जसले बनाए मदनबहादुर–हरिबहादुरको मूर्ति (भिडियोसहित)

काठमाडौं । धेरैका लागि रहरका थैलामा कोचाकोच गरी थाँती राखेका काम, योजना खोल्ने उपयुक्त समय बन्यो लकडाउन । भक्तपुर, कमलबिनायकका विकल प्रजापतिले पनि हृदयमा बडो जतनका साथ सजाएर राखिएका दुई पात्रको सुन्दर आकृति मूर्तिमा उतार्ने सपनाको पोको फुकाए ।

कामको व्यस्तताका कारण यसअघि मूर्तिका लागि समय निकाल्न सकेका थिएनन् उनले । डेढ वर्षअघि मात्रै ख्वप इन्जिनियरिङ कलेजबाट आर्किटेक्चर इन्जिनियरिङ पास गरेका उनको कर्म यतै कोरियो । पासआउट पछि प्यासनलाई साइड लगाएर कर्मलाई डोर्याउँदै फ्रिल्यान्सिङ हिसाबले काम सुरु गर्न थालेका थिए ।

लकडाउनका बेला काम बन्द जस्तै भयो । फुर्सदिलो बस्ने बानी थिएन । प्यासनलाई नै व्यवसायिक पाटो बनाउन प्रयासरत विकलले लकडाउन सुरु भएको हप्तादिन बित्न नपाउँदै मनको कुनामा सजाएर राखिएको दुई पात्र अर्थात् मदनबहादुर–हरिबहादुरको मूर्ति बनाउन सुरु गरे ।

स्केच कोरे । खेततिरबाट सिरामिक कालो–खैरो रङ्गको माटो खोजेर ल्याए । नचर्कने हिसाबले त्यसमा फेभिकोल, कपास, नेपाली कागज लगायत मिसाए । एउटा काठको स्ट्यान्ड बनाएर त्यहाँ उक्त मिश्रित माटो हालेर बेसिक आकार निकाले । त्यसपछि सुरु भयो वास्तविक आकार दिने काम अनि तयार भयो मूर्ति ।

दुई हप्तामै निर्माण भएको मूर्ति घाममा पुरा सुकेर फिनिसिङ्ग हुन भने २ महिना लाग्यो । निर्माण सम्पन्न भएपछि भिडियो खिचेर मह सञ्चारको इमेल ठेगानामा सन्देश पठाए–‘हजुरहरुसँग भेट्ने एकदमै इच्छा छ । सामाजिक दुरी कायम गरेरै भएपनि एकपटक भेट्न पाए आभारी हुने थिएँ ।’

उनलाई लागेको थियो–‘जवाफ पाउनेछु । उहाँहरु खुशी भएर भेट्ने समय दिनुहुनेछ । उहाँहरुलाई प्रत्यक्ष नियाल्ने अवसर पाउनेछु ।’ दुई दिन बित्यो । आएन जवाफ । ‘महकाे माेह’ मा चुर्लुम्म डुबेका विकलकाे पर्दा बाहिरबाट हरिबहादुर–मदनबहादुर नियाल्ने रहर अधुरै रह्यो । सायद जीवनमा पहिलो पटक उनको मन खिन्न भयो, कसैको जवाफ नपाउँदा ।

आफ्नो बाल्यकालदेखिका भावना, ती पात्रले दिएका हाँसो, खुशी, प्रेरणा सबैको सम्मिश्रणसहित बनाएको मूर्ति आफ्नै हातले हस्तान्तरण गर्ने आश पनि मर्यो । बाँकी रह्यो त केवल उद्दासीपन ।

तस्विरः मदनकृष्ण श्रेष्ठ

निराशै निराशाका बिच करिब तीन दिनपछि एक पत्रकारको फोन आयो–‘हामी मिडियाबाट हौँ । तपाईंको अन्तर्वार्ता लिन चाहन्छौँ ।’ उनले ‘हुन्छ, समय मिलाउँछु’ भनेर कुरो टुंग्याए त्यो दिन । साउन ९ गते भेट्ने पक्का भयो । घरैमा बोलाए उनले । दुई मूर्ति राखिएको कोठामा बसाले । अन्तर्वार्ता सुरु हुनै लागेको थियो ।

यसो पछाडि के फर्किएका थिए–मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य झुलुक्क झुल्किए !

मनमा अनेक शब्द हुँदाहुँदै पनि उनको बोली फुटेन । निःशब्द भए । ढुकढुकी बढ्यो, तेजले । कुनै सिमा थिएन खुशीको । ‘त्यो क्षण म शब्दमा व्यक्त गर्न सक्दिन । मेरो सपना साकार भएको थियो । मैले सोचेको पनि थिइनँ कि उहाँहरु मेरो घरमा आउनुहुनेछ’, विकलले भने, ‘आफूले मूर्ति बनाएको लेजेन्ड व्यक्तित्व आफू अगाडी उभिँदा निकै खुशी भएको थिएँ ।’

यस्तो मूर्ति बनाउन करिब २० देखि ३० हजारसम्म लाग्ने उनी बताउँछन् । मूर्तिका लागि उनको फेसबुक, भीआर्टको फेसबुक पेजमा सम्पर्क गर्न सकिने उनको भनाइ छ । होम डेलिभरी पनि गरिने उनले बताए ।

०००        ०००        ०००

खाना खाँदा होस् या साथीभाइसँगको जमघटको समय होस्, जुनसुकै बेला ‘मदनबहादुर हरिबहादुर’ टेलिश्रृंखला बज्थ्यो उनको घर-छिमेकमा । उनैको टेलिश्रृंखला हेरेर कट्थे रात । मदन–हरी हाँस्दा सबै हाँस्थे, रुँदा सबैको आँखा रसाउँथ्यो ।

अहिलेका युवापुस्तासँगै विकल पनि उनैका टेलिश्रृंखला हेरेर हुर्किए । केही न केही सन्देश मिलेकै हुन्थ्यो । अन्याय अत्याचारविरुद्ध बोल्ने बोली फुट्थ्यो । सहयोगी, मायालु व्यवहारका चरित्रबाट त्यही पाठ सिक्थे ।

मदन–हरिको हास्यव्यंग्य सुन्दै, बुझ्दै हुर्किएका कारण पनि विकलको मनमा उनीहरुको गाढा छाप छ । ‘उहाँहरु जिवित तारा हुनुहुन्छ । उहाँहरुबाट धेरैले धेरै किसिमको प्रेरणा, हौसला पाउनुभएको छ । उहाँहरुलाई पनि हौसला दिउँ भनेर मैले मूर्ति बनाएको हुँ’, खुशी सुनिए विकल ।

आफू दुःखी भएर पनि अरुलाई खुशी राख्ने, हँसाउने खुबी विकलले सिकेका छन् मदन–हरिबाट । स्वदेशमै बसेर देशका लागि केही गर्नुपर्छ भन्ने प्रेरणा पनि पाएका छन् । ‘प्रत्यक्ष–अप्रत्यक्ष रुपमा देश विकासमा उहाँहरुको प्रभाव छ, कलाकारितामा त उहाँहरु नक्षत्र नै हो । युवापुस्ताले उहाँहरुबाट सिक्नुपर्ने कुरा धेरै छ’, उनले भने ।

०००        ०००        ०००

बिकलका आमाबुवा सिर्जनशील स्वभावका छन् । परिवारको पेसा कुमाले थियो । माटोका विभिन्न भाँडाकुडा लगायतका सामग्री बनाउँथे, बेच्थे । आमाबुवाको सिर्जनशीलता, मेहनतीपनबाट प्रभावित भएका विकल पनि माटोलाई विभिन्न आकार दिने प्रयास गर्थे ।

उनले माटोलाई दिएको पहिलो आकृति एक देवीको मुकुट थियो । जुन नेवारी पर्वमा प्रयोग गरिन्छ । विस्तारै उनलाई आर्टले लोभ्याउन थाल्यो । स्केचेज, पेन्टिङहरु गर्न थाले । निरन्तरको प्रयासपछि उनको शैली निखारिँदै गयो ।

अहिले उनको परिवारले कुमालेको व्यवसाय छोडेको १०–१५ वर्ष भइसकेको छ । परिवारले भाँडाकुँडा बनाउने पेसा अंगालेको भएपनि मूर्ति भने कसैले बनाएका थिएनन् । विकल भने सबै प्रकारका आर्ट बनाउनमा पोख्त छन् ।

०००        ०००        ०००

विकलले करिब ४ वर्षअघि पनि मदनकृष्ण र हरिवंशको ग्लु डस्ट स्पीड पेन्टिङ गरेका थिए । त्यतिबेला मदन र हरीले आ–आफ्नो फेसबुकमा सेयर पनि गरेका थिए । त्यतिबेला पनि उनको चर्चा चुलिएकाे थियो । तर भेट्ने इच्छा भएपनि भेटका लागि प्रस्ताव भने राखेका थिएनन् ।

संयोगवस् त्यही दिन भेट जुर्यो, जुन दिन मदन र हरिले उक्त पेन्टिङ सेयर गरेका थिए सामाजिक सञ्जाल फेसबुकमा । भेटमा मह जोडीले विदेशको उदाहरण दिँदै नेपालमा पनि दिग्गज व्यक्तित्वहरुको मुर्ति बनाएर संग्रहालय बनाउन सकिने लगायतका विषयमा सुझाव र हौसला दिएको पनि उनले बताए ।

हाँस्य कलाकार मदनकृष्ण–हरिवंश पनि आफ्नो मूर्ति देखेपछि खुशी भएको विकल बताउँछन् । ‘उहाँहरु पनि निकै खुशी देखिनुहुन्थ्यो मूर्ति नियालेपछि’, उनले भने ।

भेटपछि कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि आफ्नो मूर्तिको तस्विर सामाजिक सञ्जालमा सेयर गर्दै बिकललाई धन्यवाद दिएका छन् । मूर्ति हेरेर आफूहरु जिल्ल परेको उनीहरुले बताएका छन् ।

मदन र हरिले लेखेका छन्–‘बिकल प्रजापतीलाई भेट्न घरैमा पुगेर कोठा भित्र गएर हेर्दा एक छिन त हामी जिल्लै पर्यौं । त्यो टाउको यती दुरुस्त र सक्कली देखिन्थो कि आफ्नो अनुहार बरु कता के नमिलेको नक्कली नक्कली जस्तो लागिरह्यो । उहाँजस्तो कुशल र सिद्धहस्त मूर्तिकारलाई हार्दिक धन्यवाद र बधाई दिन चाहन्छु ।’

परिवारबाट पनि उनले राम्रो प्रतिक्रिया पाएका छन् । ‘भक्तपुरको पनि बेग्लै पहिचान छ, यहाँका आर्टिष्ट पनि कोही भन्दा कम छैनन् भन्ने सन्देश गएको छ’ भन्छन् साथीभाइ । उनलाई भने आफूले खासै केही गरेजस्तो लाग्दैन–‘मैले अझ धेरै गर्न बाँकी छ । केही गर्नुपर्छ देशका लागि । यो त सुरुवात मात्रै हो ।’

आर्ट र आर्किटेक्चर सँगसँगै अघि बढाइरहेका विकलको प्राथमिकता भने आर्टमै छ । आर्टमा भविष्य पनि राम्रै देखेका छन् उनले । सरकारले कलाको सम्मान गरे यो क्षेत्रको भविष्य अझै राम्रो हुने उनको तर्क छ ।

‘गर्न सक्यो भने जतापनि भविष्य छ । मेरो रुची आर्टमा छ, म भविष्यमा यसैलाई निरन्तरता दिनेछु । लिएर जाने केही होइन, दिएर जाने हो । त्यसैले आर्टबाटै देशका लागि केही गर्नेछु । सबैबाट साथ र सहयोगको अपेक्षा छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *