ्य उपचारमा कुनै कमी हुन नदिने विश्वास दिलाउँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
यस्तै संसदको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पनी एसिड आक्रमणबाट घाइते भएकी युवती पवित्रालाई भेट गर्दै एसिड आक्रमण गर्नेलाई कडा कारवाहीको व्यवस्था गरिनु पर्ने बताइन् । ‘कानुनले यस्तो घट्ना घटाउने व्यक्तिलाई कडा भन्दा कडा कार्बाही गर्नुपर्छ र पीडितको सम्पूर्ण उपचार खर्च देखि अन्य रोजगारीको अवसर पनि राज्यले उपलब्ध गराउनु पर्छ ।’
उनले पिडितलाई न्याय दिलाउन र अपराधीलाई कडा कानुनी सजाय दिलाउन आफु सक्दो पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।
समितिका सभापति निरु देवी पाल सँगै समितिका अमृता थापा, गङ्गा चौधरी, बिमला नेपाली र अनेम संघका सह संयोजक सीता पौडेलले पनि उनको स्वास्थ्यवस्था बुझेका थिए ।
बिहीबार साँझ सितापाइलामा दही–च्युरा किनेर कोठा फर्किने क्रममा कार्कीमाथि एसिड आक्रमण भएको थियो । उनीमाथि एसिड आक्रमण गर्न लगाउने मोहमद आलम र आक्रमण गर्ने फेयाज आलमलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।