मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

राजनीतिको कुटानी, पिसानी र पेलानी

भँगेराले धान खाएर उत्पादन कम भएको कारण देखाइ १९५८ मा माओत्सेतुङले ५ बर्ष माथिका सबै जनतालाई देशैभरबाट भँगेरा मारेर उन्मूलन गर्न उर्दी लगाउँछन् । चीनमा त्यो बेला माओ भगवानको अर्को अवतारका रुपमा पूजित थिए ।

कतिसम्म भने कुनै कारखानाको मेशिन बिग्रिएमा उनले लेखेको पुस्तक ‘रेडबुक’ गोजीबाट निकालेर ढोग्यो भने बिग्रिएको मेशिन आफैं स्वचालित हुन्छ भन्ने विश्वास थियो । यस्ता परमपूज्य व्यक्तिले आज्ञा गरेपछि केही दिनमै काम तमाम् भयो । तर दुर्भाग्यवश त्यही वर्ष धानको उत्पादन अति न्यून भयो ।

दूरदर्शी निर्णयले धानको उत्पादन बढेको देखाएर आफूलाई सर्वज्ञानी प्रमाणित गर्ने माओ सपना तासको महलझैं गल्र्यामगुर्लुम ढल्यो । आफ्नो निर्णयले माओ मानसिक रुपमा अशान्त भए । कृषि विज्ञहरु अनपेक्षित परिणामबाट किंकर्तव्यविमूढ देखिए । माओका लहडका अगाडि सत्य बोल्ने आँट उनीहरुमा देखिदैन ।

नेपाल कम्युनिष्ट पार्टी धेरैका लागि कौरवहरुले खडा गरेको ‘लाहाको घर’ सावित हुँदैछ । दुईचार तलवी सरकारी पद बाँडचुँड गरेर मिलेको वक्तव्य आएमा त्यो प्रहसन शिवाय केही नहुने स्पष्ट छ ।

रुसबाट वैज्ञानिक झिकाएर खोज अनुसन्धान गर्न लगाइयो । गाँठी कुरा अन्न खाने किरा भँगेराले आहारा बनाउँदो रहेछ । किरा मार्ने भँगेरा नै नभएपछि किराको साम्राज्य बढ्दा उल्टो बीउ पनि नउठ्ने गरी अन्न सखाप भएछ । अब फेरि चुचे ढुंगो उही टुँगो भनेझैं भित्रभित्रै रुसबाट भँगेरा आयात गरिन्छ । वर्षौंसम्म सरकारी स्तरबाट भँगेरा उत्पादन गरी छोड्ने कामले तीब्रता पाउँछ ।

माओको मृत्यु नभएसम्म भँगेरा हानिकारक नभएको जानकारी जनतालाई दिइँदैन । त्यो समय माओको निर्णय गलत भन्ने हिम्मत कुनै माइकलालमा थिएन । आखिर सत्य बुझ्न पनि चिनियाँ जनताले दशकौं पर्खनुपर्यो । जब बुझे, समय धेरै पर हुत्तिसकेको थियो ।

सत्ताको उन्मादले प्रधानमन्त्री केपी ओलीलाई पनि माओको त्यही चरित्रमा अनुवाद गरेको छ । आफ्नो लहडलाई सृष्टिको नियम मान्नुपर्ने अघोषित मुख्र्याइँका कारण इतिहासकै शक्तिशाली सरकार धरमर अवस्थामा पुगेको छ । एक युगमा एकपल्ट आउने अवसर नेताहरुका लागि बोकाको मुखमा कुभिण्डो भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी धेरैका लागि कौरवहरुले खडा गरेको ‘लाहाको घर’ सावित हुँदैछ । दुईचार तलवी सरकारी पद बाँडचुँड गरेर मिलेको वक्तव्य आएमा त्यो प्रहसन शिवाय केही नहुने स्पष्ट छ । भाँचिएको ऐनामा जति टालटुल गरेपनि त्यहाँ दुईवटा तस्वीर नआई छोड्दैन । एमाले र माओवादीको मिलन त्यसै पनि अप्राकृतिक हो । दुईवटै पोजिटिभ या नेगेटिभको मिश्रणले उर्जा उत्पादन हुँदैन । बरु करेन्टले ज्यान जोखिममा पर्न सक्छ ।

तोरी पेलेमा तेल निस्कन्छ । कोदो पिसे पिठो बन्छ । जब कोदो र तोरी मिसाएर पेलियो भने अप्राकृतिक लेदो वस्तु निस्कन्छ । आखिर त्यही भयो । यस्तो भएर पार्टी दीर्घकालीन रहनु भनेको मुलुक र त्यो पार्टीमा रगत, पसिना समर्पण गरेका लाखौंको भविष्य सुरुङ युगमा प्रस्थान गर्नु हो । जो जसको झोले भएर आफू अनुकूलको व्याख्या गरेपनि अर्को पुस्ताले व्यहोर्ने गोता त उनीहरुको सन्तानले पनि भोग्नैपर्छ । आखिर बाटो त जन्ती र मलामीको एउटै हो ।

एमाले र माओवादीको मिलन त्यसै पनि अप्राकृतिक हो । दुईवटै पोजिटिभ या नेगेटिभको मिश्रणले उर्जा उत्पादन हुँदैन । बरु करेन्टले ज्यान जोखिममा पर्न सक्छ ।

कामना गरौं, पार्टी यथाशीघ्र फुटोस अनि पार्टीका चामल, बियाँ र कनिका छुट्टिउन । बादल र नेपालका राजनीतिक दल फाटेकै जाति । समयमै उपचार भएन भने त्यसको संक्रमण झन् फैलने चिन्ता हुन्छ । विकासका दृष्टिले दाजुभाइ, केराको घरी र नेपालका पार्टीहरु छुट्टिएकै निको हो ।

राजनीति र प्रशासनमा न सवै मानिस खराव छन, न सवै असल छन् । तर खरावको संख्या न्यून बनाउने प्रयास नहुँदा अपेक्षाकृत बढी रहेको राजनीतिको खराव रंग प्रशासनमा सर्लक्कै सरेको छ । सोच, विधि र व्यवहारमा असमानताको कहालि लाग्दो जड खेपिरहेको निजामती सेवामा सुधार हुनु साटो त्यो खाडल झन्झन् गहिरिँदो छ ।

एउटा मन्त्री सपथ खाएर कुर्सी सम्हाल्न पाएको हुन्न, उसको पहिलो कर्म सचिव हुत्याउनु हुन्छ । त्यो सचिवलाई मिल्काउन घान हाल्ने काममा परचक्री नभएर त्यही हुत्तिने सचिवकै व्याची लागेको हुन्छ । पाँच वर्षको करार अवधि टिक्ने र विक्ने बीचको मनोविज्ञानबाट उसका दिन घर्किन्छन् ।

म्युजिकल चियरजस्तै बसाउने र थेचार्ने अनवरत संघर्ष चलिरहँदा न एउटा बहादुर राष्ट्रसेवक निस्किएर सत्यका पक्षमा शंखनाद गर्न सक्यो न कुनै महाभारत पात्र बर्बरिकजस्तो कमजोरका पक्षमा लाग्ने आदर्श राजनीतिज्ञ नै जन्मिन सक्यो ।

पछिल्लो समय त झन् सेवा निवृत्त भएपछि अहिलेको ठाँटबाँटभन्दा अब्बल ठाउँको खोजीमा तारतम्य मिलाउने लोभले प्रशासकहरुको दैनिकी टिठलाग्दो बन्दै गएको छ । केही नलागे ‘क’ वर्गको ठकेदारको अघोषित सल्लाहकार नै सही बिजुली पानी, तिहुन तरकारीको जोहोमा पेन्सन खर्च नहोस् भन्नेमा उनीहरुको सावधानी रहने गरेको बुझ्न कठिन छैन् ।

मुलुकको राजनीतिक समस्याको गाँठो फुकाउन खोजिएका समाधान नै समस्या करार हुनु पछाडि पनि देशका ठूला मुखियाहरुको लोभ नै कारक हो । देशको राष्ट्रिय कार्यक्रम ल्याइन्छ, त्यसभित्र आफ्नो उपस्थिति खोज्ने लालसा राष्ट्रपतिबाटै शुरु हुन्छ ।

मुलुकको राजनीतिक समस्याको गाँठो फुकाउन खोजिएका समाधान नै समस्या करार हुनु पछाडि पनि देशका ठूला मुखियाहरुको लोभ नै कारक हो । देशको राष्ट्रिय कार्यक्रम ल्याइन्छ, त्यसभित्र आफ्नो उपस्थिति खोज्ने लालसा राष्ट्रपतिबाटै शुरु हुन्छ । पहिलो राष्ट्राध्यक्ष रामवरण यादवले लोभ गर्दा त्यो पदसँगै जोडिएर चुरे संरक्षण आयोजना जन्मियो । बजेटको गाँठो फुकाउने सर्तमा राष्ट्रपतिलाई खुसी पार्न मात्र ल्याइएको त्यो आयोजना सतहमा आएपछि गिटी, ढुंगा, बालुवाको चलखेल झन् बढ्यो । आयोजनाको करोडौं बजेट स्वाहा हुन पनि छोडेन, प्राकृतिक दोहन पनि रोकिएन ।

विद्या भण्डारी राष्ट्रपति भएपछि लोभीपापीहरुले महिलाको नाममा अर्को परियोजना झुण्ड्याइदिए, त्यो पनि रहर र लहडमै थन्कियो । देशकी अभिभावकलाई सुत्केरी हेलिकोप्टरमा बोक्ने नारामा सीमित गर्दै राष्ट्रिय कार्यक्रम ल्याइयो । क्षमतावानलाई दिइनुपर्ने कार्यकारी पद लिलाम बढाबढमा चढाइन्छ । लिलाममा खरो उत्रिनेले कुर्सी पड्काउँछ । लगानी गरेपछि उठतीपुठ्ती उसको पहिलो कर्तव्य हुने नै भयो । जब यसो गर्दा कमजोरीका कारण कुनै दुर्घटना हुन्छ, त्यसपछि चिच्याएर सुशासन, थितिका बहस उरालिन्छन् ।

यदि प्रधानमन्त्रीले मन्त्री, प्रधानन्यायाधीशले तिनै तहका न्यायाधीश, मुख्य सचिवले सचिव, फौजी संगठनका सारथीले फौज र नेताहरुले आफ्ना कार्यकर्ताको स्वामित्व लिने हो भने २४ घण्टामा आमूल परिवर्तन हुन्छ ।

सुशासन भनेकै त्यही हो । मुटुको काम फोक्सो, फोक्सोको मृगौला, मृगौलाको मस्तिष्क, मस्तिष्कको कलेजोले गर्छु भन्यो भने के हुन्छ ? देशको राज्य सञ्चालन प्रणाली पनि त्यही हो । तर दुर्भाग्य सर्वोच्च अदालतको मुद्दाको ठेक्का कुनै पान पसलेले लियो भने आश्चर्य नमाने हुन्छ । राजश्वको थपघटको निर्णय कुनै व्यापारिक घरानाको घरमा भयो भने के नौलो भयो र ? यस्तै प्रकरणमा रामेश्वर खनालले अर्थसचिवबाट राजीनामा दिएको घट्ना छिपेको छैन् ।

आफ्नो गोत्र, पार्टी र वंशको नपर्ने देखेपछि फौजीको सरुवा, बढुवा ठप्प पार्ने गृहमन्त्री, सेवानिवृत्त भएपछि संगठनमा आफ्नो चाकरी बजाउने चण्डमुण्डको दुनो नसोझिएसम्म संगठनमाथि खेल्ने फौजी प्रमुखका नालायक नाटक अब कसैका नजरमा नौलो रहेन । विधिमाथि व्यक्तिको नाङ्गो प्रहार रोकिने छाँट कहिल्यै देखिँदैन । यस्तो अवस्थामा दशकौंदेखि दिमागमा भरिएको फोहोर जस्ताको तस्तै राखेर भौतिक बाग्मतीलाई स्वच्छ बनाउने परिकल्पना पाखण्ड शिवाय केही होइन ।

मुटुको काम फोक्सो, फोक्सोको मृगौला, मृगौलाको मस्तिष्क, मस्तिष्कको कलेजोले गर्छु भन्यो भने के हुन्छ ? देशको राज्य सञ्चालन प्रणाली पनि त्यही हो ।

कुलमान घिसिङ पदीय आचरणमा रहँदा सेलिब्रिटी भएका छन् । अपराधी पक्रिँदा पनि पैसा कमिने, छोड्दा पनि पैसै कमिने स्कुलिङबाट पुलिसलाई निरपेक्ष राखौं भन्ने एउटा सत्बचन बोल्दा रमेश खरेल सामाजिक पहिचान बनाउन सफल भए ।

जुनजुन समस्याका कारण देश अधकल्चो अवस्थामा पुगेको छ, त्यसको लगाम समाजका नालायक मानिसको हातमा पुग्नु हाम्रो दुर्भाग्य हो । मेनपावर व्यवसाय, जग्गा जमिनको कारोवार र ढुंगा, गिटी, बालुवा, इँटाजस्ता निर्माणजन्य सामग्रीका व्यवसायी समाजका कुन वर्गका छन्, त्यसबाट पनि अर्थ राजनीति ओरालो लाग्नुको जवाफ स्पष्ट थाहा पाउन सकिन्छ ।

वाईसीएल प्रवृत्ति राज्य सञ्चानलनको फ्रन्ट डेस्कमा विधिवत अनुवाद भएको देखिन्छ । खाडीमा ब्लडमनी खाने हिम्मतिलाहरुले किनिदिएको प्रिन्टर, कम्प्युटर र कागजबाट राज्यका निर्णयबाट पीडितको आँसु पुछिनुपर्ने बाध्यता छ । अरुको शब बाकसमा आओस कि डोलीमा आफ्ना सन्तान युरोप अमेरिका भएपछि के फरक पर्छ र ? आफ्नो परिवारका मानिसको जिन्दगीसँग त्यो बाकसलाई तुलना गर्ने वित्तिक्कै त कुन मानव आत्माले खरानीमाथि विभत्स नाच नाच्न सक्ला र ? 

राजश्वसँग सम्बन्धित निकायको त कथा नै बेग्लै छ । भन्सारमा गए संसार देखिन्छ भन्ने मान्यता त्यहाँ जान कर्मचारीमा देखिने प्रतिस्पर्धा र जोखतौलबाटै प्रष्ट हुन्छ । एक्काइसौं शताब्दीलाई प्रविधिले डो-याएको छ तर यो देशमा सूचना प्रविधि मन्त्रालय जोक्कर बन्छ । एकातिर सुकेनास लागेका नेपालीको पेटारो पेट देखाएर पैसा बटुलिन्छ भने अर्कातिर गरिबी मन्त्रालयका मन्त्री काम नपाएको पीडा पोख्छन् ।

अब ठूलोका नाममा गरिने गल्ती ढाकछोप हुँदैन । अब पनि माछा कुद्दैमा समुद्रको छाल उठ्दैन भनेर मनपरी गर्ने हो भने त्यस्तालाई ठीक लगाउने भनेको समय हो । याद राखौं–बाटो काट्न जस्तो सजिलो माटो काट्न कहाँ हुन्छ र ?

अन्तर मन्त्रालय ठालु र जोताहाको भावनाबाट ग्रसित छन । एउटा मन्त्रालयमा पेस गरिएको कागजात अर्को मन्त्रालयको लागि स्वीकार्य हुन्न । एउटा हाकिमले लगाएको तोक अर्को हाकिमलाई पच्दैन । एउटा कार्यालयमा भएको कानुनको व्याख्यासँग अर्को सहमत हुँदैन । शाखा अधिकृत उपसचिवसँग, उपसचिव सहसचिवसंग र सहसचिव सचिवसँग निचोरिएको छ ।

एक अर्कासँग प्रतिस्पर्धा हैन, प्रतिशोध छ । हाकिमी प्रतिशोधको आगोमा एउटा सामान्य सेवाग्राही कुटानी, पिसानी र पेलानी हुनुपर्ने अवस्था छ । सिक्ने सिकाउने जाँगर कसैमा छैन । सहसचिव गाडीघोडा, निजी सहायक, छुट्टै सुविधासहित राजसी छाँटमा बस्छ, तर एक तहमुनिको उपसचिव सौतेलो व्यवहारको शिकार हुनुपरेको गुनासो गर्छ । खाइलाग्दा मन्त्रालयमा काम गर्ने शाखा अधिकृतहरुको सान, मान अलग्गै हुन्छ । राजनीतिमा भाषण छाँटिने जातीय खाडल जनताबीच के डरलाग्दो छ र त्यसको लाखगुना बढी निजामती सेवामा छ ।

दशकौं भयो सिंहदरवार देश बनाउने खाकाको सट्टा गुनासाका खाप लाएर बसेको बर्षौं भयो । आफुले पाएको पदीय मर्यादालाई न्याय गर्ने भन्दा पनि नपाएकोमा असन्तुष्टि पोख्दै १०–५ को पात्रो पट्याउनेहरुको संख्या बढ्दो छ । एउटै पाठ्यक्रम, एउटै केन्द्र र एउटै जाँचकीमार्फत पास भएर आएको सरकारी जागिरे एउटा कुपोषणग्रस्त भएर वीर अस्पताल धाउँछ भने अर्को अजिर्णको रोगी भएर मेदान्त अस्पताल पुग्छ ।

राजा महेन्द्रले २०२१ सालमा भूमि सुधारको अभियान थाल्दा असल कर्मचारी भूमि सुधार र अपेक्षाकृत रेकर्ड खराव भएका भन्सारमा पठाउन उर्दी गरेका थिए रे ! आखिर त्यसको रिजल्ट के भयो ?  प्रक्रियाको अर्को नाम प्रशासन हो । मेचीबाट हिँडेको बस भोलिपल्ट सरकारी कार्यालय नखुल्दै महाकाली पुग्छ तर सरकारी कार्यालयमा वल्लो टेवुलबाट महिनौंसम्म पल्लो टेबुलमा फाइल पुग्दैन । त्यसको पाँग्रो कस्तो हुन्छ, स्वयं उनीहरुलाई हेक्का छैन ।

राजा महेन्द्रले २०२१ सालमा भूमि सुधारको अभियान थाल्दा असल कर्मचारी भूमि सुधार र अपेक्षाकृत रेकर्ड खराव भएका भन्सारमा पठाउन उर्दी गरेका थिए रे ! आखिर त्यसको रिजल्ट के भयो ? 

सरकारी काम प्रभाव र दबाबविना शून्यको अवस्थामा पुगिसक्यो । मन्त्री र सचिव दुवै दौरा सुरुवाल लाउँछन् । यी दुईको सहभागिता सहमति विना कौडीको कामले पनि वैद्यता पाउँदैन । तर हाम्रो सन्दर्भमा यी दुईको यात्रा एक नदीको दुई किनार हुँदै आएको छ । देश विकासको महायज्ञमा एउटाले चरु र अर्कोले घिउ हाल्नुपर्ने त्यो भएकै छैन । एउटाले चरु हाल्छ अर्को घिउ छैन भनेर पन्सिन्छ । अर्को घिउ लिएर ठिक पर्छ तर चरु नै खलाँस । यही लुकामारीले देशको आर्थिक आकार अमिवा जस्तो बन्दै गइरहेको छ ।

झापामा लाग्ने लामखुट्टेबाट त्यहाँका जनता औलो रोगी हुन्छन् । तर लामखुट्टे मार्ने अधिकारको पृष्ठपोषण गरेर अझै पनि सिंहदरबार बसेको छ । बस्ती आगो लागेपछि दमकलका लागि निवेदन लगेर श्री ३ लाई विन्ती विसाउनुपर्ने राणाकालीन संस्कारबाट अहिले पनि सिंहदरबार निरपेक्ष हुन सकेन ।

कौटिल्यको अर्थशास्त्र सवैले पढेका छन् । कौटिल्यले सरकारी कर्मचारीले खाएको घुस र माछाले खाएको पानीलाई समान मानेका छन् । जसको अर्थ हो–त्यो कर्म बाहिरबाट देखिदैन । निजामती सेवामा पनि धेरैले अनुभव गरेको सत्य के हो भने यहाँ कि चिनेको कि किनेको मात्र पक्का हुन्छ । अब ठूलोका नाममा गरिने गल्ती ढाकछोप हुँदैन । अब पनि माछा कुद्दैमा समुद्रको छाल उठ्दैन भनेर मनपरी गर्ने हो भने त्यस्तालाई ठीक लगाउने भनेको समय हो । याद राखौं–बाटो काट्न जस्तो सजिलो माटो काट्न कहाँ हुन्छ र ?

प्रतिकृयाहरु
Loading...