नेपालमा कोरोना संक्रमण नियन्त्रण बाहिर जानसक्नेः विज्ञले भने- ‘स्थिति भयावह हुनसक्छ’
काठमाडौं । लकडाउनअगाडि दुई जना संक्रमित थिए भने हाल दैनिक औसतमा सय बढीको हाराहारीमा संक्रमित देखिँदै आइरहेका छन् । सुरुका दिनहरुमा संक्रमण देश बाहिरबाट आउने जोखिम बढी थियो भने, हाल समुदायमा पुगेर फैलने डर बढी छ ।
संक्रमित देखिनेक्रम शून्यमा झरेर होइन केहि कम मात्र हुँदा सरकारले साउन ८ गतेबाट लकडाउन हटायो तर, स्वास्थ्य विज्ञहरुले यसमा अहमति जनाए । संक्रमण रोकथामका लागि आवश्यक आधार तयार नगरी लकडाउन हटाएकाले जोखिम झनै बढेको उनीहरुको तर्क छ । उनीहरूले कुनै पनि बेला कोभिड-१९ संक्रमणको विस्तार व्यापक हुन सक्ने चेतावनी दिएका छन् ।
लकडाउन खोलेपछि संक्रमितको संख्या अझै बढ्ने भए पनि त्यसअनुसारको सबै तयारी सरकारबाट हुन नसकेकोमा उनीहरूको गम्भीर आपत्ति छ । ‘अहिले संक्रमित दिनहुँ देखिराखेकै अवस्था छ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने- ‘लकडाउन खोल्न केही आधारहरू पूरा गर्नैपर्ने हुन्छ तर, नेपालमा ती आधार पूरा गरिएको छैन ।’
स्थिति भयावह हुनसक्ने
सरकारले सुरुमा प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने बताए पनि पछिल्ला दिन ४ हजारको हाराहारीमा मात्रै परीक्षण भइरहेको छ । त्यति संख्यामा परीक्षण हुँदा डेढ सयको हाराहारीमा संक्रमित देखिनु सङ्ख्यात्मक हिसाबले धेरै भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीको बुझाइ छ ।
यो अवस्थामा परीक्षणको दायरा र सङ्ख्या बढाउनुको विकल्प नरहेको डा. मरासिनीले बताउँछन् । ‘दैनिक १० हजारको संख्यामा परीक्षण पुर्याइएन भने निकै भयावह अवस्था आउनेछ,’ डा. मरासिनीले भने- ‘अबको १५-२० दिनमै नियन्त्रण गर्न गाह्रो हुने गरी सङ्क्रमण देखिनेछ ।’ सबैले स्वास्थ्य मापदण्ड पालना नगरे संक्रमण व्यापक हुने उनको तर्क छ ।
सरकारले विज्ञहरूको सहयोग नलिएकाले ‘स्थिति भयावह हुन सक्ने’ उनले दोहो-याए । यदि समुदायमा फैलियो भने हाम्रो हालत वुहान (चीन)भन्दा पनि खराब हुनेछ । तर सरकारी अधिकारीहरू भने अहिलेसम्म समुदायस्तरमा सङ्क्रमण पुगिनसकेको दाबी गर्दै आएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने- ‘हामीले जुन मापदण्ड मानेर स्थानीय स्तरमा छ–छैन भन्ने यकिन गर्ने हो । त्यो हेर्दा समुदायस्तरमा देखिएको छैन ।’
मास टेस्टिङ सुरु
केही जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले मास टेस्टिङ अर्थात् ठूलो सङ्ख्यामा जनसमुदायमा गरिने परीक्षण थालेको छ । भारतसँगको सीमावर्ती जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढेको र जनस्वास्थ्यकर्मीले समुदायमै सङ्क्रमण फैलिएको आशङ्का गरेका बेला सरकारले मास टेस्टिङको काम थालिएको जनाएको हो ।
विगतमा काठमाडौं उपत्यकामा गरिएको मास टेस्टिङ अहिले नाकाहरूमा थालिएको र अब छिट्टै सङ्क्रमितको सङ्ख्या बढेका जिल्लाहरूमा थालिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । सरकारले करिब ४५ हजारको मास टेस्टिङ गर्ने भन्दै काठमाडौंमा परीक्षण थालेको थियो । काठमाडौंमा ५ हजार परीक्षण गर्दा जम्मा तीन जनामा सङ्क्रमण देखिएको छ ।
काठमाडौं प्रवेश गर्ने नाकाहरूमा परीक्षण गर्न भनेर दुई दिनदेखि काम सुरु भएको डा. अधिकारीले जानकारी दिए । ‘काठमाडौं प्रवेश गर्ने नाकाहरूबाट परीक्षण गर्दा कुन क्षेत्रका मानिसमा सङ्क्रमण छ भन्ने थाहा पाएर कन्ट्याक्ट ट्रेसिङ्ग गर्न सजिलो हुन्छ भनेर हामीले थालेका हौं,’ उनले भने- ‘जुन क्षेत्रका स्थास्थ्य अधिकारीबाट सङ्क्रमणको विषयलाई लिएर चिन्ता बढेका छन् ती क्षेत्रमा मास टेस्टिङ गर्ने भनेर काम थालेका छौं ।’
मास टेस्टिङ भनेको के हो ?
मानिसको सङ्ख्या धेरै र आवतजावत धेरै हुने सङ्क्रमण हुनसक्ने स्थानममा समुदायस्तरमा सङ्क्रमणको अवस्था जान्नका लागि जनसमूदायमा गरिने परीक्षणलाई मास टेस्टिङ भनिन्छ । मास टेस्टिङ यसअघि नेपालमा हुँदै आएको परीक्षणभन्दा फरक हो ।
अहिलेसम्म विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेकाको मात्रै परीक्षण गरिन्थ्यो । ‘स्थानीय स्तरमा समुदायमा संक्रमण हुनसक्ने भन्ने चिन्ता व्यक्त भएपछि ती क्षेत्रमा सङ्क्रमणको अवस्था के छ भनेर बुझ्न मास टेस्टिङ सुरु गरिएको प्रवक्ता डा. अधिकारीको भनाई छ । उनका अनुसार प्राथमिकतामा काठमाडौं, मोरङ, कास्की, बाँके, रुपन्देही, बारा, पर्सा र सप्तरी छन् ।