धरानमा समुदाय स्तरमै कोरोना संक्रमण भएको आशंका, सर्वदलीय बैठक बस्दै

सुनसरी । धरानमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै धरान उपमहानगरपालिकाले फेरि लकडाउन गर्न सक्ने बताइएको छ ।

धरान उपमहानगरपालिकामा हिजो बुधबार कोभिड–१९ रोकथाम नियन्त्रण र उपचार सम्बन्धी धरानका सुरक्षा प्रमुखहरु, इलाका प्रशासन कार्यालयका प्रमुख र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सहितको सुरक्षा बैठकले धरानमा उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।

बैठकले धरान प्रवेश गर्ने तीनकुने नाकामा मास्क वितरण गर्ने र अनिवार्य इन्ट्री गराउने, धरान बजार क्षेत्रमा सामाजिक दुरी कायम गराउने, सर्वसाधारणलाई अनिवार्य मास्क प्रयोग गर्न सुनसरी उद्योग वाणिज्य संघले प्रचार प्रसार गरी सचेतना फैलाउने पनि निर्णय गरेको छ ।

हिजो बसेको बैठकले गरेको निर्णयले मात्रै नपुग्ने भएपछि आज ११ बजे पुनः प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख सहितको सर्वदलीय बैठक बस्ने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिएका छन् ।
धरान उपमहानगरपालिकामा कोरोना संक्रमण समुदाय स्तर सम्म फैलिएको आशंका गरिएकोले फेरि धरान  उपमहानगरपालिका क्षेत्रमा लकडाउन समेत हुन सक्ने मेयर राईले बताए ।

धरान १३ मा ट्राभल हिस्ट्री नभएका एक व्यक्तिमा कोरोना संक्रमण भए सँगै धरानमा पनि समुदाय स्तरमै कोरोना संक्रमण भइसकेको हुनसक्ने भन्दै यस विषयमा सर्वदलीय बैठकले निर्णय गर्ने बताइएको छ । कोरोना संक्रमित बिरामीलाई अरू अस्पतालले समन्वय नै नगरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउन थालेपछि धरानमा झन् जोखिम बढेको हो ।

अहिलेसम्म धरानमै उपचारको क्रममा तीन जनाको मृत्यु भइसकेको छ । बीपी प्रतिष्ठानमा सप्तरीको राजविराज र महोत्तरीका २ जना पुरुषको मृत्यु भइसकेको छ । भने हिजो विराटनगरको कोसी कोभिड १९ अस्पतालबाट रेफर गरिएका बिरामीको समेत धरानमा नै मृत्यु भएको हो । प्रदेश १ मा पहिलो कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैबीच धरान उपमहानगरपालिका वडा नं १३ का एक व्यक्तिलाई करेन्ट लाग्दा गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार धरान १३ का करिब ५० बर्षीय जीवनद्विप सुब्बा करेन्ट लागेर घाइते भएका हुन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचार गराईए पनि हाल थप उपचारका लागि काठमाडौ रेफर गरिएको छ ।

घाइते सुब्बा चर्च अफ गडको प्रमुख पाष्टर हुन् । निर्माण कार्य भइरहेको ठाउँमा बाँसको खट बाधेको नरिवलको डोरी फुकाउने क्रममा हाइटेन्सको तार छोएर सुब्बालाई करेन्ट लागेको थियो ।

त्यस्तै मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका धरानका एक व्यक्ति पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान ११ ठाडो सोलिङका ३९ बर्षीय पुष्प परियारलाई पक्राउ गरि काठमाडौं पठाएको छ । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट परियार विरुद्ध पक्राउ अनुमति जारी भएको थियो ।
प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंको समन्वयमा परियारलाई हिजो पक्राउ गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *