प्रचण्डले सार्वजनिक गरे ‘गणतन्त्रको पहिलो दशक’
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘गणतन्त्रको पहिलो दशक’ नामक पुस्तक सार्वजनिक गरेका छन् ।
पुस्तक संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डले व्यक्त गरेका विचारहरुको सँगालो रहेको बिहीबार (आज) प्रचण्डको निजी सचिवालय प्रेस नोट जारी गर्दै जानकारी दिएको छ ।
त्यहाँ भनिएको छ, “संसदीय राजनीतिबाट सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता जस्ता मुद्दालाई संस्थागत गर्ने नयाँ संविधानको ‘कोरियोग्राफर’ को भूमिका खेल्दा भोग्नु परेका उथलपुथलकारी परिघटना व्यक्त भएको यो पुस्तक आफैँमा एउटा ऐतिहासिक दस्तावेज हो ।”
पुस्तकले २४० बर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधान अन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई प्रस्तुत पुस्तकले उजागर गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
‘सत्तामा रहँदा प्रतिपक्षलाई सँगै लिएर हिँड्न सक्ने, प्रतिपक्षमा रहँदा सत्ता पक्षसँग मिल्न सक्ने लचकदार र समय र परिस्थितिको तत्काल बोध गर्न सक्ने नेताको रुपमा खेलिएको भूमिका पुस्तकमा पाइन्छ ।’ त्यहाँ थपिएको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा ३८५ पृष्ठहरु रहेका जनाइएको छ । किताबको मूल्य भने ५०० रुपैयाँ रहेको प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।