सवारी चालकसँग विभिन्न बहानामा रकम लिने ४ प्रहरीमाथि कारवाही

चितवन । बागमती प्रदेश प्रहरी कार्यालयले आर्थिक लाभ लिने ४ जना प्रहरीलाई कारबाही गरेको छ । प्रहरी कर्मचारीहरुलाई प्रदेश प्रहरीबाट खटिएको विषेश टोलीले नियन्त्रणमा लिएर कारबाही सुरु गरेको जनाएको छ ।

सवारी चालकसँग विभिन्न बहानामा रकम लिएका चितवन र मकवानपुरका ४ जना प्रहरिलाई नियन्त्रणमा लिइएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरिले जानकारी दिए ।

गिरिका अनुसार प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत ४ जना प्रहरी कर्मचारीहरुलाई सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएको छ ।

कार्वाहीको लागि झिकाईएका चार जना प्रहरी कर्मचारी मध्ये २ जना ट्राफिक प्रहरी कार्यालय मकवानपुरको रातोमाटे र ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनमा कार्यरत छन्, भने २ जना ईलाका प्रहरी कार्यालय रामनगर चितवन र इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत रहेका छन् ।

कारवाहीको लागि झिकाइएका एक जना प्रहरी हवल्दार सहित ३ जना प्रहरी जवानलाई प्रहरी आचरण विपरितको कार्य गरेको पाइएकोले प्रहरी नियमावली अनुसार कानुनी कारवाही गरिने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गिरिले बताए ।

आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा सञ्चालन गरिरहेकाे समेत गिरिले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *