वीरगञ्ज महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण

काठमाडौं । कोरोनाको हट स्पट बन्दै गएको वीरगञ्जका मेयरलाई समेत कोरोना संक्रमण भएको छ । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा कोरोना संक्रमण भएको देखिएको हो ।

मेयर सरावगीले पनि स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएका छन् । मेयर सरावगीले फेसवुकमार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

‘वीरगञ्जलाई ग्रिन जोन बनाउने उद्देश्यका साथ एकघर एक परीक्षणको अभियान सञ्चालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ । तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु ।’ मेयरले भनेका छन् ।

उनले आफु कोरोनाको उपचारार्थ रहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । ‘मैले छिट्टै नै कोरोनालाई जित्ने छु ।’ मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए ।

मेयर सरावगीले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गर्नुको साथै क्वारेन्टिन, आइसोलेसन र कोभिड अस्पतालमा रहेका संक्रमितसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र बस्ने व्यवस्था समेत मिलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *