मर्जरमा जाने लघुवित्तलाई यस्ता छन् सुविधा
काठमाडौं । ग्रामीण क्षेत्रमा वित्तीय सेवा दिइरहेको लघुवित्त संस्थालाई एकआपसमा गाभिनका लागि राष्ट्र बैंकले थप सुविधा दिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा आधार बनाएर एकीकृत निर्देशन जारी गर्दै वित्तीय स्थायित्व, आर्थिक अनुशासन तथा पारदर्शीताका लागि लघुवित्त संस्थालाई एकआपसमा गाभिनका लागि प्रेरित गर्न लागेको हो ।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका अनुसार ‘घ’ वर्गका लघुवित्त संस्थालाई एकापसमा गाभ्ने र गाभिने वा प्राप्ति हुने प्रक्रियालाई थप सहजीकरण गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने र गाभिनेसम्बन्धी विनियमावली, २०७३ मा तोकिएका सुविधाका अतिरिक्त थप सुविधा प्रदान गरिने भएको छ ।
मर्जरमा जाने लघुवित्तहरुलाई एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई सीमा भित्राउन समय थप गर्ने र तोकिएको पुँजी कोष अनुपात पुर्याउनुपर्ने समय थप गर्ने भएको छ । गाभ्ने र गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७८ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा तोकिएका सुविधाबाहेक थप सुविधा प्रदान हुने छन् ।